गृहपृष्ठ मेस्सीलाई गल्ती सच्याउने अवसर, जित्ने सम्भावना ४६ प्रतिशत !
मेस्सीलाई गल्ती सच्याउने अवसर, जित्ने सम्भावना ४६ प्रतिशत !
युरोपेली मुलुक क्रोएशियाविरुद्ध दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना आज निच्नी नोभगोरोद स्टेडियममा उत्रदा धेरैको नजर अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीमाथि नै हुनेछ । नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा समूह ‘डी’अन्तर्गतका दुबै टोली जितको लक्ष्यसहित मैदान छिर्नेछन् ।
हुन त खेलमा जित पूरा टिमकै लागि महत्वपूर्ण हुन्छ । तर, अर्जेन्टिनी मेस्सीलाई व्यक्तिगत रुपमा पनि यो प्रतिस्पर्धा प्रतिष्ठाको लडाईं हुनेछ । किनकी, क्लबलाई फुटबलका सबै उपाधि चुमाएका मेस्सीले देशलाई अन्तर्राष्ट्रिय उपाधि दिलाउन सकेका छैनन् । मेस्सीले चौथो पटक विश्वकप खेलिरहेका छन् । उनी सन् २००६ यताको विश्वकपमा खेल्दै आएका छन् ।
सन् २००६ र २०१० मा क्वाटरफाइनलमा पुगेको टिम चार वर्षअघिको विश्वकपमा भने फाइनलमा जर्मनीसँग हारेको थियो । उपविजेतामा सीमित भएपनि व्यक्तिगत रुपमा मेस्सीले प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितेका थिए । क्लब फुटबलको प्रतिस्पर्धामा उनले ३२ वटा उपाधि जितेका छन् भने पाँच पटक बालोन डी’आर हात पारेका छन् । तर, एक पटक पनि विश्वकपको उपाधि उचाल्न पाएका छैनन् ।
यसपटक त समूह चरणको आफ्नो पहिलो खेलमा नै नवप्रवेशी आइसल्याण्डसँग बराबरीमा रोकिनु र पेनाल्टी मिस हुनुले मेस्सीका लागि ठूलो चुनौती थपिदिएको छ । अर्कोतिर क्लब फुटबलका कुनै पनि उपाधिका प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रदर्शन राम्रो छ । उनले दुई खेलमा ४ गोल गरेर आफ्नो टोलीलाई दोस्रो चरणको ढोकानजिक पुर्याएका छन् । यो पनि कुनै न कुनै रुपमा मेस्सीका लागि चुनौतीको विषय हुने खेल विश्लेषकहरु बताउँछन् ।
क्रोएशियाविरुद्धको खेल मेस्सीका लागि अवसर र चुनौती दुबै हुन सक्ने विश्लेषण गरिएको छ । क्रोएशिया पनि त्यति कमजोर टिम होइन । आफ्नो पहिलो खेलमा नाईजेरियालाई २—० ले पाखा लगाएको टोली हो, क्रोएशिया । त्यतिमात्रै होइन, क्रोएशियाका उत्कृष्ट मिडफिल्डर इभान राकिटिक पनि मेस्सीका चुनौती नै हुन् । किनकि, उनी बार्सिलोनामा मेस्सीका टिम मेट हुन् । मेस्सीका कमजोरी र खेल ‘ट्रिक’बारे इभान राम्रैसँग जानकार छन् ।
यस्तै इंग्लिस क्लब लिभरपुलका डोजान लोभ्रेन पनि मेस्सीको टिमविरुद्ध मैदानमा हुनेछन् । यीबाहेक क्रोएशियासँग सुकासिक, भर्साल्ज्को, लोभ्रेन, भिडा, स्ट्रिनिक, मोड्रिक, रेबिक, क्रामारिक, पेरिसिक र मान्डुच्किक हुनेछन् ।
क्यालिफायरतिर फर्किने हो भने पनि फिफा वरियतामा २० औँ स्थानमा रहेको क्रोएशियालाई कमजोर मान्न सकिँदैन । क्रोएशियाले क्वालिफायरमा खेलेका १० खेलमध्ये ६ मा जित निकालेको थियो । यो वर्ष उसले ३ मैत्रीपूर्ण खेल खेलेकोमा १ मा जित र १ मा हार बेहोरेको थियो । फिफा वरियतामा ५ औँ स्थानमा रहेको अर्जेन्टिनाले क्वालिफायरमा ७ खेल जित्यो । स्मरणीय छ, क्वालिफायरको अन्तिम खेलमा उनै मेस्सी हुन्, जसको ह्याट्रिककै कारण यसपटक अर्जेन्टिना विश्वकपमा खेलिरहेको छ । त्यसयता ५ मैत्रीपूर्ण खेलमा ३ मा जित, १ मा बराबरी र १ मा अर्जेन्टिनाले हारेको थियो ।
मेस्सीलाई बलियो साथ
टोलीलाई रुसी मैदानमा ल्याउन महत्वपूर्ण योगदान दिएका मेस्सीलाई साथ दिन अन्य प्रख्यात खेलाडी पनि हुनेछन् । क्रोएशियालाई हराउन मेस्सीलाई पाउलो डिबाला, गाेन्जालो हिगुइन, सर्जियो अगुइरो, एन्जेल डि मारिया, एन्जो पेरेज, इवेर बनेगा, म्याक्सिमिलियानो मिजाको साथ महत्वपूर्ण हुनेछ । यीबाहेक अर्जेन्टिनी टोलीमा क्रिस्चियन पाभोन, मार्कोस रोजो, लुकार बिग्लिया, निकोलास ओटामेन्डी, जियोभानी लो चेल्सो, क्रिस्चियन अन्साल्दी, फेडेरिको फाजिओजस्ता खेलाडीको साथ पनि मिल्नेछ ।
अर्जेन्टिनाको कमजोर र सबल पक्ष
अर्जेन्टिनाका मिडफिल्डर उत्कृष्ट छन् । तर, डिफेन्स कमजोर छ । यो उसका लागि चुनौतीको विषय बन्दै आएको छ । क्रोएशियाको डिफेन्स अर्जेन्टिनाको तुलनामा केही बलियो छ । तर, मेस्सीलाई रोक्नु उसका लागि चुनौतीपूर्ण रहेको क्रोएशियाका प्रशिक्षकले नै बताएका छन् । किनकी, अर्जेन्टिनाका फर्वाडहरु मेस्सीसँग राम्रो ट्याकल भएका छन् र उनीबीचको कुनै पनि पासले गोललाई जाली चुमाउन सक्छ ।
क्रोएशियाको कमजोर सबल पक्ष
यसपटक क्रोएशिया फर्ममा छ । क्वालिफाएरमा सामान्य प्रदर्शन गरेका टोली विश्वकपको समूह चरणमा चम्किएरहेका छन् । तर, अन्य केही टोलीको तुलनामा क्रोएशिया क्वालिफाएर राउण्डमा राम्रो खेलेको टोली हो । यद्यपि, क्रोएशियालाई फर्वाडको खासै समस्या नपरेपनि डिफेन्समा भने ठूलै दबाब पर्न सक्छ । फर्वाड इभान राकिटिकलाई गतिलो साथ मिलेन भने अर्जेन्टिनाले क्रोएशियालाई भारी अन्तरले हराउन सक्छ । किनकी, अर्जेन्टिनी फर्वाड कमजोर डिफेन्सको फाइदा लिन चुक्ने गरेका छैनन् । त्यसैले ती खेलाडी ‘फेमस’ कहलिएका छन् ।
विश्लेषण र अनुमान
फिफा डट कम, द टेलिग्राफ र द गार्डियन लगायतका वेवसाइहरुले यी दुई टोलीबीचको खेलमा अर्जेन्टिनाले जित्ने सम्भावना ४६ प्रतिशत रहेको देखाएका छन् । विश्वकप रेकर्ड, एक वर्षको प्रदर्शन र फिफा वरियताका आधारमा गरिएको विश्लेषणमा बराबरीको सम्भावना २९ प्रतिशत देखाइएको छ भने क्रोएशियाले जित्ने सम्भावना २५ प्रतिशत देखाइएको छ ।

प्रकाशित समय ०८:४५ बजे

















