गृहपृष्ठ डा. केसीका प्रतिनिधि भन्छन् – सरकार सम्पर्कविहीन भयाे
डा. केसीका प्रतिनिधि भन्छन् – सरकार सम्पर्कविहीन भयाे
वार्ता गर्छौं तर कहिले भन्ने निर्णय भइसकेको छैन : शिक्षामन्त्री पोखरेल
अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीचको वार्ता अनिश्चित भएको छ । सरकारले वार्ता गर्न पहल नगरेपछि वार्ताको मिति र माग संबोधन सम्बन्धमा अन्यौलता बढेको छ ।
सरकारी पक्षले वार्ताको लागि पहल नगरेको केसी पक्षको आरोप छ । जुम्लामा अनसन बसेका डा. केसीलाई बिहिबार सरकारले काठमाडौं ल्याएको थियो । काठमाडौं ल्याएर वार्ताको कुनै पहल नगरेको केसी पक्षको आरोप छ ।
वार्तामा सरकारले चासो नदिएको केसी पक्षका वार्ता टोलीका सदस्य जीवन क्षेत्रीले बताए । ‘हामी तयार छौं तर सरकार सम्पर्कविहीन छ,’ क्षेत्रीले न्यूज कारोबारसँग भने । उनले सरकारीले टोलीले बोलाए जुनबेला पनि वार्तामा बस्न तयार बताए ।
थप वार्ताबारे छलफल गर्ने भनिएपनि सरकारले तयारी नगरेको सरकारी पक्षको भनाई छ । ‘वार्ता गर्छौं तर कहिले भन्ने निर्णय भइसकेको छैन,’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराज मणि पोखरेलले न्यूज कारोबारसँग भने ।
यसअघि वार्ता ३ पटक भएको थियो । ति केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको थियो । तर सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो । त्यसपछि डा. केसी पक्षले अधिकारसम्पन्न अर्काे वार्ता टोली गठनको माग गरेका थिए ।
अहिले सरकारी वार्ता टोलीमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल संयोजक छन् । सरकारले बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
डा. केसीे १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था गर्न चाहन्छन् । त्यसका लागि संसदमा दर्ता भएको चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने केसीको माग छ ।
प्रकाशित समय १७:०३ बजे

















