गृहपृष्ठ नेपाल भ्रमण वर्ष औपचारिक रुपमै स्थगन गर्ने तयारी
नेपाल भ्रमण वर्ष औपचारिक रुपमै स्थगन गर्ने तयारी
सरकारले नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमै स्थगन गर्ने तयारी गरेको छ । कोरोनाभाइरसका कारण भ्रमण वर्षसहित समग्र पर्यटन गतिविधिमा असर पर्दै गएपछि भ्रमण वर्ष स्थगित गरी नयाँ रणनीति तय गर्न लागिएको पर्यटन मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले कोरोनाका कारण विदेशमा गरिने प्रवर्धनात्मक कार्यक्रम रोकेर आन्तरिक पर्यटन प्रवर्धनमा जोड दिने अल्पकालीन रणनीति तय गरेको थियो । तर, तत्काललाई यो पनि प्रभावकारी नदेखिएपछि सरकार भ्रमण वर्ष औपचारिक रुपमै स्थगन गर्ने निर्क्यौलमा पुगेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोनाको महामारीबाट बच्न विशेष निर्णय लिन सकिने बताए । तर, कस्तो विशेषचाहिँ खुलाएनन् । मन्त्रिपरिषद् बैठकबाट यो निर्णय हुनसक्ने मन्त्रालय स्रोतले जनाएको छ । भ्रमण वर्ष स्थगित गर्ने तयारीसँगै पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष सचिवालयलाई अहिलेसम्म सचिवालयबाट भएका हिसाबकिताब एक महिनाभित्र मिलाउन र एक साताभित्रै करारमा रहेका कर्मचारीलाई अवकाश दिन पत्राचार गरेको छ ।
प्रकाशित समय ०७:३७ बजे

















