गृहपृष्ठ नालापानी युद्धका नायक बलभद्र कुँवर किन लाहुरे भए ?

नालापानी युद्धका नायक बलभद्र कुँवर किन लाहुरे भए ?

Bala_Bhadra_Kunwar Final_news karobar

कुँवरको इतिहास
नेपालमा ‘कुँवर’हरुको एउटा छुट्टै इतिहास छ । यही थर भएका कोही इतिहासमा कुख्यात छन् भने कोही महान योद्धा । यद्यपी मुलुकको संरक्षण र विकासमा कुँवरहरुको उच्च योगदान रहेको कुरा कसैले नकार्न सक्दैन ।

‘कुँवर’ नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । ऐतिहासिक कथन अनुसार कुँवर पाँच पुस्त्यौनी काजी थरहरू मध्ये एक हो । अन्य चार थरहरू बिष्ट, पाण्डे, बस्नेत र थापा हुन् ।

कुँवरहरु वत्स गोत्रका हुन् । तत्कालीन सरदार रामकृष्ण कुँवर पृथ्वीनारायण शाहको सेनाका सरदार थिए । त्यस्तै बलभद्र कुँवर पनि कुँवर वंशजका वीरपुरूष थिए ।

बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवरका सन्तानहरूले पछि गएर राणा थर लिएका थिए । त्यसबेला बालनरसिंहका छोरा जंग बहादुर राणा प्रधानमन्त्री थिए । उनै जंगबहादुरले आफू शक्तिशाली प्रधानमन्त्री भएसँगै आफूलाई राणा घोषणा गरे । त्यही बेलादेखि कुँवर थर राणा पनि हुन पुग्यो ।

लेखक कृष्टोफर बायर्सका अनुसार कुँवर (राणापक्ष)हरूको वंशज कास्कीका काजी रत्नजीत कुँवरसम्म पुग्छ । नेपालका राणाहरूले दाबी गरेअनुरूप कुँवरहरूको पहिलो व्यक्ति भारतको चितौडगढका राजवंशबाट नेपाल पसेका राम सिंह हुन् ।

तर, राणा राम सिंहको केही सबुत नभएको र चितौडी राजाहरूको गोत्र पनि सम्पूर्ण भिन्न रहँदा यो दाबीलाई नमान्नेहरु पनि छन् । साथै उक्त सिसोदिया राजवंशमा कुँवर राणा लगायत शाहवंश र अन्य ठकुरीहरू सबैको दाबी छ भने गोत्र कुनै थरीसँग पनि मिल्दैन ।

नेपालको पश्चिमी भेग, काठमाडौँ उपत्यका र नेपालभरिका विशेष गढाचौकीहरूमा कुँवरहरूको बसोबास छ ।

नेपालको संरक्षण र विकासमा कुँवरहरुको भूमिका उच्च छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर भलै नेपालको इतिहासमा खलपात्रका रुपमा परिचित छन् तर उनले नेपालको विकासमा नयाँ आयामहरु भित्र्याएको कुरालाई पनि सायदै कसैले नकार्छन ।


नालापानी युद्ध र बलभद्र कुँवर
वीर बलभद्र कुँवरले नेपालको सिमाना रक्षाका लागि आफ्नो प्राण आहूति गरे । सेनामा रहेर वा सरकारमा रहेर कुँवरहरुले नेपालको रक्षा र विकासका पक्षमा लडेका छन् ।

नालापानी किल्ला त्यही किल्ला हो, जहाँ नेपाली फौजले अंग्रेज सेनापति जिलेस्पीलाई वीरगति प्राप्त गर्न बाध्य बनाए । विसं १८७१ कात्तिक १७ गते नेपाली फौजको प्रहारबाट जिलेस्पीको ज्यान गयो ।

नालापानी किल्लामा सवा सय जति घ्याम्पामा पानी सञ्चित गरिएको थियो । अंग्रेजहरूले गोलाले हानी पानी सञ्चित गरिएका घ्याम्पा फुटाई पानी पोखाइदिए । नेपाली सेनाले भात पकाएर खानसमेत पाएनन् । उनीहरू काँचै चामल खान बाध्य भए । पानीको समेत हाहाकार भएपछि विसं १८७१ मंसिर १६ गते राति बलभद्र कुँवरहरू नालापानी किल्ला छाडी बाहिर निस्कन बाध्य भएको इतिहासकार महेशराज पन्तले ’पूर्णिमा’ पूर्णांक ३ (कात्तिक २०२१–५९(६४)मा उल्लेख गरेका छन् ।
यसरी किल्ला छाडी उनीहरू अन्य मोर्चाहरूमा पुगेर लड्दालड्दै सुगौली सन्धि भयो । त्यसपछि बलभद्र कुँवर काठमाडौं आए, अनि खटाइएको ठाउँतिर खटिए । त्यसपछि मात्र पञ्जाबकेशरी रणजित सिंहको सेनामा भर्ना भई विभिन्न युद्धमा खटिए ।

यसै क्रममा पञ्जाब र अफगनिस्तानबीच पेसावरमा भएको युद्धमा लड्दालड्दै सुवेदार बमसिंह खड्का, जमदार ऐमान खवास, जमदार रूपसिंह खड्का, जमदार जिउनसिंह टुरासहित बलभद्र कुँवरले विसं १८७९ चैत ३ गते वीरगति पाएको इतिहास ’पूर्णिमा’ पूर्णांक ५ (वैशाख २०२२–६८(६९)मा छापिएको छ ।

नालापानीको युद्ध नेपाली इतिहासमा चर्चित र महत्वपूर्ण छ । यो युद्धमा बाध्यतावश किल्ला छाडेपछि कप्तान बलभद्र सीधै पञ्जावकेशरी रणजित सिंहको फौजमा भर्ना भए भन्ने धारणा व्याप्त छ । तर, अंग्रेजसँगको युद्धपछि बलभद्र कुँवर राजधानी काठमाडौं फर्केका र काठमाडौंबाट पश्चिमतिर जागिरमा खटिएका देखिन्छ । त्यसपछि मात्र उनी रणजित सिंहको फौजमा भर्ती भएका थिए ।

बलभद्रको पञ्जाब पलायनसँगै लाहुर जाने परम्परा सुरु भएको हो । यसबारेमा विभिन्न ऐतिहासिक प्रमाण जुटेपछि संशोधन मण्डलसमेत आत्मसंशोधन गर्न बाध्यभयो ।
चितवनबाट बुद्धिलाल भण्डारीद्वारा लखित ‘राष्ट्र निर्माणका केही योद्धाहरू’ (२०५०– १००)मा प्रकाशित भएको विसं १८७३ माघ सुदि १३ रोज ६ मा सरदार जगदेउ भण्डारीका नाममा जारी रुक्कामा उनका ठाउँमा बलभद्रलाई पठाइएको र जगदेउलाई फिर्ता बोलाइएको जानकारी समेटिएको छ ।

यसलाई पुष्टि गर्ने काठमाडौं भद्रकालीको गुठीलगत तथा अभिलेख शाखा कार्यालयमा महेशराज पन्तले फेला परेको बलभद्र कुँवरसम्बन्धी अर्को पत्र ’पूर्णिमा’को पूर्णांक ९९ (आश्विन २०५७–६३ (६४) मा प्रकाशित गरिएको छ । विसं १८७३ माघ सुदी ६ रोज ५ मा राजा राजेन्द्रविक्रम शाहद्वारा बलभद्रलाई सम्बोधन गरिएको उक्त पत्रमा उनको बुवाले दुल्लुमा श्रीइन्द्रज्वाला स्थापना गरेको र त्यसका लागि पाँच मुरीको गुठी स्थापना गरिएको उल्लेख छ ।

यसरी बलभद्र कुँवर नालापानीबाट सीधै लाहोर पुगी पञ्जाबकेशरी रणजित सिंहको फौजमा भर्ना भएका होइनन् भन्ने तथ्यको पुष्टि संशोधन मण्डलले गरेको छ । लाहोरमा गई लाहुरे हुने परम्परा बलभद्र कुँवरबाट सुरु भएको हो । त्यस बेला कुँवर, थापा, पन्त, खत्री, भण्डारी, खवास, ठाकुरजस्ता क्षेत्रीहरू लाहोरमा भर्ती हुन थाले । गोर्खाली जिब्रोमा लाहोर शब्दको उच्चारण हुँदा ’लाहुर’ भन्न थालियो । त्यसपछि लाहोर पुगेर सैनिक बन्नेहरू लाहुरे कहलाए । पछि सुरो र लडाकु जातिको रूपमा राई, लिम्बू, मगर र गुरुङ देखा परे । उनीहरूलाई पनि पछि अंग्रेजहरूले सैनिकका रूपमा लिन थालेका हुन् ।


बलभद्र किन लाहुरे भए ?
बलभद्रले युद्धबाट फर्केपछि विसं १८७३ मा जिम्मेवारी नपाएका होइनन् । तर, उनी लाहुरतिर लागे । ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ (२०६९–५१(५२) मा बलभद्रको विदेशिएकोबारे उल्लेख गरिएको छ । उल्लिखित प्रसंगअनुसार बलभद्रले आफ्ना मामाहरू अर्जुनसिंह र भूपालसिंह थापासँगको भेटपछि अन्य मुलुकतिर जाने इच्छा जनाएका थिए ।

उनले त्यसबेला आफ्ना मामाहरूसँग ’मुलुकभित्र खुकुरीको शान र अवसर या अवस्था नभएको देखिएकाले अन्य मुलुकमा जाने’ इच्छा देखाएका थिए । उक्त पुस्तकका लेखकद्वय रामराजा र डा. धनबहादुर कुँवरको विश्लेषणअनुसार बलभद्र अन्य ठाउँबाट भए पनि लडेर अंग्रेजलाई भारतवर्षबाट लखेटेर उनीहरूले नेपालबाट लिएको भूभाग फिर्ता लिएर आफ्नो राष्ट्रको प्रतिष्ठा बढाउन चाहन्थे । यसर्थ उनी नेपाल र नेपालीको शानलाई अझ बलियो गरी स्थापित गराउनका लागि बिदेशिएको दाबी लेखमा गरिएको छ ।

यही चाहनाअनुसार उनी विसं १८७६ ताका फौजबाट अवकाश लिएका र नयाँ कोरा ठिटाहरू सैयौं जम्मा गरी साथीभाइलगायत एउटा ठूलो जमात लाहोर जान तयार बनाएका थिए । त्यस बेला उनले आफ्नी पत्नी र छोराहरू शरणभद्र र केशरसिंहलाई नेपालमै छाडेर गएका थिए ।


त्यस बेला नेपालमा भीमसेन थापा सर्वेसर्वा थिए । उनी अरू भारदारले भनेको कुराको खासै सुनुवाइ पनि गर्दैनथे । सुगौली सन्धिपछि अंग्रेजसँग पुनः युद्ध हुने सम्भावना पनि थिएन ।

नालापानीमा हार भएको पीडा पनि छदैथियो । त्यही भएर अंग्रेजसँगको प्रतिशोध भावनाले बलभद्र पञ्जावकेशरी रणजित सिंहको फौजमा भर्ना हुन लाहोर पुगेका हुन् भन्न सकिन्छ ।


कति थियो बलभद्रको तलब ?
’पूर्णिमा’को पूर्णांक ५ (वैशाख २०२२–६५(६९) मा नेपाली इतिहासका महत्त्वपूर्ण स्रोतका रूपमा लाहोरबाट आएका केही पत्रहरू इतिहासकार दिनेशराज पन्तले छपाएका छन् ।

तीमध्ये सबैभन्दा बढी अमरसिंह थापाका छोरा भूपालको तलब देखिएको छ । उनको तलब पहिलो दिनको १८ रुपैयाँ छ । तर, पछि जुवाको लतमा ऋण परेको अनि काममा पनि लापरबाही गरेकाले उनको तलब घटेर दैनिक ११ रुपैयाँमा झर्यो । जुवा खेल्ने गोर्खालीलाई ‘सधैं कति जुवा खेल्छौ’ भन्दै अर्जुन थापाले थप्पडले हिर्काए । त्यो देखेर खुसी भई रणजित सिंहले उनलाई कप्तान दर्जा दिएका पनि पत्रबाट बुझिन्छ । पहिले दैनिक सात रुपैयाँ तलब बुझ्दै आएका उनको तलब बढाइदिएर दैनिक १० रुपैयाँ पुर्याइएको थियो । यस्तै अर्जुनका छोराको तलब दैनिक सात रुपैयाँ रहेको पत्रमा खुलेको छ ।

कप्तान बलभद्र कुँवरको तलब पहिले दैनिक १० रुपैयाँ थियो । पछि पाँच रुपैयाँ थपियो र दैनिक १५ रुपैयाँ हुन पुग्यो उनको तलब । उनलाई पुरानो गोर्खाली पल्टन पनि जिम्मा दिइएको थियो ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु