गृहपृष्ठ लकडाउनयता दुई अर्ब ७० करोडको औषधि आयात

लकडाउनयता दुई अर्ब ७० करोडको औषधि आयात

लकडाउन सुरु भएपछिको ४० औैँ दिनमा  करिब पौने तीन अर्ब रुपैयाँबराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म २ अर्ब ६९ करोड ५४ लाख ४८ हजारबराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको हो ।

मन्त्रालयको तथ्यांकअनुसार यो अवधिमा एक लाख २३ हजार ६२७ टन खाद्यान्न, ३५ हजार १३१ टन दलहन, ५२ हजार ४७९ टन तरकारी, १६ हजार ८६२ टन फलफूल र  ११ हजार ५९ टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ । पहिलो हप्ताको तुलनामा पाँचौँ हप्तामा खाद्यान्नमा एक सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ  । यही अवधिमा औषधिको कच्चा पदार्थको आयात ११८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ ।

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात ठप्प भएको छ ।

भित्रिए ७ सय ट्रक

बन्दाबन्दीमा वीरगन्ज एकीकृत जाँचचौकीबाट २५६ ट्रक भित्रिएको, २४७ ट्रक बाहिरिएको र ७१७ ट्रक रोकिएका छन् । त्यस्तै वीरगन्ज सुख्खा बन्दरगाहबाट १८० ट्रक भित्रिएको, ११२  ट्रक बाहिरिएको र दुई हजार ९४६ ट्रक रोकिएका छन् ।

भैरहवा नाकाबाट ७९ ट्रक भित्रिएको, १३६ ट्रक बाहिरिएको र २४९ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १४६ ट्रक भित्रिएको, १०५ ट्रक बाहिरिएको र १५४ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा चार ट्रक र काँकरभिट्टा नाकामा २३ गरी २७ ट्रक रोकिएका छन् । (रासस)

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु