गृहपृष्ठ बैंकमा न्यून कर्मचारी राखेर आलोपालोमा चलाउन निर्देशन
बैंकमा न्यून कर्मचारी राखेर आलोपालोमा चलाउन निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ‘वर्क फ्रम होम’ सहित आलोपालोमा कर्मचारी उपस्थित गराउन र वैकल्पिक रूपमा शाखा चलाउन निर्देशन दिएको छ ।
बैंकिङ क्षेत्रमा बढ्दो भीडभाडसँगै कोभिड-१९ को संक्रमण विस्तार हुने जोखिम बढेपछि केन्द्रीय बैंकले बैंक-वित्तीय संस्थालाई यो निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा कर्मचारीको भौतिक उपस्थिति कम गरेर सेवा सुचारु राख्नका लागि ‘बिजनेस कन्युनिटी प्लान’ बनाएर कोभिड-१९ को जोखिम व्यवस्थापन गर्न भनेको छ ।
कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि देशका विभिन्न स्थानमा लागू गरिएको घरबन्दी र निषेधाज्ञाका सन्दर्भमा प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासनमार्फत हुने निर्णय वा सूचनालाई आधार मानेर न्यूनतम रूपमा सेवा सुचारु गर्न तथा वैकल्पिक रूपमा सञ्चालन गर्न सकिने शाखाहरू आलोपालो गरेर सञ्चालन गर्नसमेत निर्देशन दिएको छ ।
केही बैंकका कर्मचारीहरूमा समेत कोभिड-१९ को संक्रमण देखिएसँगै राष्ट्र बैंकले स्वास्थ्य सावधानी अपनाउन निर्देशन दिएको हो । केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई पनि थप प्रोत्साहित गर्न निर्देशन दिएको छ ।
प्रकाशित समय १६:३७ बजे

















