गृहपृष्ठ पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

akhtiyar-newskarobar

बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरी परेपछि सोमबार कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले जानकारी दिए । ‘कोरोना नियन्त्रणका नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्र नियन्त्रणमा लिएका हौँ,’ उनले भने ।

नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा एक करोड ७३ लाख रुपैयाँ खर्च भएको सार्वजनिक गरेको थियो । कोरोना नियन्त्रणमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति नै गठन गरिएको थियो । समितिले असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शीर्षकमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको ठहर गरेको थियो ।

सोही प्रतिवेदन र उजुरीका आधारमा छानबिन गर्नका लागि अख्तियारको टोलीले प्रतिवेदनसहित कोरोना जोखिम नियन्त्रणमा राहत सामग्री खरिद र वितरणका साथै सवारी साधन खर्चको विवरणसहितको फाइल नियन्त्रणमा लिएको हो । ‘छानबिन समितिले निकालेको प्रतिवेदनमा उल्लेख गरिएका बुँदाहरुका आधारमा सबै कागजात लगिएको छ,’ सूचना अधिकारी जोशीले भने, ‘अनुसन्धान स्थलगत पनि हुन्छ ।’

छानबिन समितिले कर्मचारीदेखि जनप्रतिनिधिले सवारी साधन प्रयोगका नाममा बढी अनियमितता गरेको ठहर गरेको थियो । समितिले प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनमा औँल्याइएका अनियमित खर्च असुलउपर गर्न नगरपालिकालाई आग्रह गरेको थियो । जवाफमा नगर प्रमुख केशबहादुर चन्दले छानबिन गरी अनियमितता गरेको भए असुलउपर गरिने बताएका थिए ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु