गृहपृष्ठ एक वर्षमा ५४५ खानेपानी आयोजना सम्पन्न, ५ लाख ३३ हजार लाभान्वित

एक वर्षमा ५४५ खानेपानी आयोजना सम्पन्न, ५ लाख ३३ हजार लाभान्वित

bina-magar-newskarobar

खानेपानी मन्त्रालयले असार मसान्तसम्म देशभर साना–ठूला गरी ५४५ वटा खानेपानी आयोजना सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालयमातहतका निकायले ५२६ साना तथा आधारभूतस्तरका र १९ वटा ठूला गरी ५४५ आयोजना सम्पन्न भएको जानकारी मन्त्रालयलाई गराएका हुन् । यी आयोजना सञ्चालनमा आउँदा ५ लाख ३३ हजार नागरिक खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २४२ भूकम्पबाट प्रभावित आयोजना, २५० ग्रामीण खानेपानी आयोजना र ३४ वटा वर्षातको पानी संकलनमा आधारित आयोजना सम्पन्न भएको जानकारी दिए । त्यस्तै, खानेपानी विभागअन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजना सम्पन्न गरेको छ भने सहलगानी खानेपानी आयोजनाअन्तर्गत ९ वटा आयोजना सम्पन्न भएका छन् ।

तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको वीरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजना सम्पन्न भएका छन् । त्यस्तै सहलगानीअन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँ गाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढा, नवलपरासीको जलुके र दाङको नारायणपुर गरी नौ वटा खानेपानी आयोजना सम्पन्न भइसकेका छन् । तेस्रो साना सहरी र सहलगानीअन्तर्गत सम्पन्न आयोजना ठूला आयोजनाभित्र पर्छन् ।

मन्त्रालयका प्रवक्ता शाक्यले एक घर एक शौचालयको अवधारणाबमोजिम साढे ९९ प्रतिशत जनसंख्या आधारभूतस्तरको सरसफाइ सुविधाबाट लाभान्वित भएको र असोज मसान्तसम्ममा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए । खानेपानी विभागले खानेपानीको गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन २८ आयोजनामध्ये चालू आर्थिक वर्षभित्र १२ वटा आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ ।

मन्त्रालयको अर्को निकाय आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) अन्तर्गत काठमाडौं उपत्यकाको रिङरोडभित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइप लाइन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ भने उपत्यकामा १० वटा पानीपोखरी निर्माण गर्ने भनिएकोमा ९ वटाको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

मेलम्चीको बोलपत्र मूल्यांकन हुँदै
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले काठमाडौं उपत्यकाभित्र १७ किमी खानेपानी पाइप लाइन विस्तार गर्ने भनिएकोमा २० किमी सम्पन्न गरेको प्रगति विवरणमा उल्लेख छ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्यअन्तर्गत सुरुङ मार्ग र हेड वक्र्स निर्माण कार्यको बोलपत्र खोली मूल्यांकन भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्ची आयोजना दोस्रो चरणका लागि याङ्ग्री र लार्केसम्म पहुँच सडक निर्माण कार्य सुरु भएको छ भने दोस्रो चरणको आयोजनाका लागि मुआब्जा वितरणको प्रक्रिया सुरु भएको समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी आयोजनाको २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । खानेपानी मन्त्रालयले यो अवधिमा खानेपानी तथा सरसफाइको क्षेत्रमा पहिलो पटक मूल विधेयक तयार गरेर प्रतिनिधि सभामा पेस गरिएको छ । खानेपानीमन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक संसदमा पेस गरेकी हुन् ।

प्रकाशित समय १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु