गृहपृष्ठ व्ययभार पर्ने गरी सात महिनामै साढे ४२ अर्ब थप बजेट निकासा

व्ययभार पर्ने गरी सात महिनामै साढे ४२ अर्ब थप बजेट निकासा


काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको ७ महिनामा ४२ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ अर्थ विविध र रकमान्तर शीर्षकबाट थप बजेट निकासा गरेको छ । मन्त्रालयले ठूला राष्ट्रिय गौरवका आयोजनादेखि खुद्रे राजनीतिक स्वार्थका परियोजना, प्रतिनिधिमण्डल तथा विशिष्ठ व्यक्तिको भ्रमण, स्वागत खर्च, आर्थिक सहायता, भन्सार फिर्ता र भैपरी आउने साधारण प्रशासन खर्चलगायत शीर्षकमा यो रकम निकासा गरेको हो ।
देउवा सरकारले जाँदाजाँदै माघ महिनामात्रै करिब सवा पाँच अर्ब थप बजेट खर्च गरेर बाहिरिएको हो । सो रकममध्ये चार अर्ब ३१ करोड ५२ लाख रकमान्तर हो भने ५१ करोड ९५ लाख विविध शीर्षकमा थप निकासा भएको बजेट हो । अर्थले माघमा भैपरी आउने खर्च शीर्षकमा धेरै रकम निकासा गरेको छ । यस्तो खर्च राज्यको दायित्वभित्रै पर्ने हुनाले सरकारलाई नगरी सुख नभएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।
सो रकम बजेट वक्तव्य र रातो किताबमा नपरेका कार्यक्रमका लागि निकासा भएको हो । सबै मन्त्रालयलाई विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा आगामी वर्षको बजेट तथा कार्यक्रम समावेश गर्नुपर्ने व्यवस्था गरे पनि थप बजेट विनियोजन रोकिन सकेको छैन । अर्थ मन्त्रालयका अनुसार हाल पनि खर्बभन्दा बढी थप बजेट माग आएको छ । तर, सबै रकम दिन सकिने अवस्था छैन । सरकारले भेरी बबई ड्राइभर्सन बहुउद्देश्यीय आयोजनादेखि खुद्रे सडक तथा खानेपानी आयोजनामा राज्यलाई व्ययभार पर्ने गरी थप बजेट निकासा गरेको हो ।
देशमा संघीयता कार्यान्वयनसँगै भ्रमण खर्च ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्म भ्रमण, मण्डल भ्रमण तथा अन्य भ्रमणमा करिब सवा दुई अर्ब खर्च भएको छ । चालू आवको यो अवधिसम्म भ्रमणमा गरिएको खर्च गत आवको सोही अवधिकोभन्दा करिब चार गुणाले हो । सरकारले पुस महिनामामात्र पाँच अर्ब ७९ करोड ४१ लाख रुपैयाँ रकमान्तर र १० करोड ४० लाख रुपैयाँ थप बजेट गरी जम्मा पाँच अर्ब ८९ करोड ८१ लाख ५२ हजार रुपैयाँ थप बजेट निकासा गरेको हो । यो रकममध्ये गत महिना मात्र भ्रमणका लागि एक करोड ६ लाख रुपैयाँ खर्च गरिएको छ ।
२०७४ मंसिर २५ को मन्त्रिपरिषद्को निर्णयअनुसार अक्षयकुमार राना लक्ष्मीपुर –३, कञ्चनपुर समेतलाई गरी गृह मन्त्रालयको मागअनुसार अर्थले ८ करोड ५३ लाख रुपैयाँ आर्थिक सहयोग शीर्षकमा रकम निकासा गरेको छ । नेपाली सेनाको हवाई क्षमता अभिवृद्धि गर्न हेलिकोप्टर खरिदका लागि एक अर्ब ७० करोड रुपैयाँ रकमान्तर गरिएको छ । नेपाली सेनाको डबलवेस प्रोबेलेन्ट प्लान्ट खरिद गर्न साढे एक अर्ब रुपैयाँ निकासा भएको छ ।
बाढीपीडितलाई राहत अनुदानका एक अर्ब चार करोड रकम पठाइएको छ । कार्तिक महिनामा नेपाली सेनालाई सैनिक हवाई तालिमका लागि प्रयोग हुने ट्रेनी जहाज खरिद गर्न आठ करोड ५६ लाख रकम अर्थ विविध शीर्षकबाट निकासा भएको छ । लोकसेवा आयोगलाई परीक्षा सञ्चालन तथा यससम्बन्धी विभिन्न कार्य गर्न २० करोड, निर्वाचनमा खटिएका सैनिकलाई भत्ता उपलब्ध गराउन ३५ करोड, महानगरीय दंगा प्रहरी नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरका लागि अर्थबाट पुस महिनामा ३४ करोड ६५ लाख रकमान्तर भएको छ ।
अर्थ मन्त्रालयबाट सबैभन्दा बढी थप बजेट निकासा कात्तिक महिनामा भएको छ । कात्तिकमा १५ अर्ब ५४ करोड ४६ लाख रुपैयाँ बजेट निकासा भएको छ । यो रकममध्ये १५ अर्ब ३१ करोड रकमान्तर हो भने २३ करोड थप अर्थ विविध शीर्षकबाट निकासा भएको बजेट नीति तथा कार्यक्रमभित्र नपरेको रकम हो । अर्थ मन्त्रालयले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने ९८ हजार दुई सय ६८ म्यादी प्रहरीको ५५ दिनको तलब, भत्ता, पोसाक, खाद्यान्न तथा तालिम समेतका लागि पाँच अर्ब २१ करोड पाँच लाख रुपैयाँ भैपरी आउने–साधारण प्रशासन खर्च शीर्षकमा निकासा गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।
निर्वाचन आयोगलार्ई निर्वाचन कार्यक्रम तय गरी कानुन बमोजिम खर्च गर्न कात्तिक महिनामा पाँच अर्ब निकासा भएको छ । कात्तिकमा आठ सय ७८ जना व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउन आठ करोड ६२ लाख रकम निकासा भएको छ । यसरी नै अर्को शीर्षकमा गृहको मागअनुसार तीन सय १० जनालाई चार करोड ५७ लाख ५० हजार आर्थिक सहायता उपलब्ध गराइएको छ । स्व.सञ्जय पण्डितको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन युवा तथा खेलकुद मन्त्रालयलाई १० लाख खर्चिएको छ ।
कात्तिक महिनामा पाँच करोडभन्दा बढी रकम प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागतमा खर्च भएको छ । अर्थ मन्त्रायलबाट मंसिरमा अर्थ विविध र रकमान्तर गरी दुई अर्ब २४ करोड ३७ लाख निकासा भएको छ । यो रकमध्ये दुई अर्ब २४ करोड ३७ लाख भैपरी आउने खर्च शीर्षकअन्तर्गतको मन्त्रालयगत रकमान्तर हो भने नौ करोड ३८ लाख थप बजेट निकासा हो । असोज महिनामा अर्थबाट जम्मा ५७ करोड आठ लाख रकम रकमान्तर भएको छ भने १० करोड ७९ लाख थप बजेट गरी ६७ करोड ८८ लाख रुपैयाँमात्र थप बजेट निकासा भएको छ ।
भदौमा पनि ६ अर्ब ५७ करोड थप बजेट निकासा भएकोमा ६ अर्ब ४७ करोड रकमान्तर र १० करोड विविध थप खर्चका लागि निकासा भएको हो । साउनमा ६ अर्ब ४९ करोड ८१ लाख बजेटमा उल्लेख गरिएभन्दा फरक शीर्षकबाट बजेट निकासा भएको छ । साउनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई संयुक्तराज्य अमेरिकामा उपचार गर्दा लागेको रकम भुक्तान गर्न ५० लाख निकासा भएको छ । सरकारले जतिसुकै खर्चमा मितव्ययिता अपनाउँछु भने पनि हालसम्म गरेको खर्चले मितव्ययिताको धर्जी उडाएको देखिन्छ ।

प्रकाशित समय १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु