गृहपृष्ठ नेपालकाे वैदेशिक व्यापारमा संकुचन
नेपालकाे वैदेशिक व्यापारमा संकुचन
नेपालको वैदेशिक व्यापारमा संकुचन आएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब १३ अर्बको वैदेशिक व्यापार गरेको नेपालले चालू आवको सोही अवधिमा ४ खर्ब ८६ अर्बको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो व्यापार गत वर्षको चार महिनाको तुलनामा ५.१६ प्रतिशत कम हो । चार महिनामै नेपालको वैदेशिक व्यापारमा २६ अर्ब रुपैयाँभन्दा बढीको संकुचन आएको हो ।
आयात घटे पनि निर्यात व्यापार सोही अनुपातमा बढाउन नसक्दा नेपालको वैदेशिक व्यापार प्रभावित भएको छ । चार महिनाको अवधिमा नेपालले आयात ६.९२ प्रतिशतले घटाएको छ भने निर्यात २३.९ प्रतिशतले बढाएको छ । गत वर्षको चार महिनामा ४ खर्ब ८३ अर्बको आयात गरेको नेपालले यो वर्षको समीक्षा अवधिमा ४ खर्ब ५० खर्बको आयात गरेको हो । त्यस्तै गत वर्षको कात्तिकसम्ममा २९ अर्ब २८ करोडको निर्यात गरेकोमा यो वर्ष ३६ अर्ब २७ करोडको निर्यात गरेको हो ।
वैदेशिक व्यापारमा आउने संकुचनले राजस्व लक्ष्य प्रभावित हुनुका साथै अर्थतन्त्र संकटउन्मुख हुनसक्ने अर्थविद्हरू बताउँछन् । नेपाले निर्यातमूलक उद्योग स्थापना गरी वैदेशिक व्यापारमा निर्यात हिस्सा ठूलो मात्रामा नबढाउने हो भने अर्थतन्त्रमा गम्भीर संकट निम्तिन सक्ने उनीहरूको आशंका छ ।
वैदेशिक व्यापारमा नेपालको आयात-निर्यात हिस्सा निकै फराकिलो छ । चार महिनाको तथ्यांक अध्ययन गर्दा नेपालको आयात व्यापार हिस्सा ९२.५ प्रतिशत छ भने निर्यात व्यापार हिस्सा जम्मा ७.५ प्रतिशत मात्र छ । गत वर्षको कात्तिकको तुलनामा भने आयात-निर्यात हिस्सामा सुधार आएको हो । गत वर्षको चार महिनामा आयात हिस्सा ९४.३ प्रतशित हुँदा निर्यात हिस्सा ५.७ प्रतिशत थियो ।
कात्तिकसम्ममा नेपालले ४ खर्ब १४ अर्ब व्यापार घाटा व्यहोरेको छ । यद्यपि, यो घाटा गत वर्षको सोही अवधिको तुलनामा ८.९ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा नेपालले ४ खर्ब ५४ अर्ब व्यापार घाटा व्यहोरेको थियो ।
समीक्षा अवधिमा डिजेल २९ अर्ब २४ करोड, तयारी कपडा, १४ अर्ब ७३ करोड, एमएम ब्लेड १२ अर्ब ७० करोड, पेट्रोल १२ अर्ब ३७ करोड, एचआर सटि ९ अर्ब ७७ करोड, हवाईजहार र हेलिकप्टर, ९ अर्ब २१ करोड, एलपी ग्यास ८ अर्ब ९० करोड, मोबाइल टेलिफोन, ८ अर्ब ६२ करोड, एलोपेथिक औषधि ८ अर्ब ३१ करोड मूल्यबराबरको आयात भएका छन् ।
त्यस्तै कात्तिकसम्ममा ८ अर्ब ३६ करोडको प्रशोधित पाम तेल, २ अर्ब ७९ करोडको सेन्थेटिक यार्न, २ अर्ब ६२ करोडको ऊनी गलैंचा, २ अर्ब १६ करोडको तयारी कपडा, २ अर्ब २ करोडको भटमासको प्रशोधित तेललगायत निर्यात भएका छन् । त्यस्तै १ अर्ब ५४ करोडको अलैंची निर्यात भएको छ ।
प्रकाशित समय १६:३८ बजे

















