गृहपृष्ठ १३औँ साग : महिला भलिबलमा नेपालको विजयी सुरुवात
१३औँ साग : महिला भलिबलमा नेपालको विजयी सुरुवात
१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
नेपालले २५-९, २५-९ र २५-११ ले खेल जितेको छ । नेपालकाे विजयमा स्पाइकर प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरिन् । आजकै खेलबाट उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् ।
समूह ‘ए’ मा नेपालसहित बंगलादेश र भारत छन् । आजै माल्दिभ्स र पाकिस्तानबीच साँझ ५ बजे अर्को खेल हुनेछ । समूह ‘बी’ मा माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन् ।
पुरुष भलिबलतर्फका खेलहरू पनि आजै सुरू हुने भएकाे छ । पहिलो खेलमा नेपालले बंगलादेशसँग साँझ ७ बजे प्रतिस्पर्धा गर्नेछ। पुरुष भलिबलको समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । पुरूष भलिबलका खेलहरू पनि त्रिपुरेश्वरस्थित कभर्डहलमा नै हुनेछ ।
१३औं सागको औपचारिक उद्घाटन भने मंसिर १५ मा हुनेछ ।
प्रकाशित समय १६:५० बजे

















