गृहपृष्ठ मुआब्जा विवादमा तामाकोसी पाँचौं जलविद्युत् आयोजना
मुआब्जा विवादमा तामाकोसी पाँचौं जलविद्युत् आयोजना
दोलखा- नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ९५ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत् आयोजना मुआब्जा विवादमै अड्किएको छ । जिल्ला दररेट निर्धारण समितिले तोकेको जग्गाको मूल्य विभेदपूर्ण भएको भन्दै स्थानीयले मुआब्जा बुझ्न नमानेपछि आयोजना प्रारम्भिक चरणमै उल्झनमा परेको हो ।
दोलखाको बिगु गाउँपालिका–४, सुरिटारमा निर्माण हुन लागेको आयोजनाका लागि ५८ परिवारको ५५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ । सुरिटारबासीले जग्गाको पुनः मूल्य निर्धारण गर्न आग्रह गर्दै आएका छन् । जग्गाधनी शान्त केसीले सिडिओ र आयोजना व्यवस्थापनलाई जग्गाको पुनः मूल्यांकनका लागि आग्रह गरे पनि बेवास्ता भएको दुखेसो गरे ।
मूल्य निर्धारण समितिका संयोजक एवं दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जग्गाको पुनःमूल्यांकन गर्न नमिल्ने बताए । ‘गहन अध्ययन गरेर जग्गाको मूल्य टुंगो लगाइएको हो,’ उनले भने, ‘त्यस क्षेत्रको भूगोलअनुसार नै मूल्य निर्धारण गरिएकाले पुनः मूल्यांकन गर्न सकिँदैन ।’
मूल्य निर्धारण समितिले सिंगटी–भोर्ले–तामाकोसी सडकले छोएको भागको २५ मिटर पछाडिसम्मको जग्गाको मूल्य प्रतिरोपनी सात लाख ४८ हजार र सडकले नछोएको जग्गाको मूल्य तीन लाख ७४ हजार रूपैयाँ तोकेको छ । आयोजना प्रमुख नसिबमान प्रधानले पटक–पटक आग्रह गर्दा पनि स्थानीय बासिन्दाले तोकिएको मूल्यमा जग्गा दिन नमानेको बताए ।
प्रकाशित समय १३:५६ बजे

















