गृहपृष्ठ जुम्ली भेडा सुर्खेतमा, अर्गानिकको लहर !
जुम्ली भेडा सुर्खेतमा, अर्गानिकको लहर !
मूल्य बढ्यो, थपिए व्यापारी
जुम्ला तातोपानी–७ ताम्तीका मनबहादुर रावत विगत सात–आठ वर्षदेखि दसैंको अवसर पारेर जुम्ली भेडा बेच्न सुर्खेत झर्छन् ।
हरेक वर्ष मनबहादुरले ल्याएका भेडा सजिलैसँग बिक्री भयो । विगतका वर्षमा दसैं खर्च जोहो गर्न उनलाई खासै समस्या परेन । तर, यसपाली भने उनलाई भेडा कटाउनै मुस्किल पर्यो । १ सय ७० वटा भेडा जुम्लादेखि सुर्खेत झारेका मनबहादुरलाई भेडा बेच्दा धौ–धौ पर्यो । उनी भन्छन् ‘बजारमा भेडाको माग कम छैन तर भेडा नै बढि ल्याउने गरेकोले बेच्नै मुस्किल पर्यो ।’
विगतका वर्षमा भन्दा यसपाली भेडाको मासुको मूल्य बढेको छ । मूल्य बढेसँगै अन्य व्यापारी पनि भेडा बेच्न हौसिएका थिए । धैरै जना व्यापारीको भेडा बजारमा आएसँगै बिक्री गर्न धौ परेको मनबहादुरको अड्कल छ । मनबहादुरसँगै भेडाको व्यापार गर्न धनबहादुर रावत पनि जुम्लादेखि झरेका छन् । केही दसैं खर्च जोहो गर्ने र केटाकेटीलाई लुगाफाटो बोकी जुम्ला फर्किने योजनामा रहेका उनी भन्छन् ‘दशैको बेलामा खसी भन्दा भेडा नै बढि बिक्री हुन्छ, तर पहिले जस्तै यसपाली भने हामिलाई सजिलो भएन ।’
जुम्ला लगायत हिमाली जिल्लाबाट भेडा र च्याङ्ग्रा ल्याएर कर्णलीको राजधानी सुर्खेतमा बिक्री गर्ने व्यापारीको संख्या बढेको छ । सबैको योजना नै केही पैसा जोरजाम गर्ने र दसैं मान्ने नै हो ।
दसैंमा चिसो पलाइसकेको हुन्छ । यसपाली त झनै कात्तिकमा दसैं छ । चिसो मौसममा भेडाको मासु खाए तातो पनि हुने मनबहादुर बताउछन् । हिमाली क्षेत्रमा विभिन्न जडीबुटी आएर हुर्केको भेडाको मासुले विभिन्न रोग निको हुने समेत विश्वास राखेको स्थानीय रमेश खड्काको भनाइ छ । दसैंमा खसी जताततै पाइन्छ । तर फरक स्वाद खोज्नेका लागि भेडा उपयुक्त हो ।
स्थानीय रमेश भन्छन् ‘अरुबेलामा भेडा पाईदैन, खसी मात्रै कति खानु, दसैंमा जुम्ली भेडा खानुको स्वाद नै बेग्लै ।‘ उनी थप्छन् ‘स्वास्थका हिसाबले समेत भेडाको मासु राम्रो हुन्छ ।’
पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत अर्गानिक बस्तुको उपयोग गर्ने लहर चलेको छ । खानामा जुम्ली मार्सी धानको चामल, अर्गानिक जुम्ली स्याउ, टिमुर, फापर, कोदो र खसीको साटो भेडा ।
प्रकाशित समय १०:५७ बजे



















