गृहपृष्ठ म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ
म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ
काठमाडाैं- फुटबलमा म्याच फिक्सिङको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ६ जनालार्इ विशेष अदालतले सफाइ दिएको छ । राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा र विकाससिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई अदालतले सफाइ दिएको हो ।
विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले उनीहरूलार्इ बिहीबार सफाइ दिने फैसला गरेको हो । उनीहरूविरूद्ध २०७२ कात्तिक २२ गते राज्यविरुद्धको अपराध मुद्दा विशेष अदालतमा दर्ता भएको थियो ।
उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायतका राष्ट्रमा भएका प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको थियो । राष्ट्रिय टोलीका तत्कालीन कप्तानसहितका खेलाडीलार्इ विशेष अदालतले सफाइ दिए पनि उनीहरूको सामाजिक प्रतिष्ठामाथि लागेको धब्बाको क्षतिपूर्ति कसरी मिल्ला !
प्रकाशित समय १४:३२ बजे

















