गृहपृष्ठ कोरोना भित्रिन नदिन चिसापानी र सुइयामा हेल्थ डेस्क स्थापना
कोरोना भित्रिन नदिन चिसापानी र सुइयामा हेल्थ डेस्क स्थापना
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम बढ्दै गएपछि चिसापानी र सुइयामा हेल्थ डेस्क स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि पूर्वी नाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरेको हो ।
लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेश भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि सोमबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए । हेल्थ डेस्कमा हाल दुई स्वास्थ्यकर्मी खटाइएको छ ।
मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाको टोलीले टीकापुर अस्पताल र खक्रौंला नाकामा स्थापना गरिएको हेल्थ डेस्कको अनुगमन पनि गरेको छ । अस्पतालमा छुट्टै १५ आइसोलेसन वार्ड स्थापना भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा सरोकारवालाको उपस्थितिमा आइतबार बसेको बैठकले कोरोनाको संक्रमण प्रदेशमा पनि देखिन सक्ने जोखिमलाई ध्यान दिँदै पहिचान, उपचार, रोकथाम र व्यवस्थापन गर्न ११ वटा निर्णय गरेको थियो ।
सुइयामा हेल्थ डेस्क
त्यस्तै प्रदेश ५ अन्तर्गत बाँकेको ग्रामीण सीमा नाका कटकुइँयास्थित सुइयामा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नरैनापुर गाउँपालिकाको सहयोगमा सोमबारदेखि सञ्चालनमा आएको सो कक्षमा भारतबाट भित्रिने नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।
आवश्यक औषधि, उपकरण र पूर्वाधारसहित स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको उनले बताए । कार्यालयले भारतसँगको अन्य सीमावर्ती नाकामा पनि सहायता कक्ष स्थापनाको तयारी गरेको जनाएको छ ।
भेरी अञ्चल अस्पतालमा विशेष व्यवस्था
भारतसँगको मुख्य नाका जमुनाहामा एक महिना अघिदेखि नै हेल्थ डेस्क स्थापना गरी जाँच हुँदै आएको छ । नेपालगन्ज विमानस्थलमा गत सातादेखि जाँच कक्ष सुरु गरिएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालमा पनि कोरोनाको आशंकामा आउने बिरामीलाई उपचारका लागि विशेष व्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । उनका अनुसार अस्पतालमा कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै आइसोलेसन वार्डको व्यवस्था गरी पाँच शय्या मिलाइएको छ । अस्पतालमा अहिलेसम्म कोरोनाकै आशंकामा कुनै पनि बिरामी परीक्षणका लागि आएका छैनन् ।
होलीमा किनमेल प्रभावित
भाइरसको जोखिमको हल्लासँगै नेपालगन्जमा लाग्दै आएको होली बजारमा प्रभाव परेको छ । होली बजारमात्रै नभई अन्य बजारमा समेत अत्यावश्यकबाहेक अन्य खरिद‑बिक्री कम भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताए । नेपालगन्जमा हरेक वर्ष होलीलाई लक्षित गरी गरिने कार्यक्रम पनि स्थगित भएका छन् । (रासस)
प्रकाशित समय ०७:२६ बजे

















