गृहपृष्ठ सरकारको चिन्तनशैली गलत छ, सडकदेखि सदनसम्म धक्का दिनुपर्छ : पौडेल

सरकारको चिन्तनशैली गलत छ, सडकदेखि सदनसम्म धक्का दिनुपर्छ : पौडेल

लाेकतान्त्रिक संस्कृति बाेकेकाे कांग्रेस धर्मछाडा हुनु भएन

ramchandra-newskarobar

 

रामचन्द्र पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता हुन् । उपप्रधानमन्त्री, सभामुख, पटक–पटक मन्त्री भएका पौडेल कांग्रेस राजनीतिमा महामन्त्री र उपसभापतिसम्म भए पनि सरकार र पार्टी दुबैकाे नेतृत्व लिन पाएका छैनन् । सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाए पनि १३ औं महाधिवेशनमार्फत ‘कार्यवाहक’ हटाउने उनकाे अाकांक्षा पूरा हुन सकेन । अझै पनि पार्टी सभापति र मुलुकको नेतृत्व गर्ने अाशा मारिनसकेका पाैडेलसँग कांग्रेसको अबको यात्रा, सरकारको गतिविधि र आन्तरिक लोकतन्त्रबारे रघुनाथ बजगाँईले गरेको कुराकानी :

 

कांग्रेसको नजरमा कम्युनिस्ट सरकारको गति कस्तो छ ?

पहिलो कुरो, सरकारले लोकतन्त्रलाई मानेकै छैन । कम्युनिस्टहरुको चिन्तन शैली गलत छ । विगतमा पनि त्यस्तै थियो अहिले झन् मौलाएको छ । उहाँहरु मान्छेको बाँच्ने अधिकारमा समेत पक्षपात गर्नुहुन्छ । पक्षपाती चरित्रअनुसारको कामकारबाहीका लक्षणहरु प्रशस्त देखिएका छन् । विगतमा भएका संवैधानिक निर्णय बदर गर्ने कार्य भएका छन् । यस्ता गतीविधि लोकतान्त्रिक सरकारले गर्दैन । यसबाट सरकारले देशमा ठूलो विभाजन ल्याउने काम गर्यो । मुलुक चलाउन सहिष्णुता चाहिन्छ, उदारता चाहिन्छ । उदारता र सहिष्णुता बिनाको सरकारले राष्ट्रलाई ठीक बाटोमा लान सक्दैन ।

अर्को कुरा, गफ धेरै गर्ने, काम नगर्ने प्रवृत्तिले जनता हैरान छन् । ग्रामीण सडकको के हाल छ थाहा छैन । पानीजहाज र रेलका कुरा गरेर हुन्छ ? बाटामो चिप्लेर नागरिकको ज्यान गइरहेको छ । त्यतापट्टि पो ध्यान दिनुपर्छ । गाउँमा सुविधा पुर्याएर उत्पादन बढाउने र रोजगारीका अवसर प्रदान गर्ने गर्नुपर्छ । पर्यटनलाई बढावा दिने, आम्दानीका स्रोत खोज्ने, समाजवाद त्यो हो नि ! यस्तो समाजवादतिर सरकारको चिन्तन छैन । स्वास्थ्यका कुरा गर्नुहुन्छ भने नाफाखोरहरुलाई अस्पताल खोल्न दिने तयारी हुँदैछ । त्यसकारण सरकारका गतिविधि कतै पनि सन्तोषजनक छैनन् ।

प्रतिपक्षमा बसेको कांग्रेसले पनि संसदीय समिति गठनलगायत राजनीतिक नियुक्तिहरूमा भाग खोजेको आरोप छ, कांग्रेस कहाँ जिम्मेवार देखियो र ?

पछिल्लो २-४ दिनको घटना हेरेर हुँदैन । संसदीय समिति गठनका लागि अहिलेसम्म सरकार के हेरेर बसेको ? यो विषय अगाडि बढेपछि कांग्रेसले के आधारले बनाउने, कसलाई कुन हैसियतमा संख्याको जिम्मेवारी दिने भन्ने विषयमा मापदण्ड बनाउनुपर्छ भनेको हो । यसलाई कांग्रेसले अड्को थाप्यो भनेर हौवा पिटेर समस्याको समाधान हुँदैन । संसदीय समिति गठनमा उहाँहरुले नै ढिला गर्नुभएको हो । प्रतिपक्षी दलको पनि भूमिका हुन्छ नहुने होइन तर पहल त सरकारले गर्ने हो । अहिले पनि हामीले प्रतिपक्षी दलको हैसियतअनुसार संसदीय समितिमा जिम्मेवारी दिनुपर्छ भनेको छौं । यसलाई अन्यथा लिनु हुँदैन । भाग खोजेको भन्न मिल्दैन ।

ramchandra-newskarobar

प्रतिपक्षीय भूमीका प्रभावकारी नभएपछि सरकारको स्वेच्छाचारिता बढ्छ नै । यो कांग्रेसले बुझ्न नसकेको कि अन्तरविरोधमा रुमल्लिएको ?

हामी प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउन प्रयासरत छौं । यो कांग्रेसले नबुझेको होइन । प्रतिपक्षी भन्नेबित्तिकै तोडफोड र बन्द हड्ताल गर्नुपर्छ भन्ने त होइन नि ! विगतमा कम्युनिस्टहरुले त्यसै गर्थे । अहिले कांग्रेसले लोकतान्त्रिक विधिबाटै समस्याको समाधान गर्नुपर्छ भन्दा प्रतिपक्षीय भूमिका निभाएन भन्ने होइन । सदनमा आफ्नो कुरा राखेका छौं । सडकबाट पनि सांकेतिक विरोध भएकै छ । जनतालाई सरकारले गरेका गलत कार्यबारे जानकारी गराएका छौं । यही हो प्रतिपक्षीय भूमिका ।

पार्टीले गरेका काम र उसको व्यवहारलाई हेरेर जनताले भोट दिने कुरामा हामी विश्वास गर्छौं । जनताले टेस्ट गर्नका लागि पनि मत दिएका वा नदिएका हुन्छन् । त्यसको समीक्षा गर्न सक्नुपर्छ । जनताले पार्टीहरुको समीक्षा गरिरहेकै छन् ।

कांग्रेसभित्र आन्तरिक लोकतन्त्र भद्रगोल हुँदा अलि बढि समस्या भएको हो ?

त्यो पनि सल्ट्याउँदै छौं । पार्टीमा लोकतान्त्रिक अभ्यास चलिरहन्छ । केहि दिनअगाडि मात्रै पनि हामी छलफलमा जुट्यौं । शीर्ष तहको छलफलमा मैले यो विषय उठाएको हुँ । सभापतिले पनि आफ्नो कुरा राख्नुभयो । संसदमा यसरी प्रस्तुत हुनुपर्यो । भ्रातृ संस्था यसरी चलाउनुपर्यो । शुभेच्छुक संस्थामा यसरी जानुपर्यो । पार्टीभित्र पनि कहाँ के भइराखेको छ । त्यो जान्नुपर्यो । पार्टीको कामकारबाही, कार्यशैली सुध्रिनुपर्यो र लोकतान्त्रिक चरित्र हुनुपर्याे ।

भ्रातृ संस्थाहरूको निर्माण कुन उद्देश्य र औचित्यको आधारमा भएको हो, त्यही अनुरुप चल्नेगरी तिनको पुनःसंरचना गरी क्रियाशील गराउनुपर्छ । पार्टीले निर्वाचन र अधिवेशनमा जारी गरेका घोषणाअनुरूप कार्यक्रम लागू गर्दै जानुपर्छ । लागू गर्न सरकारलाई दबाब दिने र जनतालाई भन्ने हाम्रो कर्तव्य हो । स्थानीय तह र प्रदेश तहका कामकारबाही, बजेट परिचालन, विकास निर्माण र सञ्चालन जस्ता हरेक कार्यमा पार्टी कार्यकर्तालाई सचेत र सजग रही खबरदारी गर्न सक्रिय तुल्याउनुपर्छ । जनतालाई सचेत गराउने र आवश्यकताअनुसार संघर्ष गर्नुपर्छ ।

सत्ता गठबन्धनका पार्टीबीच एकीकरण भइसकेपछि पनि अलग-अलग पार्टीका व्यक्ति रहनुपर्ने संवैधानिक निकायमा दुवै आफ्नै मान्छे राख्ने प्रपञ्चको विरोध र भण्डाफोर गर्नुपर्छ । संविधानले प्रदान गरेका मौलिक अधिकार तथा अन्य अधिकार जनताले उपयोग गर्न पाए, पाएनन् निरन्तर लेखाजोखा गनुपर्छ । यी सबै कुरा हामीले भनिराख्या छौं ।

जनतालाई आफ्नो पक्षमा पार्न तिनको मन जितेर जनतालाई प्रभाव पारी शक्ति सञ्चय गर्दै अघि बढ्नुबाहेक हामीसँग अरू उपाय छैन ।

कांग्रेसभित्र संस्थापन जहिले पनि माथि र अर्को पक्ष तल परिराख्नुपर्ने चरित्रबाट अहिले तपाईंको खेमा कत्तिको पीडित छ ?

मिलाएर जाने, समझदारी कायम गर्ने कुरा हो । त्यो परम्परालाई अहिलेका सभापतिले कुल्चिनुभएको छ । यसकारण यो समस्या आएको हो । मैले चुनावका बेला सभापतिको एकलौटीको विरोधमात्र गरिन नि ! कत्ति कुरा चित्त नबुझ्दा नबुझ्दै पनि देशका भिभिन्न भागमा उहाँसँगै चुनावी प्रचारमा गएको हुँ । पार्टीलाई पर्दा आफूलाई मात्र हेर्नु हुँदैन भन्ने सोचेर अगाडि बढेँ । भित्र जे जस्तो भए पनि बाहिर त्यो प्रकट गरेर लान हुन्न भनेर पार्टीलाई सफल पार्न लागियो । अहिले पनि मैले भन्ने गरेको छु, सदनदेखि सडकसम्म पार्टीलाई जगाएर लानुपर्छ । सत्तालाई धक्का दिनुपर्छ ।

कांग्रेसले चुनावी समीक्षा त गर्याे तर नेतृत्वले नैतिक जिम्मेवारी लिन किन नसकेको ?

त्यसैले त असजिलो वातावरण बनेको छ । उहाँले चुनावी परिणामलाई सहजै स्वीकार्न सक्नुपर्थ्याे। जिम्मेवारी लिएपछि बहन गर्नुपर्छ । नैतिक जिम्मेवारी लिने असल लोकतान्त्रिक अभ्यास नै हो । त्यसो हुन सकेको भए पार्टीको कामकारबाही अगाडि बढाउन अलि बढि सजिलो हुन्थ्यो । यसले पनि अलिकति समस्या उत्पन्न भएकै हो । तर, समस्यामात्रै बोकेर कति बस्ने भनेर म आफैँ अग्रसर भएर छलफल अगाडि बढाएको छु । आन्तरिक र बाह्य लोकतन्त्रका लागि कांग्रेस फेरि जाग्नुपर्ने भएको छ । त्यसका लागि हामीले आफैँलाई समीक्षा गर्नुपर्छ । पार्टीका लागि, लोकतन्त्रका लागि, राष्ट्रका लागि पर्दाखेरि त गर्नुपर्छ ।

जतिसक्दो चाँडो पार्टीभित्रको आन्तरिक कुरालाई टुङ्ग्यायो उति सजिलो हुने हो । अब त्यतातिर नलागेर ‘लिङ्गरिङ’ गर्दै जाने हो भने पार्टीमाथि ठूलो अहित हुन्छ ।

मेरै अग्रसरतामा नयाँ बहस हुन थाल्यो र अहिलेको मोडमा आइपुगेको हो । जनतालाई आफ्नो पक्षमा पार्न तिनको मन जितेर जनतालाई प्रभाव पारी शक्ति सञ्चय गर्दै अघि बढ्नबाहेक हामीसँग अरू उपाय छैन । जनतामा आकर्षण र जनविश्वास आर्जन गर्न कांग्रेसले कस्तो छवि, कस्तो आचरण, कस्तो नैतिक चरित्र प्रदर्शन गर्ने भन्ने बुझ्नुपर्छ ।

विशेष महाधिवेशनको कुरा तपाईंकै खेमाले जोडदार रुपमा उठायो तर यो विषय किन सेलायो ?

कमसेकम महाधिवेशनमा चार वर्षका लागि भनेर कार्यकाल तोकिएको छ । अब यसलाई बढाउने खेल नहोस् भन्नेतिर हाम्रो ध्यान गएको छ । यसमा तलमाथि दायाँबायाँ नगरी अहिलेदेखि योजना बनाएर अघि बढ्नुपर्छ । त्यो भएन भने पार्टीमा द्वन्द्व बढ्छ ।

मूल कुरा कांग्रेसले अर्को चुनावको सामना गर्नुपर्नेछ, तल स्थानीय तहदेखि लिएर माथि संसदसम्मको निर्वाचन । यो निर्वाचनमा हाम्रो हविगत ठिक भएन । त्यसलाई सुधार गर्नुपर्छ । त्यसको तयारीमा अहिल्यैदेखि लाग्नुपर्छ । जतिसक्दो चाँडो पार्टीभित्रको आन्तरिक कुरालाई टुङ्ग्यायो उति सजिलो हुने हो । अब त्यतातिर नलागेर ‘लिङ्गरिङ’ गर्दै जाने हो भने त पार्टीमाथि ठूलो अहित हुन्छ । सभापतिले यो कुरा बुझ्नुपर्छ ।

Ram chandra Poudel (10)

कांग्रेस जनताको आशाको केन्द्र बन्न कांग्रेसलाई आफ्नो राजनीतिक आस्थामा, आफ्नो संस्कारमा, आफ्नो संस्कृति र मूल्य-मान्यतामा हिँडाउने काम गर्नुपर्छ । यसलाई आफ्नै आचरणमा हिँडाउनुपर्छ । कांग्रेसको संस्कृति भनेको लोकतान्त्रिक संस्कृति हो । त्यसैले धर्मछाडा कांग्रेस हुनुभएन, आफ्नो संस्कार, संस्कृति र आचरण विमुख हुनु भएन । त्यसका लागि समयमै महाधिवेशन हुनुपर्छ भनेको हो । कहिँकतैबाट पार्टीलाई धोका दिन पाइँदैन । पार्टीको अहित गर्ने अधिकार कसैलाई छैन ।

अघिल्लो पटक सभापतिमा पराजित हुनुभयो फेरि उठ्ने सम्भावना छ ?

अहिल्यै भन्न मिल्दैन । तर, राजनीतिमा अभ्यास त भइराख्छ । अहिले नै को उठ्ने नउठ्ने भन्न मिल्दैन र हुँदैन । पार गर्दै जाउँ । त्यतिखेरको आवश्यकता के हुन्छ ? आवश्यकताअनुसार पार्टीमा मूल्याङ्कन हुन्छ । पार्टीको आवश्यकताअनुसार जो कोही पनि अगाडि सर्नुपर्ने हुनसक्छ ।

पार्टीको आवश्यकता, पार्टीको हितका लागि जिम्मेवारी लिनैपर्ने अवस्था आयो भने तयार हुनुपर्छ । प्रजातन्त्र, लोकतन्त्र र देशको आवश्यकताअनुसार आफूले योगदान दिने हो ।

(तस्बिर : सुनिल प्रधान)

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु