गृहपृष्ठ यी अनुहार, जो सर्वाेच्चबाट बेदाग बिदा हुन सकेनन्

यी अनुहार, जो सर्वाेच्चबाट बेदाग बिदा हुन सकेनन्

bimallendra nidhi & bishni rimal -newskarobar

नेपालको न्यायालय इतिहासमा कमैमात्र प्रधानन्यायाधीश विवादमुक्त भए । लोकतन्त्र स्थापनापछि सर्वाेच्च अदालतको नेतृत्व सम्हाल्ने सबैजसो पात्रहरु विवादित बनेका उदाहरण छन् । जसकारण अधिकांश प्रधानन्यायाधीश बेदाग बिदा हुन सकेनन् ।

२०६२/६३ को जनआन्दोलनपछि ०६३ माघ १ मा जारी भएको अन्तरिम संविधानले पहिलोपटक न्यायाधीश, प्रधानन्यायाधीशको संसदीय सुनुवाइ गर्ने व्यवस्था गर्याे । त्यसपछि न्यायाधीश, प्रधानन्यायाधीशहरु राजनीतिक दलको गोटि बन्दै विवादमा तानिन थालेका हुन् । सार्वजनिक सुनुवाइको व्यवस्थाले घुमाउरो शैलीमा नेताको ढोका ढक्ढकाउने बाध्यता सिर्जना गरिदिएको विश्लेषणसमेत हुन थालेका छन् । खिलराज रेग्मीदेखि दीपकराज जोशीसम्मका प्रकरणले प्रधानन्यायाधीश बिदाइको स्थिति प्रस्ट पार्छन् ।

 

खिलराज रेग्मी
सर्वाेच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी मुलुकको कार्यकारी प्रमुख बनेसँगै ठूलो विवादको जन्मियो । संविधानसभाको दोस्रो निर्वाचन गराउन उनको नेतृत्वमा सरकार बनाइएपछि न्याय र राजनीतिलाई जोडेर उनको प्रशस्त आलोचना भयो । ‘न्यायालयको मान्छे कार्यपालिकामा जानु वा लगिनुभन्दाा ठूलो विवाद केही होइन, त्यहाँबाटै न्यायालय विकृत बन्न सुरु भयो,’ सर्वाेच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझी भन्छन् ।

 

दामोदर शर्मा
खिलराजपछि सर्वोच्चको नेतृत्वमा आएका दामोदर शर्माको इतिहास पनि बेदाग बन्न सकेन । साधु प्रधानन्यायाधीशका रूपमा सर्वाेच्चको नेतृत्वमा छिरेका दामोदर शर्मा आर्थिक मामिलामा बदनाम भएर निस्किएका थिए ।

 

रामकुमार साह
रामकुमार साह ‘गार्ड अफ अनर’सहित सर्वोच्च न्यायालयको नेतृत्व गर्ने पहिलो न्यायाधीश हुन् । तर, न्यायालयको इतिहासमा उनको कार्यकाल पनि विवादमुक्त भएन । दूरसञ्चार प्राधिकरणको मुद्दाबाट विवादमा तानिन थालेका उनी कार्यकालभर नै आफ्ना फैसलाबाटै लखेटिइरहे । पूर्वयुवराज्ञी प्रेरणा शाहको जग्गा विवाद मुद्दाबाट पनि उनी आलोचित बने ।

 

कल्याण श्रेष्ठ
सुरुमा कल्याण श्रेष्ठलाई धेरैले स्वच्छ छविको रूपमा चित्रण गरे । कार्यकालको अन्तिम समयमा सर्वोच्चमा गरेको पदपूर्तिमा पूर्वसांसदका लागि ढोका खुला गरेपछि सर्वाेच्चमा राजनीति भित्र्याएको आरोप उनलाई लाग्यो । कतिपयले विश्वनाथ उपाध्यायले सुरु गरेको न्यायालयको राजनीतिक गोरेटोलाई कल्याणले थप संस्थागत गरेको बताए । प्रधानन्यायाधीशका रुपमा उनले गरेका केही कार्यका किस्सा अहिले पनि न्यायालयका प्रांगणमा समय कटाउने मेलो बन्दै आएका छन् ।

 

सुशीला कार्की
सुशीला कार्की पदमा मात्र नभई अवकाशपछि समेत उत्तिकै चर्चा र विवादमा छिन् । पदमा रहँदा महाअभियोग प्रस्ताव दर्ता हुँदादेखि अवकाशपछि महाअभियोगमा आफूलाई बचाउने दलको विरोध गरेसम्म उनी चर्चा र विवादको विषय बनिहिन् । सर्वाेच्च नेतृत्वमा रहँदा महाअभियोगलगायतका कारणले चर्चामा आएकी कार्की सर्वोच्चबाट बाहिरिएपछि आफ्नै प्रस्तुतिका कारण विवादमा आउने गर्छिन् ।

 

गोपाल पराजुली
सुशीला कार्कीपछि प्रधानन्यायाधीश बनेका गोपाल पराजुली सबैभन्दा बढी विवादस्पद पात्र हुन् । उनको जन्ममितिमात्र विवादमा आएन, आर्थिक विषय जोडिएका फैसला उत्तिकै विवदित छन् । उनी सार्वजनिक रूपमै सबैभन्दा बढी आलोचित छन् । उनको शैक्षिक प्रमाणपत्र र उनले गरेका निर्णयविरुद्ध डा. गोविन्द केसी अनसन नै बसेका थिए । जन्ममिति विवादमा न्यायपरिषद सचिवले नै अवकाश हुने निर्णय गरेपछि उनले गत चैत १ गते राजीनामा दिए ।

 

दीपकराज जोशी
सार्वजनिक सुनुवाइ समितिबाट इतिहासमै पहिलोपटक अस्वीकृत भएका दीपकराज जोशी प्रधानन्यायाधीशमा सिफारिस हुनासाथ विवादमा आए । अघिल्ला न्यायाधीशहरु भने प्रधानन्यायाधीश बनेपछि मात्र विवादमा आएका थिए । विवादास्पद पृष्ठभूमिमा प्रधानन्यायाधीश सिफारिस भएपछि उनलाई न्यायपरिषदले अस्विकार गर्याे । सामान्यतः न्यायाधीशको आचरणविपरीत राजनीतिक दलका नेतालाई भेट्न पुगेपछि जोशी आलोचित बनेका हुन् । शैक्षिक प्रमाणपत्रदेखि उनले गरेका फैसलासम्मका कारण उनी विवादमा आए । सोही विवाद उनलाई प्रधानन्यायाधीश बन्न नदिने कारक बन्यो ।

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु