गृहपृष्ठ रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण सुरु

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण सुरु

टिमुरे बजार

नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण सुरु भएको छ ।

वैदेशिक व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले बन्दरगाहको निर्माण सुरु भएको हो । निर्माण थालेको साढे दुई वर्ष (३० महिना) मा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बन्दरगाह निर्माणको जिम्मा तिब्बेत फुली कन्ट्रक्सन ग्रुप कम्पनीले पाएको छ । कम्पनी र नेपाल इन्टरमोडेल यातायात विकास समितिबीच २९ वैशाख २०७६ मा सुक्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

करिब १२ करोड ४० लाख चिनियाँ युआन (करिब २ अर्ब रुपैयाँ) लागतमा सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । यसका लागि चीन सरकारले आर्थिक सहयोग गरेको छ । ८ दशमलब ५ हेक्टर क्षेत्रफलमा बन्ने बन्दरगाहमा मुख्य भवनसहित भन्सार, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षा निकायका कार्यालय रहनेछन् । यहाँ एकै पटक तीन सयभन्दा बढी ट्रक-कन्टेनर राख्न सक्ने पार्किङ बनाइनेछ ।

‘चीनसँगको व्यापार विस्तारका लागि रसुवा अहिले सरकारको प्राथमिकतामा परेको छ,’ नेपाल इन्टरमोडेल यातायात विकास समितिका प्राविधिक इन्जिनियर प्रमोद आचार्यले भने, ‘चीन सरकारको सहयोगअन्तर्गत टिमुरे गाउँमुनि भोटेकोशी नदीको तटीय क्षेत्र र आसपासका भिरालो कान्ला जमिनसमेत उपभोग गरी ३५० वटा मालबाहक कन्टेनर अट्ने क्षमताको सुक्खा बन्दरगाह निर्माण कार्य सुरु भएको हो ।’

यही मंसिर ५ गतेदेखि तीव्र रूपमा काम अगाडि बढिसकेको उनले बताए । गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेको आधार इलाकामा सुक्खा बन्दरगाहमा ढलानवाला मैदान तयारी गर्ने र सामान परीक्षण गर्ने स्थलको नजिक पाँच हजार वर्गमिटर क्षेत्रफलमा पाँचतले भवन, २ हजार ८० वर्गमिटर क्षेत्रफलमा सामान जाँचपास केन्द्र र ७५० वर्गमिटर भूभागमा सामान भण्डारणको गोदामसमेत संरचना निर्माण हुने बताइएको छ ।

सुक्खा बन्दरगाह भोटेकोशीको तटीय क्षेत्रमा भएकाले वर्षायामको पानीको बहाव व्यवस्थापन गर्न पानी एकत्रितका लागि नदीको डिलमा पूरै मेसिनरी पर्खाल लगाइने डिजाइन भएको इन्जिनयर आचार्यले जानकारी दिए । निर्माण कार्य सम्पन्न गर्न आवश्यक मेसिनरी उपकरणसहित ३२ चिनियाँ नागरिक संलग्न रहेको नेपाली प्राविधिकले बताएका छन् ।

नेपाल इन्टरमोडल बोर्डको जिम्मेवारी भने सुक्खा बन्दगाह निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई निर्वाध रूपले काम गर्ने वातावरण बनाउन सघाउने, चिनियाँ नागरिक कामदारको भिसा थप गर्न सहयोग गर्ने र निर्माणमा आइपर्ने विविध समस्या समाधानमा सहजीकरण गर्नेलगायत जिम्मेवारी समितिले पाएको इन्जिनियर आचार्यले जानकारी दिए । (रासस)

प्रकाशित समय १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु