गृहपृष्ठ वीरगन्जबाट २९ लाख रकमसहित ६ जना हुन्डी कारोबारी पक्राउ
वीरगन्जबाट २९ लाख रकमसहित ६ जना हुन्डी कारोबारी पक्राउ
प्रहरीले पाँच दिनको अविधमा वीरगन्जबाट २९ लाख २३ हजार ५६० रूपैयाँ नगद र विभिन्न सामानसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीले शुक्रबार वीरगन्ज महानगरपालिका १६ शंकराचार्य गेटबाट भारत विहारका ४६ वर्षीय गोपालप्रसाद अग्रवाललाई ९ लाख र वीरगन्ज महानगरपालिका १४ का २५ वर्षीय मन्टुकुमार साह कानुलाई ४ लाख ५० हजारसहित नियन्त्रणमा लिएको छ ।
बिहीबार सोही ठाउँबाट प्रहरीले दुई वटा मोटरसाइकलमा आएका तीन जनालाई १० लाख नगद र ५ थान मोबाइलसहित नियन्त्रणमा लिएको थियो । भारत रामगढवा थाना ग्राम रामगढवाका ६० वर्षीय सकिर मियालाई ५ लाख, बारा खटुवा प्रसौनी गाउँपालिका २ अहिर्वाटोलका ३२ वर्षीय वीरेन्द्र साह र बाराकै बारागढी गाउँपालिका २ दौरुवाटोलका २६ वर्षीय शनी जैसवाललाई अढाइ/अढाइ लाख नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार पनि वीरगन्ज १६ रजत जयन्त्रीबाट भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा १६ घर भई वीरगन्ज १६ नगवा बस्ने ४८ वर्षीय कृष्ण मोहन कलवारलाई प्रहरीले ५ लाख ८३ हजार ५६० रुपैयाँसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित समय १२:४४ बजे

















