गृहपृष्ठ खर्चिलो भएकैले प्रांगारिक बन्दैनन् चिया उद्योग
खर्चिलो भएकैले प्रांगारिक बन्दैनन् चिया उद्योग

अन्तर्राष्ट्रिय बजारमा प्रांगारिक (अर्ग्यानिक) चियाको माग उच्च छ । मागअनुसार नै यहाँका उद्योग र सहकारीले चियालाई प्रांगारिक बनाउँदै छन् । रासायनिक मल अभाव हुनु, किसान–उद्योगी आफैँ सचेत हुनुले चिया प्रांगारिक बनाउने क्रम बढेको छ तर प्रांगारिक प्रमाणपत्र पाउन् भने सास्ती खेप्नुपरेको चिया उद्योगी बताउँछन् । खर्च बढी लाग्नाले पनि उद्योगले प्रांगारिक प्रमाणपत्र लिन चाहँदैनन् ।
प्रमाणपत्र लिन अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाका मानिस ल्याउनुपर्ने तथा उद्योगको सबै तथ्यांक संकलन गर्नुपर्नेलगायतका काम गर्नुपर्ने हुन्छ । उद्योग/सहकारीले सबै काम गर्न आफ्नै खर्च जुटाउनुपर्छ ।
लामो प्रक्रिया र खर्चिलो भएकाले धेरैले प्रमाणपत्र लिने प्रक्रिया नै थालेका छैनन् । ‘चियाको माग, मल अभाव, किसान आफैँमा आएको परिवर्तनले चिया विस्तारै प्रांगारिक त बन्दै छ,’ केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई भन्छन्, ‘तर झन्झटिलो प्रक्रिया छ ।’ राईका अनुसार चियाको प्रांगारिक प्रमाणीकरण गर्ने अनुसन्धानकर्ता नेपालमा दुईदेखि तीन जनामात्र छन् ।
अन्य अनुसन्धानकर्ता विदेशबाटै ल्याउनुपर्ने भएकाले खर्चिलो हुने गर्छ । ‘फेरि आफू वा आफ्नो वरिपरिका चिया उद्योगको अनुसन्धानकर्ताले पनि सर्वेक्षण गर्न पाइँदैन । अरूतिरबाट ल्याउँदा बढी खर्चिलो नै हुन्छ,’ राईले भने । चियाको प्रमाणीकरणमा जान चाहे पनि कतिपय उद्योगीले खर्चकै कारण सकेका छैनन् ।
उन्नति परियोजनामार्फत सहयोग पाउँदा केही उद्योगले प्रमाणीकरण गरेका थिए तर अन्य संघसंस्थाले सहयोग नगर्दा महँगो खर्च उद्योग आफैँले बोक्नुपर्छ । प्रांगारिकीकरण गरेरमात्र भएन वार्षिक प्रमाणपत्रको नवीकरण गर्नुपर्छ । नवीकरणका लागि रकम खर्चिनुपर्ने हुँदा उद्योगीले चाहेर पनि प्रमाणपत्र लिन सकेका छैनन् ।
प्रांगारिक प्रमाणपत्र लिन उद्योगमा संलग्न किसान र किसानले ल्याउने चिया कति क्षेत्रफलमा छ भन्ने विषय मुख्य हुन्छ । किसान र चियाखेती गरिएको जमिन बढी भए प्रमाणीकरणका लागि बढी खर्च लाग्ने गरेको जिल्ला चिया उत्पादन सहकारी संघका अध्यक्ष प्रेमराज गुरुङ बताउँछन् ।
प्रमाणपत्रका लागि खर्च मात्र नभई लामो समय लाग्ने गरेको गुरुङको बुझाइ छ । ‘यो सबै खर्च जोड्दा त चियाको अन्य काममा पनि लाइन्छ भन्ने लाग्छ र प्रांगारिकीकरण गरिँदैन,’ गुरुङले भने, ‘प्रमाणपत्र लिनका लागि खर्च कम लाग्ने भए जिल्लाका धेरै उद्योग प्रांगारिक भइसक्ने थिए ।’
कति छन् प्रांगारिक प्रमाणपत्र भएका उद्योग/सहकारी
जिल्लामा एक सयभन्दा बढी चिया उद्योग छन् तर हालसम्म १४ उद्योगमात्र प्रमाणीकरण भएका छन् । तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी सहकारी संस्था, ग्रिनहिल चिया सहकारी संस्था, हिमालय सांग्रिला, ग्रिनहिल चिया उद्योगले प्रमाणपत्र लिएका छन् । त्यस्तै कञ्चनजंगा चिया उद्योग, सन्दफु चिया उद्योग, जस्विरे चिया उद्योग, दाजुभाइ उद्योग, मिस्टम्याली उद्योग, गोर्खा टि स्टेट, इलामेली चिया, ग्रिन टि उद्योग र ओसिस चिया उद्योगले पनि प्रांगारिक प्रमाणपत्र लिएका छन् ।
अरू उद्योग प्रक्रियामा गए पनि अन्तिम प्रमाणपत्र भने लिएका छैनन् । जिल्लाको सबैभन्दा बढी चिया उद्योग भएको सूर्योदय नगरपालिकाले उद्योगलाई प्रांगारिकीकरण गर्न ताकेता गरे पनि आर्थिक सहयोग भने गरेको छैन । (किरण पौड्याल/रासस)
प्रकाशित समय १४:०२ बजे