गृहपृष्ठ सहकारीलाई व्यापार नगर्न प्रदेश ५ का मुख्यमन्त्रीको आग्रह

सहकारीलाई व्यापार नगर्न प्रदेश ५ का मुख्यमन्त्रीको आग्रह

sahakari-chiefminister-newskarobar

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सहकारीको दायित्व आर्थिक स्थिति न्यून भएका ग्रामीण व्यक्तिको जीवनस्तर माथि उठाउनुपर्ने भएकाले व्यापारीकरण नगर्न आग्रह गरेका छन् । बचत तथा ऋणको नाममा सहकारीहरु मिनी बैंकले जस्तै चर्को ब्याज असुल्ने र व्यापारीकरण गर्ने कार्यमा लागेको भन्दै उनले यस्ता कार्य तत्काल रोक्न चेतावनी पनि दिए ।

‘दिगो विकास लक्ष्यका लागि सहकारी’ भन्ने मूल नाराका साथ बुटवलमा भएको समृद्ध प्रदेश निर्माणका लागि व्यावसायिक गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सीमान्तकृत समुदायको जीवनस्तर माथि उठाउनेतर्फ सहकारी केन्द्रित हुनुपर्ने बताए । ‘सहकारीलाई स्थानीय तहसँग जोडेर विकास गर्नुको विकल्प छैन,’ उनले भने, ‘कृषिको आधुनिकीकरणका लागि पनि सहकारीको मुख्य भूमिका हुन्छ तर त्यस्तो भइरहेको छैन ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना र प्रदेश ५ सहकारी संघको व्यवस्थापनमा भएको कार्यशालामा मुख्यमन्त्री पोखरेलले सहकारीको काम नेतृत्वमुखीभन्दा पनि उत्पादनमुखी र वित्तीय सहभागितामा बढीभन्दा बढी केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सहकारी महासंघका अध्यक्ष एवं पूर्वमन्त्री केशव बडालले सहकारीले नेपालमा गरेको कार्य उत्कृष्ट रहेको तर्क गरे । ‘सबैको साथ र सहयोग प्राप्त भए सहकारीबाट अझ धेरै कार्य हुन्छ,’ उनले भने ।

कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश सरकारले केही नमुना कार्यको सुरुवात गरेको बताइन् । कार्यक्रममा सहकारी विज्ञ डा. खगराज शर्मा, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल र सहकारी तथा गरिबी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश ५ का विभिन्न जिल्लाबाट सहकारीकर्मी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि र प्रदेश सभा सदस्यहरुको सहभागिता थियो ।

प्रकाशित समय १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु