गृहपृष्ठ सीइओ खोज्दै देशकै ठूलो ‘पूर्वाधार विकास बैंक’

सीइओ खोज्दै देशकै ठूलो ‘पूर्वाधार विकास बैंक’


काठमाडौं । पूर्वाधार विकास बैंक स्थापनाका लागि प्रवर्धक कम्पनी इमर्जिङ नेपालले प्रमुख कार्यकारी अघिकृत (सीइओ)का लागि सूचना जारी गर्ने तयारी गरेको छ । पूर्वाधार विकास बैंक नेपालमा संचालित अन्य वाणिज्य बैंकभन्दा फरक प्रकृतिको बैंक हुने भएकोले सीईओका लागि आवश्यक मापदण्ड तोकेर सूचना जारी गर्ने तयारी गरिएको इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले बताए ।
‘अबको केही दिनमा सीईओको योग्यता र मापदण्ड सहितको सूचना जारी गर्दै छौ,’ उनले भने ‘आवश्यक पुँजी जम्मा गरिसकेकोले अब छिट्टै नेपाललकै ठूलो बैंक स्थापना हुनेछ ।’ पूर्वाधार विकास बैंक स्थापनाका लागि रकमको जोहो भएको छ । पूर्वाधार विकास बैंक स्थापनाको लागि विभिन्न वाणिज्य बैंकमा चार अर्ब ४० करोड रुपैयाँ जम्मा भइसकेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले अबको एक महिनामा नेपालकै सबैभन्दा ठूला वाणिज्य बैंक स्थापना हुने बताएका छन् ।
पूर्वाधार बैंक व्यवस्थापन कम्पनी इमर्जिङ नेपाल लिमिटेडले संस्थापकतर्फको बुझाउनु पर्ने १२ अर्ब रुपैयाँमध्ये पाँच प्रतिशत यसअघि बुझाइसकेको छ । करिब एक महिनाअघि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिने गरी ४५ प्रतिशत रकम जम्मा गर्न बैंक व्यवस्थापनलाई पत्र पठाएको छ । पूर्वाधार विकास बैंकले बैंक सञ्चालनका लागि सैद्धान्तिक सहमति पाउन आवश्यक पर्ने कुल चुक्ता पुँजीको संस्थापकतर्फको ६० प्रतिशतको ४५ प्रतिशत रकम बुझाउन ३० दिने समय सीमा दिएको हो ।
अब बैंक स्थापनाका लागि सैद्धान्तिक सहमति पाउने भएको छ । ‘हामी सेयरधनीलाई आवश्यक रकम जम्मा गर्न भन्छौं,’ इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले भने, ‘त्यसपछि बैंक सञ्चालनका लागि पूर्वाधार तयार पारेर बैंक सञ्चालन अनुमति पत्र लिने हो ।’ यो अवधि ६ महिनाको हुनेछ । ६ महिनाको अवधिमा कम्पनी दर्तादेखि कार्यालय तथा कर्मचारी व्यवस्थापन, सफ्टवेयर निर्माण, बैंकको नियमावली बनाउने लगायत काम गर्नुपर्नेछ ।
पूर्वाधार विकास बैंक स्थापनाको सम्पूर्ण कार्य गर्ने जिम्मा इमर्जिङ नेपालले लिएको छ । देशमा ठूला आयोजनामा लगानी गर्न ठूलो बैंकको रूपमा २० अर्बको चुक्ता पुँजी रहने गरी बैंक स्थापना गर्न लागिएको हो। उक्त बैंक स्थापना गर्ने निर्णय गत आर्थिक वर्षको फागुनमा मन्त्रीपरिषद्ले गरेको थियो । ठूला आयोजनामा लगानी गर्न ठूला बैंकको आवश्यकता महसुस गरी मुलुककै ठूलो बैंक स्थापनाको अवधारणा अघि बढेको हो ।
गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो । चालू आवको बजेटमा पनि सरकारले आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता गरेको थियो । सोही अनुसार बैंक स्थापना हुने राष्ट्र बैंकले जनाएको छ । सार्वजनिक निजी–साझेदारी (पीपीपी)मोडलमा स्थापना हुन लागेको पूर्वाधार विकास बैंकमा नेपाल सरकारको १० प्रतिशत शेयर रहनेछ । बैंकमा ५० प्रतिशत संस्थापक र ४० प्रतिशत व्यक्तिगत शेयर रहने गरी बैंक स्थापनाका लागि अघि बढाइएको छ ।

प्रकाशित समय १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु