गृहपृष्ठ स्पेनका इनिएस्टाद्वारा सन्यासको घोषणा
स्पेनका इनिएस्टाद्वारा सन्यासको घोषणा
स्पेनका आन्द्रेस इनिएस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । रुसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा रुससँग पराजित हुँदै बाहिरिएपछि ३४ वर्षका इनिएस्टाले सन्यासको घोषणा गरेका हुन् ।
आइतबार राति भएको खेलको पेनाल्टी सुटआउटमा स्पेन रुससँग पराजित भएको हो । निर्धारित समय १–१ को बराबरीमै सकियो । त्यसपछिको अतिरिक्त समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउट भएको थियो । रुसमाथि ठूलै दबाब राखेपनि स्पेन पराजित हुन पुग्यो ।
सन् २०१० मा विश्वकपमा स्पेनलाई उपाधि दिलाउने क्रममा विजयी गोल गरेका इनिएस्टाले रुससँगको हारसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । इनिएस्टाले रुससँगको खेलमा भएको पेनाल्टी सुटआउटमा स्पेनबाट १३१ औँ गोल गरे । इनिएस्टाले भने, ‘राष्ट्रिय टिमबाट मेरो यो अन्तिम खेल हो र यहि सत्य हो ।’
सन् २००६ मा डेब्यु गरेको इनिएस्टाको स्पेनलाई सन् २००८ र २०१२ मा युरोकपको उपाधि दिलाउँदा पनि निकै ठूलो योगदान छ । उनी १२ वर्ष स्पेनको टिममा रहे । ‘यो अन्त्य चाहेको जस्तो त भएन’, बार्सिलोनाका पूर्व खेलाडी इनिएस्टाले भने, ‘यो मेरो करिअरको अति नै निराश दिन बन्यो ।’
इनिएस्टाले बार्सिलोनासँगको आफ्नो २२ वर्ष लामो यात्रा गएको मे मा अन्त्य गरेका थिए । उनी अहिले जापानको शीर्ष लिग क्लब भिसेल कोबेबाट खेल्छन् ।
प्रकाशित समय ०७:०६ बजे

















