गृहपृष्ठ महानगरपालिकाको ज्येष्ठ नागरिक अस्पताल निर्माणको योजना

महानगरपालिकाको ज्येष्ठ नागरिक अस्पताल निर्माणको योजना

bidhya sundar sakya newskarobar

काठमाडौँ महानगरपालिकाले प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा आगामी आर्थिक वर्षमा महानगर ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना बनाएको छ । महानगरपालिकाको आव २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख विद्यासुन्दर शाक्यले वृद्धावस्थामा हुने रोगको समयमै निदान तथा उपचार गर्ने सुविधा सम्पन्न अस्पताल निर्माणको महानगरले योजना बनाएको बताए ।

महानगरपालिकाले स्वास्थ्यसँगै यातायात र सामाजिक सुरक्षाका क्षेत्रमा पनि ज्येष्ठ नागरिकलाई सम्मान र सुविधा दिने कार्यक्रम प्रस्ताव गरेको छ । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ सञ्चालन गरेर नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउने अभ्यासलाई निरन्तरता दिइने उनले बताए ।

त्यस्तै ७५ वर्ष उमेर पुगेका महिला र ८० पुगेका पुरुषलाई महानगरपालिकाले ‘महानगर विशेष भत्ता’ का रुपमा थप १२ हजार उपलब्ध गराउने भएको छ । उनले भने, ‘महानगरले ज्येष्ठ नागरिकलाई वरिष्ठ चिकित्सकद्वारा घरघरमा स्वास्थ्य जाँच र साझा बसमा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाइएको छ ।’

निमोनिया तथा अन्य संक्रमणको रोकथामका लागि ‘मनमोहन अधिकारी ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रम’ सञ्चालन गरिने प्रमुख शाक्यले बताए । नेपाली कांगेसका नेता गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदानलाई दिगो बनाउन हरेक वर्ष ‘गणेशमान सिंह सेनानी सम्मान’ बाट विभुषित गर्ने महानगरको कार्यक्रम छ ।

आगामी आवमा महानगरले संयुक्त आवास निर्माण गर्दा ९० प्रतिशतसम्म छुट दिने नीति लिएको प्रमुख शाक्यले बताए । दुई वा दुईभन्दा बढी जग्गाधनीको सहमतिमा एउटै आवासीय भवन निर्माण गरेर नक्सा पास गरेमा सो छुट दिइनेछ । नेपाली मौलिकता झल्कने कलात्मक घरलाई थप प्रोत्साहन गर्न कार्यविधि बनाइ लागू गरिनेछ । भित्री सहरमा रहेका पुराना भवनको जोखिम न्यूनीकरणका लागि सुविधा सम्पन्न एकीकृत मौलिक बस्ती विकास गर्ने नीति लिइनेछ ।

‘स्थानीय घरधनीको सहमति र प्रत्यक्ष सहभागितामा नमुना आवास क्षेत्रको विकास गर्ने कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने । ‘नो मास्क सिटी’ का रुपमा विकास गर्न धुवाँधुलो नियन्त्रण गर्दै हाल प्रयोगमा ल्याइएका ब्रुमरलाई थप प्रभावकारी बनाउने र आवश्यकताअनुसार थप गरिने कामनपाले जनाएको छ । महानगरमा सञ्चालित ब्रुमरले उठाएको धुलोलाई प्रशोधन गरेर नयाँ वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने नीति छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै महानगरपालिका प्रमुख शाक्य चीन भ्रमणमा जाँदा महानगरसँग भगिनी सम्बन्ध रहेको छेन्दु नगरपालिकासँग भएको सहमतिअनुसार दुई ब्रमुर प्राप्त भइसकेको छ । महानगरले आफैँले थप दुई ब्रुमर खरिद प्रक्रिया अघि बढाएको जनाएको छ ।

फोहरमैलाको अन्तिम व्यवस्थापनमा प्रभावकारिता हासिल गर्न आधुनिक प्रविधिको उपयोग गरिने प्रमुख शाक्यले बताए । कुहिने फोहर पुनः प्रयोग गर्न कम्पोस्ट प्लान्ट र बायो ग्यास प्लान्ट स्थापना गरिनेछ । प्रदूषण नियन्त्रणका लागि काठमाडौँ उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदूषणलाई नियन्त्रण गर्न नाकामा सम्बन्धित तहसँग समन्वय गरेर आधुनिक ‘भेहिकल क्लिनिङ सेन्टर’ निर्माण गर्ने महानगरपालिकाको योजना छ ।

महानगरपालिकाले निश्चित स्थानमा ‘सवारी निषेधित क्षेत्र’ घोषणा गर्ने, थप स्थानमा स्मार्ट पार्किङ लागू गर्ने, ‘भर्टिकल पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ निर्माण गर्ने योजना बनाएको छ । काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ कार्यान्वयन गर्ने प्रमुख शाक्यले जानकारी दिए । गत वर्षबाटै सुरु भएको ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत सडक बत्तीको निर्माण गरिनेछ ।

महानगरले महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान सञ्चालनमा ल्याउन आवश्यक अध्ययन गरिरहेको जनाएको छ । युवाहरुलाई स्वदेशी उद्यममा आकर्षित गर्न स्वदेशी वस्तुको उत्पादन, प्रवर्धन र बजारीकरणमा प्रोत्साहन गरिनेछ । सेवामूलक उद्योगलाई प्रश्रय र प्रोत्साहन गर्ने नीति लिइनेछ ।

महानगरपालिकालाई सफा, सुन्दर, सुरक्षित र जीवन्त सहरका रुपमा अघि बढाइने प्रमुख शाक्यले बताए । महानगरवासीको आवश्यकता र चाहनालाई आत्मसात् गर्दै हरेक वर्ष महानगरले नयाँ अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘आगामी वर्ष सम्पदा संरक्षण तथा संवर्धन र पर्यटक प्रवर्धनका लागि पूर्वाधार विकास वर्षका रुपमा अभियान सञ्चालन हुनेछ ।’ महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट १० गते सार्वजनिक गर्दैछ । (रासस)

प्रकाशित समय २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु