गृहपृष्ठ ३८० जना कोरोना संक्रमित थपिए, ४० डिस्चार्ज
३८० जना कोरोना संक्रमित थपिए, ४० डिस्चार्ज
काठमाडौं उपत्यकामा संक्रमितको संख्या ११ सय ३६
देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट पछिल्लो २४ घन्टाभित्र ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएकासहित देशभर संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिए । उनका अनुसार हाल नेपालमा ६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमितमध्ये १६ हजार ३ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । गत २४ घण्टाभित्र ४० जना संक्रमित उपचारपछि कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस अवधिमा ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ ।
हाल देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन् । ७५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
काठमाडौं उपत्यकामा पनि बढ्दै
आइतबार काठमाडौं उपत्यकाभित्र थप ९२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ९० र ललितपुरमा २ जना संक्रमित थपिएको प्रवक्ता गाैतमले जानकारी दिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ सय ३६ पुगेको छ ।
अहिलेसम्म काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:२८ बजे

















