गृहपृष्ठ घुस प्रकरणमा पूर्वआयुक्त पाठकलाई एसएसपी सिंहको समेत साथ !

घुस प्रकरणमा पूर्वआयुक्त पाठकलाई एसएसपी सिंहको समेत साथ !

ghus-newskarobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीकै शैलीमा प्रहरी प्रशासनको दुरुपयोग गरेको पाइएको छ । घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहलाई समेत प्रयोग गरेको खुलेको हो । भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्ने र धम्क्याउनेदेखि सादा कागजमा बयान गराउन सिंहलाई प्रयोग गरेको सार्वजनिक भएको छ ।

आफूले घुस लिएको स्वीकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गर्दै भिडियो प्रमाण नष्ट गर्न आग्रह गरेका थिए । त्यसपछि सिंहले भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ । साइबर अपराधसमेत हेर्ने महाशाखाको पिलर ४ का डीएसपीलगायतको टोलीले झा र मोक्तानलाई पटक–पटक धरपकडदेखि दुव्र्यवहार गरेको अख्तियार स्रोतले जनाएको छ ।

पाठकले दुईपटकमा ४० र ३८ लाख गरी कुल ७८ लाख रुपैयाँ घुस बुझेका थिए भने पाठककै निर्देशनमा १५ लाख रुपैयाँ उनका भाइ शुभनारायणले लिएका थिए । घुस बुझाएर पनि काम नभएपछि झाले राजनारायण र शुभनारायणसँग रकम फिर्ता मागेका थिए । त्यसपछि राजनारायणले एसएसपी सिंहलाई प्रयोग गरेर धरपकड गर्न लगाएका थिए । प्रहरीले सुरुमा झामाथि केन्द्रित रहेर धरपकड गरेको र पछि भिडियो खिच्ने मोक्तानलाई पनि बयानमा बोलाउन थालेको पीडितहरुको भनाइ छ ।

प्रहरीले यातना दिन थालेपछि झा र मोक्तानसहित अन्य केही सहयोगीसहितले प्रहरी कार्यालयमा गई पत्रका सम्मेलनमार्फत ज्यादती सार्वजनिक गरिदिने बताएका थिए । उनीहरुले गृह मन्त्रालयमा आफूहरूमाथि धरपकड भएको उजुरी दिएपछि अपराध अनुसन्धान महाशाखाले सक्रियता देखाउन छाडेको बताइएको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख सिंह तालिमको सिलसिलामा संयुक्त राज्य अमेरिकामा छन् । महाशाखाको नेतृत्व हाल एसपी सोमेन्द्रसिंह राठौरले सम्हालेका छन् ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु