गृहपृष्ठ माथिल्लो फावाखोलामा माछापुच्छ्रे बैंकको अगुवाइमा तीन वित्तीय संस्थाको लगानी

माथिल्लो फावाखोलामा माछापुच्छ्रे बैंकको अगुवाइमा तीन वित्तीय संस्थाको लगानी

युनिटेक हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको माथिल्लो फावाखोला जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा तीन वित्तीय संस्थाले लगानी गरेका छन् । आयोजामा माछापुच्छ्रे बैंकको अगुवाइमा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र आइसिएफसी फाइनान्सले ८० करोड लगानी गरेका हुन् ।

राजधानीमा बिहीबार एक कार्यक्रम गरी तीन वित्तीय संस्था र प्रवर्धक कम्पनी युनिटेकका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा वित्तीय संस्थाका तर्फबाट माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा र कम्पनीका तर्फबाट युनिटेकका अध्यक्ष नरेन्द्र मैनालीले हस्ताक्षर गरेका छन् । आयोजनामा माछापुच्छ्रे बैंकको ४० तथा गुह्येश्वरी र आइसिएफसीको २०/२० करोड लगानी रहनेछ ।

बाँकी ४४ करोड ५ लाख रकम भने सेयरधनीको तर्फबाट लगानी हुनेछ । कम्पनीको कुल लागत १ अर्ब २५ करोड ५ लाख रुपैयाँ छ । ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला ताप्लेजुङको सिरिजंगा र पाथिभरा याङवरक गाउँपालिकामा पर्छ ।

आयोजनामा २६ सय लिटर प्रतिसेकेन्ड पानीको बहावव फर्काएर करिब ४.५ किलोमिटर लामो पाइममार्फत २७१ मिटरको हेड माथिबाट खसालेर सतही पावर हाउस रहने गरी निर्माण संरचना तयार गरिने कम्पनीले जनाएको छ । विद्युत गृहमा दुईवटा पेल्टन टर्वाइन जडान हुनेछन् ।

उत्पादित बिजुली आठ किमी लामो ३३ केभीको प्रसारणलाइनबाट पाँचथरको अमरपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी काबेली सबस्टेसनको राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ ।

आयोजनामा ताप्लेजुङ तथा झापाका व्यवसायी, डाक्टर, इन्जिनियरलगायत प्रवासी नेपालीको पनि लगानी छ । आयोजनाअन्तर्गत हाल ७ किलोमिटर सडक निर्माण, ११ केभी कन्सट्रक्सन पावर लाइन र जग्गा खरिद सम्पन्न भइ हेडवर्क्स, पाइप लाइन र ३३ केभी प्रसारणलाइन निर्माण भइरहेको प्रवर्धक कम्पनी युनिटेकका अध्यक्ष मैनालीले जानकारी दिए । आयोजनाबाट २०७८ साउन १६ गतेभित्र बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य लिइएको छ ।

लगानी सम्झौतासम्बन्धी हस्ताक्षर कार्यक्रममा वित्तीय कम्पनीको नेतृत्वकर्ताको तर्फबाट माछापुच्छ्रे बैंकका सिइओ शर्माले समयमै आयोजना सम्पन्न गर्ने गरी काम अघि बढाउन आग्रह गरे । ‘समयमै काम सम्पन्न भएमा सबैलाई लाभ हुनेछ र खर्च पनि बढ्दैन,’ उनले भने, ‘यसतर्फ विशेष ध्यान दिन म आग्रह गर्छु ।’

प्रकाशित समय २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु