गृहपृष्ठ विश्व लकडाउन हुँदा कच्चा तेलको मूल्य ऋणात्मक
विश्व लकडाउन हुँदा कच्चा तेलको मूल्य ऋणात्मक
अमेरिकी कच्चा तेलको मूल्य ऋणात्मक भएको छ । लकडाउनका कारण तेलको माग घटेको र भण्डारण क्षमता अतिरिक्त नभएका कारण तेलको मूल्यमा भारी गिरावट आई ऋणात्मक भएको सिएनबिसीले जनाएको छ ।
थप भण्डारण गर्ने ठाउँ नभएपछि तेल कम्पनीहरुले ट्यांकर भाडामा लिएर तेल भण्डारण गरिरहेका छन् । अमेरिकाको तेलको बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) मा मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यालेर पुगेको छ ।
अप्रिल सुरुवातमै तेल उत्पादक देशहरुको संगठन (ओपेक) का सदस्य देशहरु र तिनका सहयोगीहरु तेल उत्पादन १० प्रतिशत घटाउन सहमत भएका थिए । तर, तेलको मागमा ९० प्रतिशतसम्म गिरावट आएका बेला १० प्रतिशत उत्पादन कटौले समस्या नसुल्झिएको अध्येताहरूले बताएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कच्चा तेलको मूल्य ऋणात्मक भएको मौकामा आफ्नो इन्धन भण्डारण स्थल भरेर राख्ने बताएका छन् । उनले ट्विट गरेका छन्, ‘घटेको मौकामा हामी हाम्रो पेट्रोलियम भण्डार भरेर राख्ने छौं । हामी कूटनीति भण्डार गर्दै छौं । हामी करिब ७.५ करोड ब्यारेल तेल रिजर्भ गरेर राख्न चाहन्छौं ।’
प्रकाशित समय ०८:४१ बजे

















