गृहपृष्ठ मध्यरातमा करूण क्रन्दन

मध्यरातमा करूण क्रन्दन

ranjan-sigdel-newskarobar

शुक्रबार राति साढे १२ बजे गहिरो निद्रामा सुतेका हामीलाई एउटी महिलाको जस्तो सुनिने करूण क्रन्दनले ब्युँझायो । ‘मरेँ’, ‘आमा’, ‘ऐया नि’ जस्ता हृदयविदारक ध्वनि मध्यरातमा सुनेर ब्युँझिनु पर्दा कसको मन थामिन सक्छ ? म, मेरो परिवार हतारिँदै के पो भएछ भन्दै त्यस आवाज अएको ठाउँतिर दगुर्‍यौं । अन्य केही छिमेकी पनि आइपुगे । दुईजना वयष्क युवाले चारजना कलिला १४-१५ वर्षका जस्ता किशोर-किशोरीलाई पालैपालो निर्घात कुटिरहेका थिए । आफूलाई प्रहरी बताइरहेका साधारण पोसाकमा रहेका ती युवाले तिनलाई ‘मोबाइल चोर’ भनिरहेका थिए । तीनवटा मोबाइल फोन र एउटा ट्याब्लेड तिनको हातमा थियो । ती चार जनामध्ये तीन किशोर र एउटी किशोरी थिइन् । तिनले आफूले गरेको चोरी स्वीकार गरिरहेका थिए । दुई प्रहरीमध्ये एकजना अलिक सौम्य देखिन्थे भने अर्का अलिक उग्र । तिनले ती चोरी स्विकारेका किशोरीलाई व्यक्तिगत दुस्मनी भए जसरी कुट्दै थिए । ‘अब भयो, जे कारबाही गरे पनि यिनलाई प्रहरी कार्यालयमा लगेर गर्नुहोस्, बाटोमा यसरी नपिट्नुहोस्’ भनेर हामीले अनुरोध गरेपछि ती अलिक सौम्य देखिने प्रहरीले पुलिस भ्यान बोलाए । प्रहरी कार्यालयमा जताततै सिसिटिभी रहेको र त्यसरी कुट्न नपाइने हुनाले ती चोरलाई यहीँ कुट्नुपर्छ भन्दै त्यो भ्यान नआउन्जेल करिब २०-२५ मिनेटसम्म ती प्रहरीले कुटी नै रहे ।

प्रहरी अत्याचारी नै हुन् त !

यो विवरणको आशय प्रहरीले निर्घात कुट्छन् । अमानवीय व्यवहार मात्र गर्छन् भन्ने होइन अथवा जम्मै प्रहरी त्यस्तै आततायी हुन्छन् भन्ने होइन । हामी सर्वसाधारणकै जिउधनको सुरक्षाका लागि दिनरात र झरीघाम नभनी मेसिनझैँ प्रहरी गतिमान् हुन्छन् । अफ्नो ज्यान सधैँ हत्केला राखेर हिँड्छन् ।  वैयक्तिक जीवनका सुखसुविधा, चाडपर्व त्यागेर चोर, बदमास र अपराधीलाई खोजी गर्दै हिँड्ने प्रहरी महान् हुन् । यसै घटनामा पनि प्रहरी आफ्नो घरमा आनन्दसँग सुतेर गस्ती गर्न नहिँडेको भए ती चोर बालबालिका मध्यरातमा पक्रिइने थिएनन् । तिनलाई हामीले धन्यवाद दिनैपर्छ ।

यातना कि सुधार ?

मानिस विवेकशील प्राणी हो । परिस्थितिवश ऊ अपराधमा संलग्न भए पनि ऊ सधैं अपराधी बनिरहन पक्कै पनि चाहँदैन । उसलाई उचित परामर्श र सहयोगमार्फत सकारात्मक मार्गतर्फ डोर्‍याउन सकिन्छ । केही अपवाद भने हुन सक्छ । बालबालिका त झन् काँचो माटो हुन् । जस्तो बनायो त्यस्तै बन्ने हुन् । साधारण चोरीमा पनि तिनलाई अपराधीसरह कुटेर भोलिका लागि प्रतिरोधी अपराधी बनाउने हो कि माया, स्नेह, उचित परामर्श र सहयोग गर्दै गलत काम गर्न निरूत्साहित गर्ने ? विद्यालयमा ८–९ कक्षामा पढ्ने उमेरका बालबालिकालाई चोर बन्न बाध्य पार्ने परिस्थितिको विश्लेषण गर्दै त्यसको निराकरणतर्फ लाग्ने कि कुटेरै ठिक पार्न सकिन्छ भन्ने पुरातन पाशविक मानसिकता बोकिरहने ? कुटेर पशुलाई त तह लगाउन सकिएला तर मानिसलाई सकिँदैन भन्ने कुरा हामी जम्मैलाई थाहा छ । कुकर्मतिर लाग्नेलाई डर देखाउन त पर्छ । कति डर देखाउने भन्नेचाहिँ विवेक प्रयोग गर्नुपर्छ । बा–आमाको संरक्षकत्वमा रहन चाहने, शारीरिक र संवेगात्मक परिपक्वता नभइसकेका बालबालिकालाई निर्घात कुटेर तिनको मानसिकतामा कस्तो असर पर्छ भन्ने कुरा प्रहरी सेवामा कार्यरत माथिल्ला स्तरका हाकिम सा’बहरूलाई त थाहा होला तर नवप्रवेशी वा अल्पपठित जवानहरूलाई थाहा नहुन सक्छ ।

यातनाविरूद्ध अन्तर्राष्ट्रिय महासन्धि

यातनालाई अमानवीय भन्दै मानवअधिकारसम्बन्धी रहेका विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा कानुनहरूले सबै किसिमको  यसलाई दण्डनीय बनाउन प्रयास गरेका छन् । यातनाविरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिमा नेपालले १४ मे १९९१ मा हस्ताक्षर गरेको छ । त्यस महासन्धिमा गरिएका व्यवस्थामध्ये धारा २ र ४  मा निम्न कुरा लेखिएको छ ।

२.१  हरेक राष्ट्रले अफ्नो अधिकार क्षेत्रभित्रका स्थानमा यातना हुन नदिनका लागि प्रभावकारी कानुनी, प्रशासनिक तथा न्यायिक उपायहरू अवलम्बन गर्नुपर्नेछ ।

२.२ जतिसुकै विशिष्ट परिस्थिति, युद्धको अवस्था, युद्धको धम्की, अन्तरिक राजनीतिक अस्थिरता वा अन्य कुनै आम संकट भए पनि तिनलाई हवाला दिँदै यातनालाई पुष्टि गर्न पाइने छैन ।

२.३ आफूभन्दा माथिल्लो तहको अधिकारीका आदेशलाई आधार मान्दै यातना रूपमा पुष्टि गर्न पाइने छैन ।

४.१ हरेक पक्षराष्ट्रले सबै प्रकारका यातनालाई अपराध कानुनअन्तर्गत दण्डनीय रहेको सुनिश्चित गर्नुपर्नेछ । यातना दिन प्रयास गर्ने वा यातनामा मतियार वा सहभागी व्यक्तिलाई पनि यही लागू हुनेछ ।

४.२ अपराधको गम्भीरतालाई ध्यान दिँदै हरेक पक्ष राष्ट्रले कानुन बनाई यी अपराधलाई दण्डनीय बनाउनुपर्नेछ ।

नेपालको संविधान २०७२ को धारा २२ को ‘१’ र ‘२’ उपधारामा यातनाविरूद्धको हक यसरी उल्लेख गरिएको छ ।

१. पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन ।

२. उपधारा १ बमोजिमको कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र त्यस्तो व्यवहारबाट पीडित व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

बालबालिकासम्बन्धी ऐन २०७५ को बालन्यायसम्बन्धी परिच्छेद ४ भएको व्यवस्था

दफा २१

१. कसुजन्य कार्यको सूचना प्राप्त भएमा अनुसन्धान अधिकारीले यथाशीघ्र सो कसुरको सम्बन्धमा अनुसन्धान प्रारम्भ गर्नुपर्नेछ । त्यसरी अनुसन्धान गर्दा कसुरको आरोप लागेका बालबालिकालाई अनुसन्धानका लागि नियन्त्रणमा नलिई नहुने देखेमा अनुसन्धान अधिकारीले त्यस्तो बालबालिकालाई नियन्त्रणमा लिन सक्नेछ ।

३. उपदफा १ बमोजिम बालबालिकालाई नियन्त्रणमा लिएमा अनुसन्धान अधिकारीले सो कुराको जानकारी निजको पररवारको सदस्य, संरक्षक वा नजिकको नातेदारलाई दिनुपर्नेछ ।

४. उपदफा १ बमोजिम अनुसन्धान अधिकारीले बालबालिकालाई नियन्त्रणमा लिँदा बल प्रयोग गर्न पाउने छैन ।

हुन त ती पिटिएका व्यक्तिको वास्तविक जन्ममिति थाहा नभए पनि तिनकै भनाइअनुसार र तिनको शारीरिक बनोट र बोलीअनुसार ती १८ वर्षमुनिका केटाकेटी थिए भनेर सहजै अनुमान गर्न सकिन्थ्यो । बालबालिकासम्बन्धी ऐनको परिच्छेद १ दफा २ को ञ अनुसार १८ वर्ष उमेर पूरा नभएको व्यक्तिलाई बालबालिका भनिएको छ ।

निष्कर्ष,

यो एउटा प्रतिनिधि घटना हो । यस्ता घटना दिनहुँ घटिरहेका होलान् । हाई कमान्डमा रहेकाहरूले यस्ताको निगरानी गरी आफू मातहतमा रहेकाहरूलाई बेलैमा सजग गराए आउँदा दिनमा यस्तो दुःखद तथा गैरकानुनी घटना दोहोरिन पाउँदैन थिए कि !

पक्कै पनि त्यति कलिलैमा कोही चोर हुँदैन । चोर भनेर समातिएहरू चोर बन्नुका पछाडि तिनका पारिवारिक अवस्था, सामाजिक, आर्थिक र शैक्षिक स्तर निःसन्देह जिम्मेवार छन् । खासमा कुन कारणले गर्दा त्यो बच्चा चोर बन्ने अवस्थामा गयो ? उसको पढाइ कतिसम्म छ ? उसलाई कसरी विद्यालय फर्काउने ? भन्ने पीर जनस्तरका प्रहरीमा हुन पुगे, तिनले ती कलिला बच्चामा आफ्ना सन्तान वा भाइबहिनीको प्रतिच्छाँया देख्न सके सम्भवतः कोही बच्चा खाते, चोर वा मगन्ते हुने थिएनन् । तसर्थ निम्न पदीय प्रहरीलाई बालमनोवैज्ञानिकमार्फत विभिन्न तालिम दिएर तथा बालअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रय कानुनबारे जानकारी गराउँदै स्नेहपूर्वक व्यवहार गर्न सिकाउनुपर्छ । पढेलेखेका आमनेपालीले पनि आदर्श नागरिक बन्ने प्रयास गर्नुपर्छ । त्यसो गर्न सके विस्तारै हाम्रो समाज पनि सभ्य र शिष्ट बन्दै जानेछ ।

(लेखक नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु