गृहपृष्ठ विजयपुरको अस्थायी डाइभर्सन खोलाले बगाउँदा पोखरामा २०० मालबाहक गाडी लामबद्ध
विजयपुरको अस्थायी डाइभर्सन खोलाले बगाउँदा पोखरामा २०० मालबाहक गाडी लामबद्ध
पोखराको विजयपुर खोलामा अस्थायी रुपमा सञ्चालनमा ल्याइएको डाइभर्सन पुल बाढीले बगाएपछि पोखरामा मालबाहक सवारी साधनको लाइन लागेको छ । बाढीले गए आइतबार राति डाइभर्सन बगाएपछि १० टन भारवहन क्षमताका गाडी मोटरेबल पुलबाट गुड्न नपाएपछि पोखरासम्म लाम लागेका हुन् । गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायी रूपमा करिब ३ महिनाअघि डाइभर्सन सञ्चालनमा ल्याइएको थियो ।
मालबाहक गाडीका मजदुरले पिउने पानीदेखि खाना र दिशापिसाब फेर्नसमेत समस्या भएको गुनासो गरेका छन् । सर्लाहीबाट ह्युम पाइप बोकेर मुस्ताङ जाँदै गरेका अरुणकुमार थारु, पोखरा विमानस्थलका लागि सिमेन्ट ल्याएका सहदेव थापालगायतले सोमबार खाना खान र दिशा पिसाब गर्न पनि कठिन भएको बताए । सिहंले बिहानको खानाको रुपमा स्थानीय एक पसलमा चाउमिन खाएको गुनासो गरे । समयमै स्थायी पुल बन्न नसक्दा पटक–पटक डाइभर्सन पुलमा पानीको बहाव बढ्न साथ रोकिनुपर्ने भएकाले आफूहरुले धेरै समस्या खेप्नुपरिरहेको चालक रामनिवास सिंहले बताए । डाइर्भसन बाढीले बगाउँदा पोखरा हुँदै स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लामा जाने करिब २०० मालबाहक ट्रकको लाइन गगनगौडमा लागेको छ ।
पृथ्वी राजमार्गमा पर्ने विजयपुरको पुलको विकल्पमा बेलिब्रिज समयमै निर्माण हुन नसक्दा समय–समयमा समस्या हुने गरेको छ । मालबााहक सामान बोकेका गाडी पोखरा भित्रिने एकमात्र विजयपुरको डाइभर्सन बगाएपछि पोखरा विमानस्थलको निर्माण कार्य नै प्रभावित हुने चिनियाँ सीएएमसी कम्पनीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाईले बताए । राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थलको निर्माण कार्यले तीव्रता पाएका बेला विभिन्न संचरनाको फाउन्डेसन निर्माण तथा स्टिल संरचना निर्माणको क्रममा चीनबाट आउँदै गरेका करिब ४० वटा गाडी बाटोमै रोकिएको उनले बताए । विमानस्थल प्रशासन सोमबारबाटै डाइभर्सन निर्माणमा जुटेको छ ।
डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरि पोखरेलले हालै अस्थायी रुपमा निर्माण गरेको विजयपुरको डाइभर्सन खोलाले बगाएकोले पुनः डाइभर्सन बनाउन ३–४ दिन लाग्ने बताए । ‘मंगलबार बिहानैदेखि डाइभर्सनको काम सुरु गर्छौं, मौसमले साथ दिए ४ दिनभित्रमा अस्थायी पुल (डाइभर्सन) बनाउन सक्छौं,’ उनले भने ।
डाइभर्सन खोलाले बगाएर केही ह्युम पाइप करिब एक सय मिटरभन्दा तलसम्म पु-याएको प्रहरीले जनाएको छ । जोखिमलाई मध्यनजर गरी विजयपुर खोलाको डाइभर्सन हुँदै जाने १० टनभन्दा धेरै भारवहनका सवारी साधनलाई गगनगौडामै रोकेको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिए ।
बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका उद्धव राईले बताए । जाली बुन्दै बीचमा आरसिसि ढलान गर्नुपर्ने भएकाले निर्माणको काममा केही ढिलाइ भएको उनले जानकारी गराए । वैशाख २४ गते एक महिनामा उक्त पुल निर्माण सक्ने गरी सम्झौता भए पनि प्राविधिक रुपमा एक महिनामा नसकिने दाबी गर्दैै उनले साउन पहिलो सातासम्म लाग्ने तर्क गरेका छन् । करिब दुई करोड ३० लाखको लागतमा उक्त पुल निर्माण हुन लागेको होे । सब–इन्जिनियर किरण सुवेदीले बेलिब्रिजको काम ढिलो भएकाले डाइभर्सन बनाउनुपरेको बताए ।
प्रकाशित समय ०६:५८ बजे


















