गृहपृष्ठ नेप्सेमा फेरि ऐतिहासिक कारोबार, चार कम्पनीकै १ अर्बको सेयर किनबेच
नेप्सेमा फेरि ऐतिहासिक कारोबार, चार कम्पनीकै १ अर्बको सेयर किनबेच
नेप्सेमा साताको पहिलो दिन ऐतिहासिक कारोबार भएको छ । नेप्सेको इतिहासमै एकैदिनमा ४ अर्ब ८४ करोड रूपैयाँबराबरको सेयर कारोबार भएको यो पहिलो पटक हो ।
आइतबार १८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २१७ कित्ता सेयर ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँमा कारोबार भएको हो । अहिलेसम्म यति धेरै कित्ता सेयर पनि कारोबार भएको थिएन ।
कारोबार उच्च भए पनि नेप्से परिसूचक भने ४० अंकले घटेर १६०० अंकभन्दा तल आइपुगेको छ । आइतबार वित्तबाहेकका सबै उपसूचक घटेपछि समग्र बजार परिसूचक ४०.८२ अंकले घटेर १५९१.३६ अंकमा झरेको हो । नेप्सेको यो ह्रास २.५ प्रतिशतबराबर छ ।
नेप्से उच्च अंकले घटे पनि २० कम्पनीका लगानीकर्ताले कमाएका छन् । मितेरी डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्सका लगानीकर्ताको सम्पत्ति करिब १० प्रतिशत बढेको छ । त्यस्तै एक्सल डेभलपमेन्ट बैंक, नेसनल माइक्रोफाइनान्स, छ्यांग्दी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावरलगायत कम्पनीको सेयर पनि बढेको छ ।
आइतबार चारवटा कम्पनीकै करिब १ अर्बको सेयर कारोबार भयो । एनएमबी बैंकको सर्वाधिक २६ करोड ६३ लाख रूपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै ग्लोबल आइएमइ बैंकको २५ करोड ८५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २४ करोड ६४ लाख, एनआइसी एसियाको २१ करोड ८८ लाख र नेपाल बैंकको १७ करोड १९ लाखको सेयर कारोबार भएको छ ।
यो पनि पढ्नुहोस्
तीन महिनामा ४७ प्रतिशत बढ्यो सेयर बजार, कारोबार रकम पनि उच्च
प्रकाशित समय १६:०९ बजे

















