गृहपृष्ठ तरकारीको अभावसँगै चुलियो मूल्य, अलमलमा मन्त्रालय

तरकारीको अभावसँगै चुलियो मूल्य, अलमलमा मन्त्रालय

शुक्रबार साँझ काठमाडौंको सुकेधारामा तरकारी किन्नेको भीड ।

विश्वभर महामारीको रुपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड १९) को प्रत्यक्ष प्रभाव नेपालमा दैनिक उपभोग्य खाद्यवस्तु, ग्यास तथा तरकारीमा परेको छ । जनवरी २२ मा चीनको बुहानबाट विश्वभर फैलिएको भाइरसले करिब २७ हजारको ज्यान लिइसकेको छ भने ६ लाख नागरिक संक्रमणको सिकार भएका छन् ।

छोटो समयमा द्रुतगतिमा फैलिएको भाइरसका कारण अमेरिकालगायतका देशहरुले तीव्र रुपमा मानवीय क्षति व्यहोर्नुपरेको छ । इटालीले झनै साढे ८ हजार नागरिकलाई गुमाइसकेको छ । इटाली मात्र होइन, युरोपेली देशहरु कोरोना भाइरसका कारण प्रत्यक्ष मर्कामा परेका छन् ।

चीन, स्पेन, इरान, फ्रान्सलगायतका देशहरुले पनि ठूलो संख्यामा मानवीय क्षति व्यहोरिरहेका छन् । शनिबारसम्म विश्वका १९९ देशमा फैलिएको भाइरसले नेपाललाई पनि आक्रान्त तुल्याएको छ ।

गएको मंगलबार नेपालमा पनि कोरोनाको रोगथाम तथा तयारी गरिरहेको बेला तीन जनामा संक्रमण देखिएपछि सरकारले देशभर लकडाउन घोषणा गर्‍यो । लकडाउनको कार्यान्यवन भइरहेको बेलामा कसैले अवज्ञा गरेमा कारबाही हुने चेतावनी दिएपछि उपभोक्ताहरु मर्कामा परेका छन् । बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म चारैतिर बन्द भएपछि दैनिक उपभोग्य वस्तुको संकट पर्न थालेको हो ।

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले भाइरसको संक्रमण फैलिन नदिन मंगलबारबाट पूर्ण रुपमा लकडाउन घोषणा गरेको हो । कोरोनाको आशंकामा करिब १० लाखले काठमाडौं उपत्यका छाडे पनि उपत्यकामा बस्ने नागरिक भने दैनिक उपभोग्य वस्तुको अभावले थिचिएका छन् । लकडाउनको समयअगाडि नै खाद्यवस्तु जोहो गरेकाहरुले पनि हरियो तरकारी र खाद्यवस्तुको तनाव भोग्न थालिसकेका छन् ।

बिहानदेखि बेलुकासम्म बजार बन्द भएपछि बेलाबखतमा खुल्ने खाद्यपसलमा चर्को भीड लाग्ने गरेको छ । लकडाउनको समयमा सामान्य वस्तुको पनि तेब्बर मूल्य पर्ने भएपछि उपभोक्ताको जनजीवन झनै कष्टकर बन्दै गएको छ । साँझपख खुलेका पसलमा लाग्ने उपभोक्ताको भीडले कोरोना संक्रमको जोखिम पनि उच्च बढाएको छ ।

‘दैनिक ज्यालादारी गर्ने मजदुरलाई झनै समस्या परेको छ,’ बाजुराका धर्मबहादुर बुढाले भने, ‘हामीजस्ता दिनहुँ मजदुरी गरेर खानेहरुका लागि सरकारले लगाएको लकडाउनले निकै पिरोलेको छ । दिनभर भित्र बस्नुपरेको छ, खानेकुरा किन्नका लागि साँझ‑बिहान बजार निस्कने हो भने पनि सामान्य वस्तुमा पनि दोब्बर‑तेब्बर पैसा तिर्नुपर्छ ।’

कहिलेकाहीँ त बजारमा तरकारीको मूल्य अरु बेलाको भन्दा तेब्बर पैसा तिरेर पनि नपाएको उनले गुनासो गरे । उनले भने, ‘म बानेश्वर चोकमा तरकारी किन्न गएको थिएँ, २० रुपैयाँ पर्ने तरकारीको ६५ रुपैयाँ तिर्न खोज्दा पनि लुछाचुँडी भयो, मलाई पुगेन र रित्तै फर्किएँ ।’

एक हप्ताकै अन्तरमा काठमाडौंमा तरकारीको मूल्य पाँच गुणाभन्दा धेरैले बढेको छ । लकडाउनअघि १८ रुपैयाँ पर्ने तरकारी शुक्रबारसम्म ६५ रुपैयाँ पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चैत ७ गते (अघिल्लो शुक्रबार)को तुलनामा यो शुक्रबार करिब पाँच गुणाले तरकारीको मूल्य बढेको छ ।

हप्तामै पाँच गुणाभन्दा बढी बढ्यो तरकारीको मूल्य

काठमाडौंमा एकै हप्तामा पाँच गुणाभन्दा बढी तरकारीको मूल्य उकालो लागेको छ । ७० प्रकारका तरकारीको व्यापार गरिरहेको कालिमाटी तरकारी बजारमा सबैभन्दा हरियो सागको मूल्य छोइनसक्नु भएको छ । अघिल्लो शुक्रबारको थोक मूल्यअनुसार १८ रुपैयाँ प्रतिकिलो पर्ने रायोको सागको मूल्य यो शुक्रबार ६५ रुपैयाँ पुगेको छ ।

पालुंगोको सागको मूल्य पनि अकासिएको छ । गत हप्ताको तुलनामा यो हप्ता पालुंगाको मूल्य १९५ प्रतिशतले बढेको छ । थोक मूल्यअनुसार २२ रुपैयाँ पर्ने तरकारीको ६५ रुपैयाँ पुगेको छ ।

त्यस्तै चमसुरको साग, तोरीको साग, मेथीको साग, सौफको साग, गान्टेमुलाको मूल्य एकै हप्तामा १९५ प्रतिशतले बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ । थोक मूल्यअनुसार अघिल्लो हप्ता २२ रुपैयाँ प्रतिकिलो पर्ने सागको मूल्य यो हप्ता प्रतिकिलो ६५ रुपैयाँ पर्ने गरेको छ ।

सबैखाले तरकारीको मूल्य एकै हप्तामा उच्चदरले बढ्दा उपभोक्ता मर्कामा परेका छन् । कालिमाटी तरकारी तथा फलफूल बजार समितिका उपनिर्देशक विनय श्रेष्ठ लकडाउनका कारण आपूर्ति अवरोध भएपछि तरकारीको मूल्य अकासिएको बताउँछन् । ‘नेपाली बजारमा कोरोना भाइरसको प्रत्यक्ष असर परेको छ,’ उनले भने, ‘चारैतिर बन्द भएपछि तरकारी आउनै छाडेको छ, त्यसैले तरकारी महँगो भएको हो । सरकारले लकडाउन खोल्नेबित्तकै तरकारीको मूल्य फेरि पुरानै दररेटमा आउँछ ।’

अलमलमा मन्त्रालय

कृषि तथा पशुपन्छी विकास मन्त्रालय भने उपभोक्ताबाट दैनिक उपभोग्य वस्तुको हाहाकार भएको गुनासो आएको बेलामा खाद्य तथा तरकारी पसललाई बिक्री‑वितरण गर्न आग्रह गरिरहेको छ ।

शुक्रबार कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारी रोक्न देशव्यापी बन्दाबन्दी गरेको बेलामा दैनिक रुपमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सुचारु राख्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्न निर्णयलाई व्यापारीहरुले पालना गर्नु हार्दिक अनुरोध गर्दछ ।’

प्रकाशित समय १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु