गृहपृष्ठ समता शिक्षा निकेतनबाट एसर्इर्इमा चरम लापर्बाही

समता शिक्षा निकेतनबाट एसर्इर्इमा चरम लापर्बाही

समताका १९ विद्यार्थी अर्कै विद्यालयबाट एसईई दिन बाध्य, एउटा विषयको परीक्षा, अर्को विषयको नतिजा

samata-newskarobar

नेपालकै चर्चित समता फाउन्डेसनद्वारा सञ्चालित समता शिक्षा निकेतन विराटनगरमा अध्ययनत विद्यार्थीले अर्कै विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनुपरेको तथ्य फेलापरेको छ । विद्यालयको लापर्बाहीका कारण समताका १९ विद्यार्थीले सञ्जीवनी वैकल्पिक विद्यालयको नामबाट एसईई परीक्षा दिनुपरेको हो ।

समतामा १० कक्षासम्म अध्ययन गरी एसईईको रजिस्ट्रेसन फाराम भरेका १९ विद्यार्थीले समताले आफूहरुलाई झन्डै परीक्षा दिनबाट वञ्चित गरेको बताए । ‘परीक्षा दिन त जसोतसो पाइयो तर अर्कै विद्यालयको नामबाट,’ छात्रा आर्या रिमालले भनिन्, ‘समताको विद्यार्थी भएर सञ्जीवनी वैकल्पिक विद्यालयको नामबाट परीक्षा दिनुपर्दा धेरै दुःख लागेको छ ।’

समताले परीक्षाको समयमा रजिस्ट्रेसन फाराम हराएको र अर्को वर्षमात्र परीक्षा दिनु भनेपछि रुवाबासी नै चलेको उनले बताइन् । ‘सुरुमा समताले हाम्रो रजिस्ट्रेसन फाराम हराएको जानकारी गराउँदै अर्को वर्ष परीक्षा दिनु, छात्राबासमा राखेर एक वर्ष निःशुल्क खाने–बस्ने र कोचिङ क्लासको व्यवस्था मिलाउँछौँ भन्यो,’ उनले भनिन्, ‘हामीले केही गर्दा नमानेपछि बल्ल परीक्षा दिन पाइएको थियो ।’ परीक्षा सकिएपछि सबै विद्यार्थीको प्रवेश पत्रसमेत समताले नै खोसेर लिएको उनले बताइन् ।

samata-newskarobar

परीक्षामा मात्र नभएर नतिजामा पनि समताले गम्भीर गल्ती गरेको छ । छात्रा सवनम राजवंशीले सिम्बोल नम्बर र जन्ममितिका आधारमा इन्टरनेटमा नतिजा हेर्दा गम्भीर त्रुटी भेटिएको बताइन् । ‘मैले पढेको विषय एउटा छ, नतिजा अर्कै विषयमा आएको छ,’ उनले भनिन्, ‘अधिकांश विद्यार्थीको ऐच्छिक गणित विषयको परीक्षा दिएको भए पनि कम्प्युटर साइन्सको नतिजा आएको छ ।’

वास्तविक रिजल्ट र ग्रेड सिटका लागि विद्यालयमा पटक–पटक धाए पनि ‘एक–दुई दिनमा मिल्छ’ भन्दै टार्ने गरेको उनले बताइन् । ‘रिजल्ट आएको यत्रो समय बितिसक्यो, कलेजहरुमा एड्मिसन हुने सम्भावनासमेत कम भइसकेको छ,’ सवनमले भनिन्, ‘ग्रेड सिट नपाएर हाम्रो भविष्यमाथि खेलवाड भएको छ । दोषीमाथि तत्काल कारबाही हुनुपर्छ ।’

विद्यार्थीका अभिभावकले पनि परीक्षाको नतिजा सार्वजनिक भएको लामो समयसम्म ग्रेड सिट नदिएको भन्दै आक्रोश पोखेका छन् । कलेजहरुमा एड्मिसन समय सकिन लागेको, मौका परीक्षाको समय सकिइकेको र सिटिइभिटिले लिने प्रवेश परीक्षाको फाराम भर्ने म्याद पनि सकिन लाग्दासमेत विद्यार्थीले वास्तविक नतिजा, ग्रेड सिट तथा सर्टिफिकेट नपाएको भन्दै विद्यालयपरिसरमै पुगेर आक्रोश पोखेका छन् ।

‘ग्रेड सिट नदिएर विद्यार्थीको भविष्यमाथि विद्यालय प्रशासनले खेलवाड गरेको छ,’ अभिभावक भगिरथ पौडेलले भने, ‘यसरी विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइन्छ ? यसको जिम्मेवारी समता फाउन्डेसनले वा स्कुलले लिनुपर्छ कि पर्दैन ?’

समताका प्रधानाध्यापक विकास गुरुङले भने विद्यार्थीको फाराम समता स्कुलबाटै भरिएको दाबी गरे । समता स्कुल विराटनगरलाई कक्षा ८ सम्मको मात्र इजाजत भएको र एसईई परीक्षाका लागि समता फाउन्डेसनले नै सञ्चालन गर्ने विद्यालयबाट विगतमा समेत परीक्षा दिलाइँदै आएको भए पनि यो वर्ष केही ढिलाइ र त्रुटी हुन पुगेको उनले स्वीकार गरे । ‘केन्द्रमा (समता फाउन्डेसन) ग्रेड सिटका विषयमा कुरा राख्दा एक–दुई दिनभित्रमा पठाउने जवाफ आएको छ,’ उनले भने ।

समता फाउन्डेसन एक गैरसरकारी संस्था हो । समता फाउन्डेसनले देशभर ७३ जिल्लामा विद्यालय सञ्चालन गर्दै आइरहेको छ । ती विद्यालयले मासिक एक सय रुपैयाँ शुल्क लिएर अध्ययन–अध्यापन गराउँदै आएका छन् ।

samata-newskarobar

 

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु