गृहपृष्ठ भाटभटेनी सुपरमार्केटलाई दूग्धजन्य खाद्यवस्तु बेच्न रोक
भाटभटेनी सुपरमार्केटलाई दूग्धजन्य खाद्यवस्तु बेच्न रोक
सरकारले भाटभटेनी सुपरमार्केटबाट भईरहेको दूधजन्य खाद्य पदार्थ विक्रीवितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो ।
भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिए । तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीव्रता दिँदै आएको विभागले बुधबार भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य वस्तुको पनि परीक्षण गरेको हो । परिक्षणमा दुधजन्य बस्तु गुणस्तरहीन पाइएको थियो ।
यसैगरी, विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगंजस्थित टिपटप मिठाई पसल, गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारमा विभागको अनुगमन टोली पुगेको थियो ।
अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ । रङको प्रयोग सन्तोषजनक रहेको पाइए पनि खाद्य वस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन मिठाई पसलहरुलाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताए ।
मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको २ वटा मिठाई पसलमा कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले अनुगमन गरी गुणस्तर हेरेर मात्रै मिठाईलगायतका खाद्य वस्तु खरिद गर्न आम उपभोक्तालाई सचेत गराएको थियो ।
सरकारले खाद्य स्वच्छता अभियान अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ ।
प्रकाशित समय १६:४७ बजे

















