गृहपृष्ठ मोदी भ्रमण, हाम्रो सोच र वास्तविकता

मोदी भ्रमण, हाम्रो सोच र वास्तविकता

भर्खरै मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । हुन त यस अघि पनि दुई पटक भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गरिसकेका छन् । मोदी प्रधानमन्त्री हुनुभन्दा अगाडि भने करिब सत्र वर्ष भारतका प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेका थिएनन् । यसबाट बुझ्न पनि सकिन्छ, मोदीले नेपाललाई प्राथमिकतामै राखेर भ्रमण गरेका हुन् । संसारको शक्तिशाली मध्ये एक देशका प्रधानमन्त्री त्यसमा पनि छिमेकी प्रधानमन्त्रीले हाम्रो देशलाई प्राथमिकतामा राख्नु हाम्रा लागि स्वाभाविक र राम्रै पनि हो । तर, जब—जब नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जान्छन् अथवा भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँछन् अनि सुरु हुन्छ हाम्रो देवत्वकरण र दासत्वकरण ।
नेपालका जुनसुकै प्रधानमन्त्री भारत जाँदा उनको आलोचना नै हुने गरेको छ । सत्ता पक्षले भ्रमण सफल भो भन्ने अनि प्रतिपक्षले लम्पसार परिस् भन्ने । यस्तो भन्नै पर्ने संस्कार जस्तो बनिसकेको छ ,फेरि प्रधानमन्त्रीहरुले प्रधानमन्त्री बन्नासाथ भारतको भ्रमण गर्नै पर्नै संस्कार बसिसकेको छ पनि । यस्तो संस्कारको अन्त्य न भारतीय पक्षबाट गर्न खोजिएको छ न नेपालले नै सक्ने कुरा भयो । आवश्यकताको आधारमा भ्रमण भए सायद भ्रमणको पनि गरिमा बढ्थ्यो होला । उता भारतीय प्रधानमन्त्री सजिलै नेपाल भ्रमणमा आउँदैनथे तर मोदी आए हामीले देवता नै बनाइदियौँ सुरुमा । उनले क्लास लिए संविधान सभा भवनमा हाम्रा सभासद्हरुले रोबोर्टले जस्तो ताली बजाए । उनको कूटनीतिक चातुर्यता बुझ्न सक्ने कोही भएनौँ किनकि हामीलाई राष्ट्रभन्दामाथि आफ्नो कुर्सी र आफ्नो आफन्तको जागिरको चिन्ता छ । प्राकृतिक विपत्ति प¥यो । त्यही समयमा संविधान ल्याइयो दुई तिहाइभन्दा बढीको समर्थनमा । तराईका ठालुहरुलाई चित्त बुझेन । आन्दोलन भयो । यही मौका पारी मोदीकै पालामा नाकाबन्दी भयो । अब तिनै देवता मोदी दानव भए ।

गोपाल घिमिरे

आफ्ना कमजोरी र आफ्ना स्वार्थ के थिए ? त्यसको अध्ययन हाम्रा नेताबाट कहिल्यै भएन किनकि हाम्रा नेताको अवगुण र कमजोरी नै केही छैन । त्यसैले सबै दोष भारतको मात्र हो । उता जो मधेसका ठालुहरुका लागि भने मोदी देवता नै बनिरहे । त्यसकै प्रतिफल हो— प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नै प्रधानमन्त्रीलाई अगाडि राखेर आफ्नै संविधानका विरुद्ध मोदीसमक्ष असन्तुष्टी पोख्नु । उनलाई यतिसम्म हेक्का भएन कि त्यही संविधानलाई आत्मसात् गरेर हाफू मुख्य मन्त्री भएको । त्यति मात्र होइन प्रदेश दुईको विकासका लागि उनले भीख पनि मागे । चाणक्य नीति जानेका मोदीको चातुर्यताको उनले अलिकति पनि ख्याल गरेनन् । उता मोदीले जनकपुरमै केन्द्र सरकारसँग छलफल गरेर नेपाल र दुई नम्बर प्रदेशको विकासमा सहयोग गर्ने भनेर मन राखिदिए । उता सीमा विवादका कारण तिनै मधेसमा बस्ने नेपालीहरु भारतीयको दमनबाट कति पीडित छन्, त्यो लालबाबुलाई के मतलब ? अनि भारतले सीमाको दुई नम्बर प्रदेशलाई स्वर्गको टुक्रा बनाइदेला भन्ने सोच राख्नु कतिसम्मको अपरिपक्वता हो । एकातिर मधेसतिर बस्ने नेपालीलाई भारतले सहयोग गर्ला भन्ने भ्रम हुनु अर्कातिर पहाडतिर बस्ने नेपालीलाई चीनले सहयोग गर्ला भन्ने भ्रम हुनु नै नेपालको प्रमुख असफलता हो । हाम्रो समाज, हाम्रो गाउँ, हाम्रो जिल्ला अनि हाम्रो प्रदेश हामीले बनाउने हो भन्ने सोच कतै पाइन्न । सबै नेताको मनोविज्ञान नै यस्तै छ । नेताहरुकै कारण नागरिकमा पनि त्यही बुझाई सिञ्चित भएको छ ।
अहिले मोदीको भ्रमण सम्बन्धमा प्रतिनिधि सभा बैठकमा व्यापक अभिव्यक्ति आइरहेका छन् । सत्तापक्ष लम्पसार परिन भन्छ, प्रतिपक्ष महालम्पसार भन्छ । वास्तविकता परम्पराको निरन्तरता मात्र हो । जतिसुकै कुरा गरे पनि ठूलो माछाले सानो माछालाई खान्छ भने जस्तै । शक्तिशाली देशले कमजोर देशलाई आफ्नो अनुकूल बनाउन खोज्छ, खोज्छ । संसारलाई नियालौँ त निस्वार्थ कुन देशले कुन देशलाई सहयोग गरेको छ ? भारतले नेपाललाई आफू अनुकूल प्रयोग गर्न खोज्नु ऊ र उसका जनताका लागि ठीक होला । हाम्रा लागि सह्य हुँदैन, त्यसैले हामीले आफूलाई बुझौँ । हाम्रो गाउँ, हाम्रो जिल्ला, हाम्रो प्रदेश अनि हाम्रो देश हामीले बनाउने हो । न भारतले बनाइदिन्छ न चीनले । भारत र चीनसँग होस् या अन्य मुलुकसँग हामीलाई एक नेपाल नीतिको आवश्यकता छ । जसको सरकार बने पनि वैदेशिक नीति एउटै हुनु पर्ने आजको आवश्यकता र वास्तविकता हो ।

प्रकाशित समय १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु