गृहपृष्ठ पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज विमानस्थलबाटै गिरफ्तार
पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज विमानस्थलबाटै गिरफ्तार

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफलाई प्रहरीले गिरफ्तार गरेको छ । बेलायतबाट शुक्रबार राति स्वदेश फर्किएलगत्तै सरिफसँगै उनकी छोरी मरियमलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका शरिफलाई अब जेल चलानका लागि प्रक्रिया अघि बढाइने छ ।
भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर, फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि भन्दै शरिफ परिवारसहित बेलायत पुगेका थिए ।
१२ दिनपछि हुन लागेको आम निर्वाचनको पूर्वसन्ध्यामा स्वदेश फर्किएका शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै त्यहाँको प्रहरीले पक्राउ गरेको हो । स्वदेश फर्किएका शरिफको स्वागतका लागि विमानस्थल पुगेका पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीका नेता कार्यकर्ताहरु आफ्ना नेता पक्राउ परेपछि आक्रोशित बनेका थिए । पाकीस्तानी सञ्चामाध्यमहरुका अनुसार शरिफका बाबु–छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको छ ।
प्रकाशित समय ०९:४३ बजे