गृहपृष्ठ लघुवित्तको विकृति हटाउन काठमाडौंमा सम्मेलन

लघुवित्तको विकृति हटाउन काठमाडौंमा सम्मेलन

शनिबार र आइतबार राजधानीमा ‘दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ आयोजना हुँदैछ । लघुवित्तका विकृति हटाई सदस्यमा जागरण ल्याउने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुने सम्मेलनमा देशभरका ६९ वटा लघुवित्त वित्तीय संस्थाका सात सय बढी सदस्य सहभागी हुने आयोजक समितिका संयोजक शंकरमान श्रेष्ठले जानकारी दिए । लघुवित्त क्षेत्रको दोस्रो सम्मेलनमा ७० प्रतिशत महिला सदस्य सहभागी हुनेछन् । अघिल्लो वर्ष जेठ १० गते लघुवित्त सदस्यको पहिलो सम्मेलन काठमाडौंमै भएको थियो ।

यो सम्मेलन ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने मर्ममा आधारित छ । लघुवित्त क्षेत्रबाट डेढ खर्ब रुपैयाँ कर्जा लगानी तथा ६० अर्ब रुपैयाँ बचत परिचालन भएको छ । कर्जामा बहुवित्तीयकरण रोक्नैपर्ने चुनौती छ । नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको छ । आर्थिक सामाजिक रुपान्तरणका लागि यो अभियान सुरु गरिएको थियो । तर, यसका आधारभूत मूल्य मान्यतालाई लत्याएर कतिपय लघुवित्तले जथाभावी लगानी गरेको टिप्पणी हुने गरेको छ । कतिपय लघुवित्तले अर्काका ग्राहक तान्ने होडबाजीमा जथाभावी लगानी गरेर ऋणग्राहीलाई नै ‘कर्जाको ट्रयाप’ मा पारेका छन् ।

लघुवित्तको संख्यात्मक बृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ । ‘त्यही अस्वस्थ प्रतिस्पर्धालाई न्युनिकरण गर्न सदस्यहरु बढी जागरुक हुनुपर्छ,’ संयोजक श्रेष्ठले भने, ‘त्यसैले यो सम्मेलन लघुवित्त क्षेत्रलाई स्वच्छ पार्ने अभियानको सुरुवात पनि हो ।’

लघुवित्त ग्रामिण र विपन्न वर्गको लागि काम गर्ने संस्था भए पनि पछिल्लो समय यसको प्रभावकारीता खुम्चदै गएको श्रेष्ठको भनाइ छ । उनले भने, ‘लघुवित्तको मौलिकता र आधारभूत उद्देश्यबाट बाहिर गएर लघुवित्तहरूले ऋण लगानी गर्ने, बहु वित्तीयकरण र नाफाको लोभमा मात्र केन्द्रित हुँदै गएकोमा सदस्यहरू सचेत नभए वास्तविक काम गर्नेहरू पनि संकटमा पर्न सक्छन् ।’

उनका अनुसार लघुवित्त क्षेत्रमा घरजग्ग्गा व्यवसायी र विचौलियाहरु प्रवेश गरेका छन् । ‘लघुवित्तमा नाफा खोज्न घरजग्गा व्यवसायी र दलालसमेत प्रवेश गरेकाले स्वच्छ लघुवित्त अभियान चलाउनुपरेको हो’, उनले भने ।

नेपालमा हाल ६९ वटा लघुवित्त वित्तीय संस्था संचालनमा छन् भने यो वर्षको अन्त्यसम्ममा करिब १ सय १५ वटा हुने लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले बताए ।

प्रकाशित समय १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु