गृहपृष्ठ सहुलियत क्षेत्रमा ऋण दिन वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह
सहुलियत क्षेत्रमा ऋण दिन वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह
'सबै बैंकले सहुलियत क्षेत्रमा १ प्रतिशत ऋण दिएको भए ६० हजार युवा स्वरोजगार हुन्थे'
अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षाको सबैभन्दा भरपर्दो, दिगो र सुरक्षित आधार रोजगारी भएको बताएका छन् । युवा परिषद्सँग राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र एनएमबी बैंकले सहुलियत ब्याजदर कर्जा प्रवाहका लागि समझदारी गर्न आयोजित कार्यक्रममा अर्थमन्त्रीले भने, ‘त्यही भएर सामाजिक सुरक्षा कोष दिवसमा आयोजित कार्यक्रम छाडेर अन्नपूर्ण आएँ ।’
सहुलियत ब्याज अनुदानको ऋण कसैले नपाए अर्थमन्त्रीको इमेलमा गुनासो पठाउन उनले आग्रह गरे । ‘अहिले पनि केही गुनासा आएका छन् । मैले त्यसको अपडेट लिइरहेको छु,’ उनले भने, ‘प्रक्रिया पु-याउँदा पनि कुनै बैंकले ऋण दिनु भएन भने इमेल गर्नुहोला । मन्त्रालयले एक्सन लिन्छ ।’
अर्थमन्त्रीले साक्षी पनि उत्तिकै उत्तरदायी हुने भन्दै साक्षीलाई अप्ठेरोमा नपार्न आग्रह गरे । ‘भोलि भ्रम भयो, फ्रड भयो भने साक्षी पनि उत्तरदायी हुन्छ,’ उनले भने, ‘त्यसैले साक्षीलाई अप्ठ्यारो नपर्ने गरी काम गर्नु होला ।’
सबै बैंकलाई कम्तीमा एक प्रतिशत ऋण सहुलियत क्षेत्रमा दिन उनले आग्रह गरे । अर्थमन्त्रीले आज सबैले एक प्रतिशतका दरले ऋण दिएको भए ३० अर्ब लगानी भइसक्ने तथ्यांक प्रस्तुत गरे । ‘यसबाट ६० हजार युवा स्वरोजगार बनिसक्थे,’ उनले भने । अबदेखि सरकारले नगद अनुदान नबाँड्ने अर्थमन्त्रीले स्पष्ट पारे ।
प्रकाशित समय १६:४५ बजे

















