गृहपृष्ठ किसानको चिन्ता : तरकारी बारीमै कुहियो, ऋण कसरी तिर्ने ?

किसानको चिन्ता : तरकारी बारीमै कुहियो, ऋण कसरी तिर्ने ?

तरकारीले बजार नपाउँदा सुदूरपश्चिमका किसान चिन्तित बनेका छन् । लकडाउनका कारण तरकारीे विक्रीवितरण र ढुवानीमा समस्या आएपछि मेहनत र लगानी डुब्ने चिन्ता बढेको हो ।

व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका कैलाली र कञ्चनपुरका किसान तरकारी टिप्न द्विविधामा छन् । टिपेका केही तरकारी पनि बजारसम्म लैजान समस्या भएको उनीहरुको भनाइ छ । तरकारी बारीमै कुहिने अवस्था आएको किसानले बताएका छन् ।

यो सिजनमा उत्पादन हुने लौका, फर्सी, काँक्रा, बोडी, भिण्डी, मुला, बैगुन लगायतका तरकारी खेर जाने अवस्थामा छन् । मेहनत गरी लगाएको तरकारी विक्री नहुँदा ठूलो क्षति व्योहोर्नु परेको कैलालीका किसान असगर हुसैनले बताए । ‘लाखौंका तरकारी बारीमै कुहिए । यसपालि नराम्ररी घाटा खाइयो,’ उनले भने ।

किसानले समय-समयमा यस्ता विभिन्न समस्या भौग्दै आएका छन् । यतिबेला मलखाँद, किटनाशक औषधि तथा सिँचाई सुविधाको समेत समस्या छ । व्यावसायिक रुपमा बगर खेती गरिरहेका तरकारी किसान अझ बढी समस्यामा छन् । उनीहरुले आर्थिक नोक्सानीसँगै दैनिक रोजगारीसमेत गुमाउनु परेको छ । वित्तीय संस्थाबाट लाखौं ऋण लिएर तरकारी खेती लगाएकाहरु किस्ता र ब्याज कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिएका छन् ।

पीडित किसानहरुको लागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारले राहतको उचित व्यवस्था गर्न जरुरी रहेको तरकारी किसानहरुले भनाइ छ । लकडाउनले धनगढीस्थित कृषि उपज हाटबजार प्रायः बन्द छ । कारोबार ठप्प हुँदा चार सयभन्दा बढी तरकारी व्यापारीले लाखौंको नोक्सानी व्योहोरिरहेको हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भावान सिंह चैसिरले बताए ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु