गृहपृष्ठ यसरी रोकियो अर्जेन्टिना बराबरीमा
यसरी रोकियो अर्जेन्टिना बराबरीमा
चुके मेस्सी
२१ औँ वर्ष विश्वकपमा ग्रप डीमा हाबी हुँदै आएको अर्जेन्टिनालाई विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डले पहिलो भेटमै झट्का दिएको छ । अझ यो झट्का अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई बढी लागेको छ । मेसीको महाचुकका कारण आइसल्याण्ड संसारको श्रेष्ठ टोलीलाई बराबरीमा रोक्न सफल रह्यो ।
म्याचमा धेरै असाधारण प्रदर्शन गरेको आइसल्याण्डका गोलकीपर हानेस हालडारसन म्यान फ दि म्याच चुनिए । अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनटमा सर्जियो अगुइरोले शानदार मैदानी गोल गरेर अग्रता दिलाएका थिए । तर, चार मिनेटलगत्तै फिनबागसनले बराबरी गोल फर्काए । अर्जेन्टिनाले दोस्रो हाफमा पेनाल्टीमार्फत अग्रता लिने ठूलो मौका पायो । तर, सुपरस्टार मेस्सी यो मौकाको सदुपयोग गर्न चुके ।
आइसल्याण्डसँगको खेलमा मेस्सीभन्दा राम्रो अगुइरोले खेले । पहिलो हाफमा पनि अगुइरोले गोल गर्ने केही सुन्दर मौका पाएका थिए । तर, उनलाई अरु खेलाडीको एसिस्ट पर्याप्त थिएन । आइसल्याण्डका खेलाडीबाट घेरिएका मेस्सीले गोल गर्ने केही मौका नपाएका पनि होइनन् । तर, उनले प्रहार गरेको बल गोलपोष्टको दायाँ, बाँया र माथिबाट गयो ।
दोस्रो हाफमा पनि आइसल्याण्डका खेलाडीले मेस्सीलाई घेर्न छाडेनन् । अर्जेन्टिनाका लागि खेलको ६४ औँ मिनेटमा एक सुनौलो मौका नआएको पनि होइन । आइसल्याण्डका खेलाडीको जरुरतभन्दा बढी चलाखी टोलीको लागि भारी परेको थियो । रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिए । तर, मेस्सीले बायाँ च्यापेर हानेको बल आइसल्याण्डका कीपर हानेस हालडारसानले असफल पारिदिए । यहीँबाट मेस्सीले आफ्ना समर्थकलाई निराश पारिदिए ।
यसपछि पनि अर्जेन्टिनाका खेलाडीले आधा घण्टाभित्र आइसल्याण्डको गोलपोष्टभित्र प्रहार गर्ने कोशिस गरे । तर, हरेक पटक गोल पोष्टको दायाँ र बायाँबाटै कट्यो ।
बराबरीपछि दुबै टोलीले १–१ अंक बाँडेका छन् । ग्रुप डीमा क्रोयशिया र नाइजेरिया पनि छन् । अब अर्जेन्टिनाले बिहीबार क्रोशियासँग आफ्नो दोस्रो खेल खेल्ने छ ।
प्रकाशित समय ०८:२३ बजे

















