गृहपृष्ठ एक्काइसौं शताब्दीमा फेरि नयाँ विश्वविजेता
एक्काइसौं शताब्दीमा फेरि नयाँ विश्वविजेता
सेमिफाइनलमा पुगेका टोलीले सन् २००० यता विश्वकप जितेका छैनन्

रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा क्वाटर फाइनल चरणको खेल समाप्त भएको छ । समूह चरणको खेलदेखि नै दाबेदार मानिएका टिमलाई तुलनात्मक रुपमा कमजोर मानिएका टिमले कडा टक्कर दिँदै घर फर्काएका थिए ।
क्वाटर फाइनल चरणको खेल समाप्त भएसँगै सेमिफाइनल (उत्कृष्ट ४) मा पुग्ने टोलीकोसमेत निक्र्याैल भइसकेको छ । सन् २०१८ (जारी विश्वकप) मा उत्कृष्ट भनिएका टोली त घर फर्केका छन् नै सँगै विश्वकपको उपाधी अहिलेसम्म पनि नउचालेका २ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमि फाइनलमा पुग्ने ४ मध्ये बेल्जियम र क्रोएसियाले अहिलेसम्म पनि विश्वकप फुटबलको उपाधी चुमेका छैनन् ।
तर, जारी विश्वकपमै सेमिफाइनलमा पुग्ने इंग्ल्यान्ड र फ्रान्सले भने विश्वकपको उपाधी विजेतामा यसअघि नै आफ्नो नाम दर्ता गराइसकेका छन् । अर्काे रमाइलो कुरा के भने सेमी फाइनलमा पुग्ने टोलीमध्ये जसले उपाधि जिते पनि त्यो एक्काइसौं शताव्दीको नयाँ विश्वविजेता हुनेछ । किनकी जारी विश्वकपमा सन् २००२ को विजेता ब्राजिल, २००६ को इटाली, २०१० को स्पेन र २०१४ को विश्व विजेता जर्मनीको चुनौति समाप्त भइसकेको छ ।
कस्ता छन् सेमि फाइनल खेल्ने टोली ?
फ्रान्स
फिफा बरियतामा फ्रान्स सातौं नम्बरमा छ । क्वाटर फाइनलमा उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेर यो टिम सेमिफाइनलमा प्रवेश गरेको हो । डिडिएर डेस्चाम्प्सको प्रशिक्षणमा रहेको फ्रान्सले सन् १९३० मा पहिलो पटक विश्वकप फुटबलमा सहभागिता जनाएको थियो । ५ पटक विश्वकपको सेमिफाइनल, २ पटक फाइनल खेलेको र सन् १९९८ मा उपाधी चुमेको यो टोली छैटौं पटक सेमिफाइनल खेल्दैछ ।
उत्कृष्ट लयमा रहेको फ्रान्सका ओस्माने डेम्बेले, नविल फेकिर, ओलिभर गिरोउड, एन्टोनी ग्रिजम्यान, थोमस लिमार, किल्यान एम्बाप्पे, फ्रोरियन थाउमिन लगायतले विपक्षीको रक्षा पंक्तिलाई हायलकायल पार्दै गोलपोष्टमा धावा बोल्ने छन् । अर्कातर्फ लुकास हर्मानडेज, पेसर्नेल किम्पेम्बे, बेन्जामिन पाभार्ड, एडिल रामी, डिजेब्रिल सिडिबी, स्यामुएल युमिटिटी, र्याफेल भारेनीले विपक्षीको आक्रमणलाई निस्तेज पार्न रक्षापंक्ति सम्हाल्ने छन् ।
रक्षापंक्तिबाट उम्केको बललाई क्लियर गर्दै गोल हुनबाट बचाउनका लागि फ्रान्सले गोलकिपरहरु हुगो लोरिस, स्टिभ मानदान्दा र आल्फोन्स आरेर्लालाई खटाएको छ । एन गोलो कान्टे, ब्लासिसे माटिडी, स्टेभन एन जोनजी, पल पोग्बा र कोरेटिन टुलिसोसहितको मिडफिल्डको सहयातामा विश्वकपको उपाधी दोस्रोपटक चुम्ने लक्ष्यसहित फ्रान्स मैदानमा उत्रने छ ।
बेल्जियम
अहिलेसम्म पनि विश्वकपको उपाधी जितेको इतिहास नभएर के भयो ? पाँचौ पटकको विश्वविजेता ब्राजिललाई क्वाटर फाइनलमा २–१ घर फर्काउँदै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । अब बेल्जियमलाई फाइनल पुग्न फ्रान्सको चुनौति पन्छाउनुपर्ने भएको छ ।
यही मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा रसियाको सेन्ट पिटसबर्गमा नेपाली समय अनुसार रातको ११ः४५ बजेपछि सुरु हुने खेलमा फिफा बरियतामा तेस्रो नम्बरमा रहेको बेल्जियमले आफूभन्दा ४ नम्बर तल रहेको फ्रान्सलाई चुनौति दिनेछ ।
बेल्जियमले सन् १९३० मा पहिलोपटक विश्वकप खेलेको थियो । यो त्यही विश्वकप हो जसमा फ्रान्सले पनि पहिलो सहभागिता जनायो । रोबर्टाे मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियमसँग यसअघि एक पटक सेमिफाइनल खेलेको अनुभव छ । तर, एकपछि अर्काे गर्दै दाबेदार मानिएका टोलीहरु घर फर्कन बाध्य बनेको जारी विश्वकपमा इतिहासमा फ्रान्स आफुभन्दा उत्कृष्ट भएपनि त्यतिले मात्र आफूलाई हराउन नसक्नेमा बेल्जियम ढुक्क देखिन्छ । अर्कातर्फ सेमि फाइनलमा फ्रान्सको चुनौति पन्छाउँदै पहिलो पटक फाइनल खेल्ने बेल्जियमको सपना मंगलबार रुसी मैदानमा पुरा हुन पनि सक्छ ।
रोमेरो लुकाकु, मिची बाटसुई, नाकेर चाड्ली र ड्रइज मिर्टन्स जस्ता फरबार्डले विपक्षीको पोष्टमा धावा बोल्दा बेल्जियमको रक्षापंक्ति भने टोबी एल्डविरेल्ड, डेडरिक बोयटा, भिन्सेन्ट कोम्पानी, थोमस मिउनियर, थोमस भिरमाइलिन र जान भिर्टाेन्गेनले सम्हाल्ने छन् । गोलकिपर्स कोईन क्यास्टिल्स, थीबाउट काउर्टिस, सिमोन मिग्नोलेटले बेल्जियमको पोष्ट रक्षा गर्नेछन् भने यान्निक कर्रास्को, केभिन डि ब्रुएनी, मउसा डिम्बिली, लिनडर डिनडोन्कर, मरोआनी फिल्लाइनी, एडेन हजार्ड, थोर्गान हजार्ड, एडनान जानुजाज, युओरी टाइलिमान्स, एक्सेल वीट्सेलले बेल्जियमको रक्षा पंक्ति सम्हालने छन् ।
इंग्ल्यान्ड
क्वाटर फाइनलमा स्वीडेनलाई २–० ले पन्छाउँदै सेमी फाइनल यात्रा तय गरेको इंग्ल्यान्ड फिफा बरियतामा १३ नम्बरमा छ । सन् १९५० मा पहिलो पटक विश्वकपमा सहभागी भएयता इंग्ल्यान्डले सन् १९५६ मा एकपटक विश्वकप जितेको छ । १ पटक फाइनल खेलेको र विजयीसमेत भएको इंग्ल्यान्ड तेस्रोपटक सेमिफाइनल खेल्दैछ ।
गारेथ साउथगेटनको प्रशिक्षणमा इंग्ल्यान्डले ह्यारी केन, मार्कस रासफोर्ड, रहिम स्ट्रलिङ, जमाई भार्डी, ड्यानी विलबेकलाई विपक्षीको पोष्टमा आक्रमणको जिम्मा दिएको छ । डिल अली, इरिक डाइर, जोर्डन हेन्डर्सन, जेसी लिङगार्ड, रुबेन लफ्टस चिकले टिमको मध्यपंक्ति सम्हाल्ने छन् । त्यसै गरी ट्रिन्ट एलेक्जेन्डर अरनोल्ड, गेरी काहिल, फाबियन, फिल जोन्स, ह्यारी मगुईर, ड्यानी रोज, जोन स्टोन्स, काइरन टिपपाइजर, काइल वाल्कर, असले यङले रक्षापंक्ति र गोलकिपर ज्याक बलल्यान्ड, जोर्डन पिकफोर्ड, निक पोपले गोलपोस्ट सम्हाल्ने छन् ।
क्रोएसिया
असार २७ गते बुधबार पौने १२ बजे हुने दोस्रो सेमी फाइनल खेलमा क्रोएसियाले इंग्ल्यान्डको चुनौति पाएको छ । मस्कोस्थित लुज्निकी रंगशालामा विजयी भएमा क्रोएसिया फाइनल प्रवेश गर्नेछ । तर, त्यसका लागि पर्खाल बनेर आइपुगेको छ इंग्ल्यान्ड ।
क्रोएसिया फिफा बरियतामा १८ नम्बरमा छ । सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको क्रोएसियाले यसअघि १ पटक सेमिफाइनल खेलीसकेको छ । पहिलो सहभागितामै तेस्रो स्थान जितेको क्रोएसियाले त्यसपछिका विश्वकपमा खेल सुधार गर्न भने सकेन । तर, यसपटकको विश्वकपमा स्वर्णिम इतिहास लेख्ने उसको आकांक्षा पुरा होला त ? यो महत्वपूर्ण प्रश्न हो ।
कोट ग्लाटको डेलिक क्रोएसियाको आगामी रणनीति बनाउन व्यस्त छन् भने मारियो मान्जुभिक, इभान पेसिस्को, नोकोला कालिनिक, एन्द्रेज कार्मारिक, मार्काे पिजाका, एन्टी रेबिक जस्ता फरबार्डले सेमी फाइनलमा इंग्ल्यान्डको पोष्टमा प्रहार गर्ने तयारी गर्दैछन् । त्यसका लागि लुका मोड्रिक, इभान राकिटिक, माटेओ कोभासिस, मिलान बाल्डिजी, मार्लाओ ब्रोजोभिक, फिलिप ब्राडर्रिकले मिडफिल्डबाट उनीहरुलाई मद्दत गर्नेछन् ।
विपक्षीको आक्रमण निस्तेज पार्न रक्षापंक्ति भिर्डर्यान कालुका, डोमजोग भिडा, इभान स्ट्रिनिक, डिजान लोभरेन, सिमे भर्सालजीको, जोसिप पिभार्सिक, टिन जाभेभाजे, डुजे काल्टा कारले सम्हाल्ने छन् । त्यसैगरी गोलपोष्टको जिम्मा भने ड्यानिजेल सुबेसिक, लोर्भ कालिनिक, डोमिनिक लिभाजोभिकले पाएका छन् ।
प्रकाशित समय १०:२९ बजे