गृहपृष्ठ एक्ला रोशनको त्यो कार्य, जसले इलामेलाई फुटसल चिनायो

एक्ला रोशनको त्यो कार्य, जसले इलामेलाई फुटसल चिनायो

‘होइन ! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए… ए फुटसल त घरभित्र पो खेलिन्छ !’ डेढ वर्षअघि इलाममा फुटसल सुरु हुँदा बहुसंख्यक इलामेले राख्ने प्रतिनिधि जिज्ञासा हुन् यी ।

खेलमा अन्य पूर्वीपहाडी जिल्लाको तुलनामा इलाम अगाडि नै भए पनि फुटसल भने नौलै लाग्थ्यो धेरैलाई तर अहिले ती प्रश्नको जवाफ अधिकांशले पाइसकेका छन् । त्यति मात्र होइन, धेरैले फुटसल हेरेका छन् भने केहीले खेलेका पनि छन् । छोटो समयमै इलामेलाई फुटसल चिनाउने श्रेय भने कुनै संघसंस्था नभई एक व्यक्तिलाई जान्छ । फुटसलसँग साक्षात्कार गराउने व्यक्ति हुन् इलामे युवक रोशन राई । रोशनले नै इलाम नगरपालिका ९ मा फुटसल मैदान निर्माण गरेपछि धेरैले फुटसल नजिकबाट देखेका हुन् ।

यसरी बन्यो फुटसल खोल्ने योजना

समाजशास्त्रमा स्नातकोत्तर सकेका रोशनले चाहेको भए आफैँले पढेको ठाउँ (काठमाडौं) मा जागिर खाँदा हुन्थ्यो भने परिवारको चाहनाअनुसार लाहुरे हुँदा पनि हुन्थ्यो । इलामको फाकफोकथुम गाउँपालिकामा जन्मिएका उनको पारिवारिक आर्थिक स्थिति मध्यम नै भएकाले जीवन चलाउन धेरै दुःख गर्नुपर्ने थिएन । यद्यपि सानैबाट ‘नयाँ काम गर्नुपर्छ’ भन्ने सोच भएका रोशनलाई जागिरभन्दा व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

सोच भएर के गर्ने ? पढेर स्नातकोत्तर सक्दा पनि ठोस योजना बनेको थिएन । यही कौतुहलता बोकेर परिवारको सल्लाह लिन जन्मथलो फर्किए रोशन । पुर्ख्यौली पृष्ठभूमि नै लाहुरे भएका रोशनलाई त्यही पेसा अपनाउन परिवारको दबाब नआउने कुरै भएन तर जति नै दबाबले पनि उनको सोच परिवर्तन भएन । काठमाडौँमा कहिलेकाहीँ खेलेको र जिल्लामा नभएका कारण एक्कासि रोशनको दिमागमा फुटसल खेल स्थापना गर्ने सोच आयो ।

जब रोशन ‘बौलाहा’ बनिए

फुटसल सुरु गर्ने योजना बनाए पनि इलामका अधिकांशले फुटसल नबुझेकाले तत्काल काम सुरु गर्ने कुरा भएन । त्यसमा पनि धेरै लगानी गर्नुपर्ने भएपछि ‘नयाँ काम’ भनेर सोचेजस्तो सजिलो भएन । जब रोशन साथीभाइसँग सल्लाहका लागि पुगे तब उनको कुरा सुनेर साथीभाइ नै ‘तीनछक’ भए ।

‘सानो लगानीमा फुटसल हुने थिएन । त्यसैले साथीभाइलाई सल्लाह माग्दा बौलाहा भइस् कि क्या हो भने,’ रोशनले विगत सुनाए, ‘धेरैतिर जग्गा खोज्न पनि गएँ तर कसैले दिएनन् ।’ फुटसलका लागि जग्गा नपाएपछि रोशनको सोच बुझेर जिल्लाका ‘खेलप्रेमी’ले जग्गा खोजिदिने आश्वासन दिए र खोजिदिए पनि । त्यसपछि उनले पुर्ख्यौली सम्पत्ति साथीभाइको ऋण मागेर गत वर्ष मंसिरबाट फुटसल सुरु गरे ।

यही फुटसल अहिले बच्चाका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने युवा र पाकाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ ।

त्यही ८० लाख रुपैयाँ लगानीले अहिले अधिकांश इलामेलीलाई फुटसल चिनाएको छ । यही फुटसल अहिले बच्चाका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने युवा र पाकाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ । कम खेलाडी (दुई टिममा १० जना) र थोरै ठाउँमा खेल्न सकिने भएकाले बच्चाका लागि फुटबलको समेत ‘नशा’ मेट्ने ठाउँ बनेको छ भने युवा र पाका व्यक्तिका लागि शरीर ‘फिट’ बनाउने र मनोरञ्जन दिने ठाउँ बनेको छ फुटसल ।

एक्लो प्रयत्नबाट सफल बनेका रोशनको लगानी अहिले उठेको छैन तर अपेक्षाकृत कमाइ भने दुई/चार महिनापछि नै दखिन थालेको छ । ‘लकडाउनभन्दा पहिलेका चार महिनामा चाहिँ राम्रै कमाइयो,’ रोशनले भने । लकडाउनभन्दा पहिलेका महिनामा फुटसल र सँगै रहेका कम्प्युटर गेमबाट मासिक तीन लाख रुपैयाँसम्म कमाइ भएको उनले बताए । सुरुवाती लगानी धेरै भएपछि आफ्नो खटाइ धेरै नहुने र खर्च धेरै नआउनाले कमाइ राम्रै रहेको रोशन बताउँछन् । इलाम स्पोर्ट सेन्टर नाम रहेको यस फुटसलमा अहिले कम्प्युटर गेम, चेसलगायतका गेम पनि छन् ।

‘सबै किसिमका खेल भएको क्षेत्र बनाउने विचारमा छु,’ उनी भन्छन्, ‘टेबलटेनिसजस्ता खेल पनि ल्याउने सोचमा छु । जग्गा अभाव भएकाले सकेको छैन ।’ अहिले रोशनले लिजमा जग्गामा लिएर थालेको यो व्यवसायका लागि मासिक ४० हजार रुपैयाँ खर्च आउँछ ।

यसबाहेक अन्य आम्दानी नाफामै गनिने भएकाले उनलाई फुटसल चलाउन सहज हुँदै गएको छ । ‘चमेना गृहसहित अन्य खेल र फुटसलबाट एकमुष्ट मासिक पाँच लाख कमाउने मेरो योजना हो तर अहिलेसम्म चाहिँ भएको छैन,’ उनले भने, ‘फुटसलकै कारण धेरैले चिनेकाले सन्तुष्ट पनि छु ।’

फुटसलप्रतिको मोह बढ्दै गएकाले कमाइ पनि धेरै बढ्ने रोशनको अपेक्षा छ । ‘एकैदिन चार–पाँच खेल पनि खेल्न सकिने भएकाले राम्रै चल्दै छ,’ उनले भने, ‘शनिबार साह्रै धेरै चल्छ ।’

शैक्षिक ‘हब’ बनाउने सपना

स्पोर्ट्सबाट सन्तुष्ट रहेका रोशनको भविष्यमा कलेज खोल्ने अर्को योजना छ । जिल्लामा प्राविधिक विषय पढाइ हुने कलेजको अभाव भएकाले उनले व्यावहारिक शिक्षा पढाइ हुने कलेज खोल्ने सपना लिएका हुन् । ‘जिल्लामा होटल म्यानेजमेन्ट, बिबिएलगायतका व्यावहारिक ज्ञान दिने कलेज खोल्ने योजनामा छु,’ उनले भने, ‘वैदेशिक रोजगारीमा रहेका साथीहरूसँग सहकार्य गरेर जिल्लामा नयाँ योजना भित्र्याउने योजना छ ।’

सरकारी निकायप्रति दुःखेसो

जिल्लाको पहिचान राख्न स्पोर्ट्स सेन्टरले मद्दत गरे पनि स्थानीय तह र सरकारी कार्यालयबाट सहयोग नपाउँदा उनको मन खिन्न छ । जिल्लालाई चिनाउने काम गरे पनि सरकारी कार्यालयमार्फत सेवासुविधा र छुट नपाएको उनले बताए ।

‘धेरै लगानी गरिएको छ । सरकारी संघसंस्था र स्थानीय सरकारबाट पानी/बत्तीकै पनि छुट दिँदा हुन्छ नि !’ रोशन भन्छन्, ‘युवा सशक्तीकरणका नाममा स्थानीय तहले साह्रै धेरै रकम खर्च गर्छन् । युवाले नै खोलेको उद्यममा चाहिँ चासो नै छैन ।’ आफूले पसिना बगाएको यो क्षेत्रको विकासका लागि सम्बन्धित संस्थालाई अनुदान र छुट दिनका लागि उनले आग्रह गरेका छन् ।

(किरण पौड्याल/रासस)

प्रकाशित समय २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु