गृहपृष्ठ जाने हाे र्याफ्टिङ ? राजधानीवासीका लागि उत्तम भोटेकोशी
जाने हाे र्याफ्टिङ ? राजधानीवासीका लागि उत्तम भोटेकोशी
यसरी वनाउन सकिन्छ सेड्युल

एक दशक अघिसम्म र्याफ्टिङ भन्ने वित्तिकै विदेशी पर्यटकले गर्ने साहसिक जलयात्राको रुपमा लिइन्थ्यो । तर अहिले जलयात्रा नेपाली पर्यटकको सवैभन्दा रुचाइएको तथा सहज मनोरञ्जनको साधन बनेको छ । नेपालमा भोटेकोशी, त्रीशुली, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, मस्र्याङदी जस्ता नदीहरु र्याफ्टिङका लागि प्रसिद्ध छन् ।
यी मध्य पनि र्याफ्टिङका लागि विश्वप्रसिद्ध नदी हो भोटेकोशी । विश्वको उत्कृष्ट सात सहासिक जययात्रामा पर्न सफल भोटेकोशी काठमाडौंबाट पूर्वतर्फ ७० किलोमिटरको दुरीमा रहेको सुकुटे क्षेत्रमा पुगेपछि भेटीन्छ । यहाँ पछिल्लो समय र्याफ्टिङका लागि नेपाली पर्यटकको लस्कर लाग्ने गर्दछ । राजधानीबाट र्याफ्टिङका लागि जाने जो कोहीका लागि भोटेकोशी सर्वोत्तम गन्तब्य बनेको छ ।
यात्राका क्रममा प्रकृतिका मनोरम छटाहरु हेर्दै र स्वर्गीय आनन्द उठाउँदै मनका तनावहरु विर्साउने उत्तम विकल्प हुनसक्छ भोटेकोशीको र्याफ्टिङ । मनमोहक हरियाली पहाडी शृङ्खलाले कसको मन लोभ्याउँदैन र ? यी पहाडी शृङ्खलालाई छिचोलेर भोटेकोशी पुग्दा जो कोही आफुलाई आनन्दित महषु्स गर्छन् ।
यसरी बनाउ सकिन्छ तालिका
- शुक्रबार साँझ स्कुल कलेज वा कार्यलयबाट फर्किसकेपछि साँझपख सुटुके तर्फ लाग्ने ।
- कालोपत्रेयुक्त अरनिको राजमार्गको ७० किलोमिटरको दुरी करिब २ घण्टामा पार गर्न सकिन्छ ।
- साँझ ७ बजेसम्म सुकुटे क्षेत्र पुगेपछि रिसोर्टमा बस्ने ।
- भोटेकोशीको शीतल पवनसंगै आनन्द लिने
- भोलीपल्ट विहान ब्रेकफास्ट लिएपछि र्याफ्टिङका लागि तयार हुने ।
- करिब ५ किलोमिटर नदीको दुरीलाई झण्डै २ घण्टा लगाएर जलयात्रा गर्ने । जहाँ जलयात्रीले स्वर्गी आनन्दानुभूति गर्दछन् ।
- त्यसपछि खाना खाने ।
- यति गर्दा करिव १२ बज्छ । र पुनः राजधानी फर्कने । राजधानी आइपुग्दा करिव ३ बज्छ । त्यसपछि र्याफ्टिङको थकान मेट्न आराम गर्ने ।
राजधानीबाट धुलीखेल–दोलालघाट हुदै सुकुटे क्षेत्र पुग्न सकिन्छ । विशेषगरी र्याफ्टिङका लागि शुक्रबार र शनिबार यस क्षेत्रमा भिड लाग्ने गर्दछ । शुक्रबारमो साँझलाई सुखद शुक्रबार (गुड फ्राइडे) बनाउने र शनिबार रयाफ्टीङ गरेर अपरान्ह राजधानी फर्कने समूहको अहिले यस क्षेत्रमा वृद्धी भइरहेको छ ।
यसरी शुक्रबार साँझ ५ बजेदेखि शनिबार दिउसो ३ बजेसम्मको प्याकेज पूरा गर्न सकिन्छ । यस्तो प्याकेजको १५ सय रुपैयाँ देखि ३ हजार रुपैयाँसम्ममा पर्दछ ।
पर्यटकका लागि यहाँ आधा दर्जन रिसोर्टहरु पनि संचालनमा छन् । नदी किनारमा रहेका यी रिसोर्टहरुमा शुक्रबार र शनिबार गरि झण्डै ५ हजार मानिस र्याफ्टिङका लागि पुग्ने गर्दछन् । भोटेकोशीको शीतलता लिँदै सांकेतिक साँझमा झुम्न युवा युवतीहरु लालायित हुन्छन् । पछिल्ला समय रिसोर्टहरुमा पारीवारिक समूहसमेत देखिन्छन् ।
गर्मी याम र्याफ्टिङका लागि अनुकुल समय हो । त्यसो त रिसोर्टमा स्वीमिङपुल समेत निर्माण गरिएका छन् । नदीमा पस्न डराउनेहरु स्वीमिङपुलको मात्रै मज्जा लिएर फर्कन्छन् । खाडीचौर देखि सुकुटेसम्मको दुरीमा जलयात्राका लागि रिसोर्टहरुले व्यवस्थापन गर्दै आएका छन् । भोटेकोशीमा र्याफ्टिङ गर्दा दर्जन भन्दा बढि र्यापीडहरु छन् । जहाँ रयाफ्टीङ गर्दाको मज्जा बेग्लै छ ।
राजधानी काठमाडौंबाट सवैभन्दा नजिक जलयात्राका लागि सुटुके दिनप्रतिदिन परिचित बन्दै गएको छ । यहाँका पर्यटन व्यवसायीहरुले आन्तरिक पर्यटकलाई नै प्राथमिकता दिएर प्याकेजमा पर्यटक तान्ने प्रयत्न गरिरहेको व्यवसायी अनिलकुमार खड्काले वताए ।
विशेषगरि फागुनदेखि असार दोस्रो हप्तासम्म र बर्षात पछि असोज-कार्तिक महिना पनि जलयात्राका लागि यहाँ भिड लाग्ने गरेको अर्का पर्यटन व्यवसायी उद्धव खरेलले वताए ।
तर, विश्वमै प्रसिद्ध भोटेकोशीको जलयात्रा भने विस्तारै संकट पर्ने खतरामा छ । नदी क्षेत्रमा बालुवा, ढुंगा, गिटी झिक्ने कार्य पछिल्ला बर्षहरुमा ह्वात्तै वृद्धि भएपछि यहाँका पर्यटन व्यवसायीहरु चिन्तित छन् । क्रसर उद्योग र यस्ता कार्यलाई कडाइका साथ कानुनी दायरामा ल्याइनु पर्ने भोटेकोशी र्याफ्टीङ एसोसिएशनका अध्यक्ष नारायण श्रेष्ठले वताए ।
माथिल्लो भोटेकोशी र तल्लो भोटेकोशी हुँदै सुनकोशी नदी किनारमा भइरहेको मानव अतिक्रमण हेर्दा जोकोही चिन्तित हुनु स्वभाविक हो । सयौं डोजर नदी किनारामा दिनरात ढुंगा, गिटी, बालुवा खोतलीरहेका छन् । नदी किनारामा देखिने मानवीय अराजक क्रियाकलापले जोसुकै प्रकृतिप्रेमीको मन कुँड्याउँछ । यदी यहाँको नदी दोहनलाई हटाउन सकियो भने र्याफ्टिङका लागि भोटेकोशी अनन्तसम्म र्याफ्टिङका लागि उपयुक्त नदी हो ।
तस्बिर : विक्रम श्रेष्ठ
प्रकाशित समय १२:१८ बजे