गृहपृष्ठ अर्थतन्त्र क्रमिक बहालीतर्फ : गभर्नर
अर्थतन्त्र क्रमिक बहालीतर्फ : गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार १ गतेबाट लकडाउन केही खुकुलो पारिएसँगै अर्थतन्त्र क्रमिक बहालीको बाटोमा गएको बताएका छन् ।
‘अर्थतन्त्रमा क्रमिक बहाली भइरहेको संकेत देखिन थालेका छन् । जेठ मसान्तसम्म बैंकिङ क्षेत्रबाट कर्जा प्रवाह हुन सकेको थिएन भने असारमा मात्रै ४० अर्ब रूपैयाँजति कर्जा प्रवाह भएको छ,’ नेपाल राष्ट्र बैंकद्वारा आगामी मौद्रिक नीतिका बारेमा सुझाव लिन बिहीबार आयोजित वेबिनारमा गभर्नर अधिकारीले भने ।
उनले उद्यमी, व्यवसायीहरूलाई असारभित्रै बैंकहरूको ऋण-व्याज, किस्ता तिर्न अनुरोध गर्दै लकडाउनका कारण ऋणको किस्ता, ब्याज तिर्न नसक्नेहरूका हकमा मौद्रिक नीतिमा विशेष सम्बोधन गरिने भन्दै नअतालिन आग्रहसमेत गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बैक तथा वित्त समितिका सभापति सौरभ ज्योति, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल, उपाध्यक्ष अनुज अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहलगायतका उद्यमी-व्यवसायीले लकडाउनका कारण उद्योग-व्यवसाय क्षेत्रमा परेको संकटका कारण ऋणाको पुनर्तालिकीकरणसहित ब्याजमा छुटलगायतका माग राखेका थिए ।
लकडाउनका कारण विशेषगरी साना तथा मझौला उद्योग व्यवसाय बढी प्रभावित भएको भन्दै उनीहरूले यस्ता उद्योग-व्यवासयलक्षित विशेष प्याकेज ल्याउन राष्ट्र बैंकलाई अनुरोध गरे ।
बैंकरहरूका तर्फबाट बैंकर्स एसोसियसनका अध्यक्ष भुवन दाहाल, डेभलपमेन्ट बैंकर्स एसोसियसनका प्रद्युम्न पौडेल, माइक्रोफाइनान्स बैंकर्स एसोसियनका अध्यक्ष वसन्त लम्सालले अर्थतन्त्रका सबै क्षेत्रजस्तै बैंकिङ क्षेत्र पनि कोरोना भाइरस महामारीका असरले प्रभावित भएको भन्दै यस पटकको मौद्रिक नीति विशेष परिस्थितिमा आउने भएकाले लचकदार नीति लिन सुझाव दिए ।
प्रकाशित समय १६:१५ बजे

















