गृहपृष्ठ महासंघको ५४औं वार्षिक साधारणसभा र निर्वाचनको मिति तय गर्न समिति गठन

महासंघको ५४औं वार्षिक साधारणसभा र निर्वाचनको मिति तय गर्न समिति गठन

नेपाल उद्योग वाणिज्य महासंघले ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति र मोडालिटी तयार गर्न समिति गठन गरेको छ । बुधबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा र कार्यकारिणी समितिको निर्वाचनको मिति र सञ्चालन मोडालिटीसम्बन्धी १५ दिनभित्र सुझाव पेस गर्ने गरी ६ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट डिबी बस्नेत र अरुणराज सुमार्गी, वस्तुगत संघको तर्फबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ तथा एसोसिएटबाट भरत आचार्य र रञ्जित आचार्य रहेको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘कोभिड १९ को महामारीले गर्दा साधारणसभा र निर्वाचन सम्पन्न गर्न महासंघले विशेष व्यवस्था गर्नुपर्ने भएको हुँदा प्रचलित कानुन, महासंघको विधान र सरकारले बनाएको कोभिड १९ सम्बन्धी नीति नियमहरुको पालना हुने गरी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचन र साधारणसभा सम्पन्न गर्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट तर्फबाट दुई/दुईजना कार्यसमिति सदस्य रहेको समिति बनाउने निर्णय भएको छ,’ उनले भने ।

समितिले १५ दिनभित्र साधारणसभा तथा निर्वाचनको मिति र सञ्चालन मोडालिटी तयार गरी पदाधिकारी समितिमा पेस गर्ने र पदाधिकारी समितिले उक्त मोडालिटीलाई कार्यकारिणी समितिमा पेस गर्ने र त्यही मोडालिटीअनुसार सरकारसँग अनुमतिका लागि पत्राचार गर्ने निर्णय कार्यकारिणी समितिले गरेको छ । स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुने भन्दै उपाध्यक्ष ढकालले कोभिडको महामारी लामो समयसम्म रहिरहने संकेत देखिएकाले अर्थतन्त्रलाई पनि चलायमान गराउनुपर्ने बताए ।

‘मैले यसअघि पनि साधारणसभाका लागि कुरा उठाएको थिएँ । विधान कार्यान्वयन, संस्थाको जीवन्तता र संकटमा महासंघको सशक्त आवाजका लागि समयमै साधारणसभा गर्नुपर्छ भनेर यो विषय उठाउँदै आएको हुँ । तर त्यसलाई बङ्ग्याएर मलाई पदमा पुग्न हतारो भएको आरोप लगाइयो । खासमा मैले अर्थतन्त्रलाई चलायमान गरिएन भने यसको दीर्घकालीन असर कोभिडको असरभन्दा ठूलो हुन्छ भनेको हुँ,’ उनले भने ।

२०७६ चैत मसान्तभित्र सम्पन्न हुनुपर्ने महासंघको ५४औं वार्षिक साधारणसभा र कार्यकारिणी समितिको निर्वाचन कोभिड १९ को महामारीका कारण अहिलेसम्म हुन सकेको छैन । सामान्यतः महासंघको साधारणसभा हरेक वर्षको चैत २८ र २९ गते हुने गर्छ । कोभिडका कारण स्थगित साधारणसभा दोस्रोपटक २०७७ जेठ ७ र ८ गतेलाई तोकिएको थियो । त्यस समयमा पनि लकडाउन निरन्तर रहेपछि महासंघले साउन २६ र २७ गतेलाई तेस्रोपटक साधारणसभाको मिति तोकेको थियो । तर, कोभिड १९ का संक्रमितको संख्या बढ्दै गएपछि साउन ८ गते बसेको पदाधिकारीको बैंठकले पुनः साधारणसभा र निर्वाचन स्थगित गरेको छ ।

पदाधिकारी समितिले निर्वाचन र साधारणसभा सार्ने सम्बन्धमा गरेको निर्णयलाई लिएर महासंघभित्र विवाद उत्पन्न भएको थियो । विवादपछि उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित २२ जना कार्यकारिणी समिति सदस्यले बैठक बोलाउन आह्वान गरेका थिए । आगामी ५४औं वार्षिक साधारणसभामा वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु