गृहपृष्ठ नेपालगन्ज उपमहानगरपालिकाका अठार प्रतिशत घरधुरीमा ट्युवेल

नेपालगन्ज उपमहानगरपालिकाका अठार प्रतिशत घरधुरीमा ट्युवेल

नेपालगन्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले मात्रै ट्युवेलको खानेपानी प्रयोग गर्ने गरेका छन् । उपमहानगर क्षेत्रमा २८ हजार घरधुरी रहेकामा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको नेपाल खानेपानी संस्थान नेपालगन्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार साविकको नेपालगन्ज नगरपालिकाका-१७ वडा, कारकाँदो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग गर्छन् । नेपालगन्ज उपमहानगरपालिका भएसँगै अहिले २३ वडा रहेका छन् । सरकारले अघि सारेको एक घर एक धाराको नीति कार्यान्वयनको लागि संस्थानले आवश्यक कार्य सुरु गरेको छ ।

उपमहानगरपालिकाका २३ वटै वडामा खानेपानी वितरणको प्रक्रिया अगाडि बढाएको संस्थानका प्रमुख भट्टको भनाइ छ । नेपालगन्जमा अहिले दैनिक १ हजार ५ लाख लिटर पानी उत्पादन भइरहेको छ ।

संस्थानले चार वटा ट्युवेलबाट पानी निकालेर वितरण गरिरहेको छ । अरू दुई वटा ट्युवेल सञ्चालनको तयारीमा रहेका छन् । नेपालगन्जमा दैनिक कम्तीमा ३० लाख लिटर पानी चाहिने अनुमान संस्थानको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा पानीको बढ्दो मागलाई पूर्ति गर्न खानेपानी संस्थानले राप्ती नदीबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको छ । सहरवासीलाई खानेपानी अभाव हुन नदिन नेपालगन्जमै केही ठाउँमा बोरिङ गाड्नका लागि खन्दा पानी नै नआएपछि संस्थानले राप्ती नदीबाट पानी नेपालगन्ज ल्याउने योजना बनाएको संस्थानका प्रमुख भट्टको भनाइ छ ।

उनका अनुसार राप्ती नदीको पानी पाइपमार्फत नेपालगन्ज ल्याएपछि पानीको कुनै समस्या हुँदैन । त्यसका लागि राप्तीमा इनटेक बनाउनुपर्ने, पम्प हाउस, गार्डहाउस, जेनेरेटर, पम्पमोटर, पाइप फिटिङ, ट्रान्सफर्मर, थ्रीफेज लाइनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

संस्थानले नदी किनारमा समवेल राखेर पानी संकलन गर्ने र पाइपबाट नेपालगन्जसम्म ल्याउने प्रक्रिया थालेको हो । नदी किनारमा जम्मा गरिएको पानी पाइपमार्फत नहरपूर्वा हुँदै विभिन्न तीन ठाउँबाट नेपालगन्जमा झारिने संस्थानका प्रमुख  भट्टले जानकारी दिए । पाइपलाइन विस्तारको बोलपत्र भइसकेको छ ।

हिराचन मल्ल जेभीसँग २ करोड ५७ लाख रुपैयाँमा पाइपलाइन बिछ्याउने सम्झौता गरेको छ । समवेलका लागि भट्टराई कन्ट्रक्सनसँग ५७ लाख २४ हजार रुपैयाँमा सम्झौता भएको छ । पाइपलाइन बिछ्याउँदा कालोपत्रे सडक काट्नुपर्ने भएकाले संस्थान अहिले सम्बद्ध निकायसँग अनुमति लिने कार्यमा रहेको छ । संस्थानले आगामी दुई वर्षमा राप्ती नदीको पानी नेपालगन्जमा वितरण गर्ने जनाएको छ । (रासस)

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु