गृहपृष्ठ पुराना कांग्रेसी नेता भन्छन्– गुटमा नलाग्नेको अस्तित्व खै ?

पुराना कांग्रेसी नेता भन्छन्– गुटमा नलाग्नेको अस्तित्व खै ?

nepali-congress-meeting

 

पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तर्क्रियामा नेपाली कांग्रेसको ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गरे, ‘गुट नभएका हामीजस्ताको अस्तित्व खै ?’

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा= शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित कार्यक्रममा नेता श्रेष्ठले आफूले पार्टी सभापति देउवालाई भेट्न धेरै प्रयास गरे पनि नपाएको गुनासो गरे ।

अर्का पुराना नेता उत्तमनारायण श्रेष्ठले जीवनभर आफू र आफ्नो परिवारले कांग्रेसलाई नै भोट हालेको तर यसपटकको निर्वाचनमा पार्टीको निर्देशनमा पूर्वपञ्चलाई भोट हाल्नुपरेको दुःखेसो गरे । २०१४ सालमा आफूले कांग्रेसको सदस्यता लिएको बताउँदै उनले अहिले सक्रिय सदस्यता लिन नेताहरुको चाकडी गर्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको भन्दै दुःख व्यक्त गरे ।

निर्वाचनमा पार्टीको लोकप्रिय मत कम नभएकाले कांग्रेसलाई अझै जनताको साथ रहेको भन्दै उनीहरूले निर्वाचनमा व्यक्तिमात्र पराजय भएकाले यसमा सुधारको आवश्यकता औंल्याए । साथै, लोकतन्त्रको रक्षाका लागि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले हालै सम्पन्न निर्वाचनमा कांग्रेस पार्टीका रुपमा नभई गुट–उपगुटको मोर्चाका रुपमा प्रस्तुत भएको आरोप लगाए । बामगठबन्धनको असर र प्रभावका बारेमा नबुझी प्रतिक्रियास्वरुप कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्नु गलत भएको उनको टिप्पणी छ ।

पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले पार्टीमा अति गुटबाद बढेको बताए । ‘नेतृत्वमा काँग्रेस भनेको म हुँ, मलाई सहयोग गर्नेमात्र कांग्रेस हुन्छ, भन्ने गलत दम्भ हाबी छ,’ उनले भने ।

पूर्वकेन्द्रीय सदस्य विनयध्यज चन्दले निर्वाचनमा डन, पैसावाल र नेताका परिवारले मात्र टिकट पाएको टिप्पणी गर्दै विपीको नाम भजाउनुभन्दा विपीको विचारलाई आत्मसात् गर्न नेतृत्वलाई सुझाव दिए ।

पूर्वमन्त्री चिरिन्जीवी वाग्लेले कांग्रेसमा आमूल सुधार नभएसम्म यही अवस्था रहिरहने बताए । त्यस्तै, पार्टीका पुराना नेता तीर्थराम डंगोलले कुनै नेताले दबाबमा आफूलाई निर्वाचनमा टिकट नदिएको गुनासो गर्दै वंशानुगत राजनीति अन्त्य गर्न मुलुकमा गणतन्त्र ल्याएको भए पनि पार्टीमा वंशानुगत राजनीति दोहोरिएको आरोप लगाए ।

अर्का नेता दामोदर गौतमले विगतदेखि नै कांग्रेसले कम्युनिष्टसँग गरेको सहकार्य गलत भएको टिप्पणी गरे । पार्टीका पुराना नेता एवं नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपिन कोइरालाले कसैको व्यक्तिगत पदका लागि पार्टीलाई जुवामा खेल्ने अधिकार कसैलाई नभएको भन्दै पार्टी बनाउन नेतृत्वमा त्यागको आवश्यकता रहेकोमा जोड दिए ।

नेता रामबहादुर गुरुङले पार्टी बलियो भयो भनेमात्र नेता बलियो हुने बताउँदै पार्टीको आमूल सुधारका लागि गुट-उपगुटमा नलागेका नेता कार्यकर्ताको सुरक्षा हुनुपर्ने माग गरे । नेता श्यामलाल श्रेष्ठले वर्तमान नेतृत्वले बाटो विराएकाले पार्टीको अहिलको अवस्थामा आइपुगेको आरोप लगाए । ‘निर्वाचनमा गाई र हँसिया हथौडामा भोट हाल्नुपर्दा कांग्रेसका इमान्दार कार्यकर्ताको आात्मसम्मानमा चोट पुगेको छ,’ उनले भने ।

पूर्वसांसद हिरादत्त भट्टले ६०/४० को भागबण्डा सुरु भएदेखि नै पार्टी ‘कम्पनी’ मा परिणत भएको टिप्पणी गरे । नेता तिलकप्रसाद न्यौपानेले सरकारका कदमले लोकतन्त्रमाथि संकट आउनसक्ने इंगित गर्दै नेतृत्वलाई मिलेर अघि बढ्न सुझाव दिए ।

नेताहरुले आफ्नै घरमा कार्यकर्तालाई भेट्दा गुट हाबी हुने भन्दै उनीहरुले पार्टी कार्यालयमा नियमित उपस्थित भई भेटघाट गर्न नेतृत्वलाई आग्रह गरे ।

कार्यक्रममा पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेललगायतले अन्तर्क्रियाबाट प्राप्त सुझाव कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भीष्मराज ओझा/रासस

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु