गृहपृष्ठ मनमोहन स्मृति पोलिटेक्निक अब प्राविधिक विश्वविद्यालय

मनमोहन स्मृति पोलिटेक्निक अब प्राविधिक विश्वविद्यालय

मनमोहन-newskarobar

प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बूढीगंगा–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युट अब प्राविधिक विश्वविद्यालय बन्ने भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदै आएको सो इन्स्टिच्युटलाई १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय घोषणा गरेसँगै प्रदेशवासी हर्षित बनेका छन् ।

स्थानीय सुदर्शन ढकालले विश्वविद्यालय भएपछि प्राविधिक विषय अध्ययनका लागि चर्को मूल्य तिरेर निजी प्राविधिक शिक्षालय तथा प्रदेशबाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनु प्रदेशबासीका लागि खुसीको विषय भएको बताए । ‘औपचारिक सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक शिक्षा जरुरी छ । प्राविधिक शिक्षा आर्जन गर्नेले सजिलै रोजगारी पाउने भएकाले विश्वविद्यालय बन्दा अन्य थुप्रै प्राविधिक विषय थप हुन्छन्, यो हाम्रा लागि गौरवको विषय हो,’ उनले भने ।

बूढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले पनि बूढीगंगाभित्रै रहेको मनमोहन पोलिटेक्निक विश्वविद्यालय बन्नु गर्वको कुरा भएको बताए । ‘विश्वविद्यालय बन्दा बूढीगंगाबासीका लागि रोजगारीका अवसर पनि सिर्जना हुन्छन्,’ उनले भने, ‘स्थानीय आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, पिछडा वर्ग एवं लक्षित समुदायका विद्यार्थीले उच्च प्राविधिक शिक्षा अध्ययन गर्न सहजै पाउने र स्वरोजगारको अवस्थासमेत सिर्जना हुने भएकाले हामीमा हर्षको सीमा छैन ।’

manamohan-newskarobar

मनमोहन पोलिटेक्निक विश्वविद्यालय हुने भएपछि प्रदेश १ का उद्योगी–व्यवसायी पनि दंग छन् । विश्वविद्यालयबाट दक्ष प्राविधिक जनशक्ति उत्पादन हुने र उद्योग व्यवसाय क्षेत्रमा कामदार अभावको समस्या न्यूनीकरण हुने उनीहरुको अपेक्षा छ ।

उद्योग संगठन मोरङका अध्यक्ष एवं नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष मुकेश उपाध्यायले हाल उद्योग व्यवसायका क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति अभाव रहेको बताए । ‘सधैं भारतबाट कामदार आयात गर्नुपर्ने अवस्थाले उद्योगी आजित छौं,’ उनले भने, ‘मनमोहन पोलिटेक्निकलाई विश्वविद्यालय बनाउन हामीले नै प्रदेश सरकारसमक्ष प्रस्ताव राखेका थियौं ।’ प्रदेशमा एकातिर बेरोजगारी समस्या हल हुने र अर्कातिर उद्योग तथा कलकारखानाले दक्ष कामदार नपाउने अवस्थाको अन्त्य हुनु सुखद पक्ष भएको उद्योगी उपाध्यायले बताए ।

प्रदेश सरकारले मनमोहन इन्स्टिच्युटलाई विश्वविद्यालयका रुपमा विकास गर्न आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममै समेटेको छ । त्यसका लागि आगामी आवको बजेटमा करिब २ करोड ५० लाख रुपैयाँ विनियोजन पनि गरिसकेको छ ।

करिब २१ बिघा क्षेत्रफलमा फैलिएको मनमोहन स्मृति पोलिटेक्निकमा हाल सिभिल इन्जिनियरिङ, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्सका साथै भोकेसनल ट्रेनिङलगायतका प्राविधिक विषयको अध्यापन हुँदै आएको छ ।

यस्तो छ मनमोहन पोलिटेक्निकको इतिहास
मनमोहन पोलिटेक्निक स्थापनाका लागि २०५६ सालमा तत्कालीन उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अध्यक्षतामा मनमोहन स्मृति प्रतिष्ठान दर्ता भएको थियो । २०६० सालमा अधिकारीकै अध्यक्षतामा मनमोहन स्मृति पोलिटेक्निक दर्ता भयो । सोही वर्षको असारमा नेपाल तथा भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भई २०६१ सालमा ६ बिघा ७ कठ्ठा क्षेत्रमा पूर्वाधार निर्माणको काम सुरु भयो । पोलिटेक्निकको शिलान्यास तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीले गरेका थिए । हाल पोलिटेक्निकले २१ बिघा २ कठ्ठा १० धुर ओगटेको छ ।

पोलिटेक्निकका लागि पूर्वाधार निर्माण, फर्निचर र सम्पूर्ण उपकरण भारतले नै सहयोग गरेको मनमोहन स्मृति प्रतिष्ठानका सदस्य एवं सूचना तथा सञ्चार प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए ।

कहिलेदेखि सञ्चालनमा ?
पोलिटेक्निकको पूर्वाधार निर्माणकार्य २०६५ सालमा सम्पन्न भएको हो । त्यसबेला प्रशासकीय भवन, चारवटा विभागीय भवन, दुईवटा वर्कसप तथ तालिम भवन, अडिटोरियम हल, क्यान्टिन, पुस्तकालय तथा कम्प्युटर भवन, प्रिन्सिपल क्वार्टर, गेस्ट हाउसका साथै ५३ परिवारको बसोबासका लागि नौवटा स्टाफ क्वार्टर, छात्र तथा छात्राबास र उपचार केन्द्र गरी २५ वटा भवन भारतले निर्माण गरी हस्तान्तरण गरेको थियो । पूर्वाधार निर्माण तथा उपकरणमा भारतले करिब ४२ करोड रुपैयाँ खर्च गरेको थियो ।

manamohan-newskarobar

२०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन भारतीय राजदूत राकेश सुदले उद्घाटन गरेको पोलिटेक्निकमा सोही वर्ष मंसिरदेखि डिप्लोमा इन मेकानिकल, इलेक्ट्रिकल र इलोक्ट्रोनिक विषयमा ४८/४८ जना गरी एक सय ४४ जनाबाट पहिलो वर्षको अध्यापन सुरु भएको थियो । २०६८ सालदेखि डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम थप गरिएको पोलिटेक्निकले जनाएको छ । कक्षा सञ्चालनका लागि भारत सरकारले २०७१ सालसम्म १२ करोड रुपैयाँ खर्च गरी नौजना विज्ञसमेत पोलिटेक्निकलाई उपलब्ध गराएको थियो ।

कलेजले स्थापनाकालदेखि हाल सातौँ ब्याचसम्म आइपुग्दा एक हजार ४९ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी प्राविधिक जनशक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारमा रोजगारी पाएका छन् ।

कलेजले संस्था सुधार योजनाअन्तर्गत व्यावसायिक शिक्षा तालिम अभिवृद्धि (इभेन्ट) सँग उपकरण खरिद, स–साना निर्माण व्यवस्थापन तथा शैक्षिक सुधार सम्झौता गरेको छ । हाल कलेजले ४ करोड रुपैयाँ लागतमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ भवनसमेत निर्माण सम्पन्न गरेको छ, जसको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरिसकेका छन् ।

manamohan-newskarobar (8)

कलेजले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी)सँग सम्झौता गरी २०७२ सालमा भूकम्पपीडित परिवारका ४० विद्यार्थीलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्यापन गराएको छ । त्यस्तै दलित समुदायका २४ विद्यार्थीलाई पनि अध्यापन गराएको छ । २०७३ सालमा कलेजले भूकम्पप्रतिरोधी घर निर्माणसम्बन्धी तालिम सय जनालाई प्रदान गरेको थियो ।

मनमोहन पोलिटेक्निकलाई २०७३ भदौ २२ गते शिक्षा मन्त्रालयले ३७औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदअन्तर्गत आंगिक तथा निजी शिक्षालयमध्ये प्रदेश १ कै उत्कृष्ट प्राविधिक शिक्षालय घोषणा गर्दै नगद पुरस्कारसहित सम्मान गरेको प्राचार्य डा. सुभाषश्री पोखरेलले जानकारी दिए । पोलिटेक्निकलाई हाल भारत, जापान र स्विस सरकारको समेत सहयोग छ ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु