गृहपृष्ठ सेयर लगानीकर्ता खोज्दै ब्रोकर कार्यालय चहार्न थाले अधिकांश बैंक
सेयर लगानीकर्ता खोज्दै ब्रोकर कार्यालय चहार्न थाले अधिकांश बैंक
कोभिड १९ महामारीका कारण चैतयता सम्पूर्ण क्षेत्र ठप्प भएसँगै निक्षेप थुप्रिएर दबाबमा परेका बैंकहरू सेयर लगानीकर्ता खोज्दै ब्रोकर कार्यालय चहार्न थालेका छन् । सेयर धितो कर्जामा लगानी बढाउन ब्याजदर ८ प्रतिशतभन्दा तल झार्दा पनि ठूला लगानीकर्ता नआएपछि बैंकहरू उनीहरूलाई खोज्दै ब्रोकर कार्यालय धाउन थालेका हुन् ।
भदौ अन्तिम साता एनआईसी एसिया बैंकले ‘सर्वाधिक न्यूनतम ब्याजदर’ भन्दै ७.७५ प्रतिशत ब्याजदरमा ‘लोन अगेन्स्ट सेयर’ योजना सार्वजनिक गर्यो । न्यूनतम् १ करोडदेखि अधिकतम १५ करोडसम्म कर्जा लिन सकिने र ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जासमेत लिन सकिने गरी बैंकले ठूला लगानीकर्ता आकर्षित गर्ने योजना बनायो । तर, लगानीकर्ता खासै आकर्षित नभएपछि हिजोआज एनआईसी बैंक टिम नै बनाएर ब्रोकर कार्यालय धाउन थालेको छ ।
एनआईसी एसिया बैंकको आक्रामक योजनालाई नजिकबाट नियालिरहेको नबिल बैंकले पनि दुई दिनअघि उस्तै ब्याजदरमा सेयर कर्जा दिने योजना सार्वजनिक गर्यो । नबिल बैंकले पनि ठूला लगानीकर्तालाई लक्षित गरी ७.७५ प्रतिशत ब्याजमा ५० लाख रुपैयाँ अथवा त्योभन्दा बढी ऋण लिन पाउने गरी योजना प्रचार गर्यो । केही दिनअघि देखि नै ब्रोकर कार्यालय धाउन थालेका बैंकका कर्मचारीले अहिले त्यसलाई थप प्राथमिकतामा राखेका छन् ।
राष्ट्र बैंकको परिमार्जित नीतिअनुसार नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयर बैंकमा धितो राखेर १२० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ । कोभिड १९ का कारण लगानीका अन्य क्षेत्र ठप्प भएपछि दबाबमा परेका बैंकहरू सेयर बजार विस्तार हुनसक्ने अवस्था विश्लेषण गरी लगानीकर्ता आकर्षित गर्न स्किमसहित अघि बढेका हुन् ।
नबिल र एनआइसीसहित सेन्चुरी, सिभिल, सिद्धार्थ, बैंक अफ काठमाडौँ, प्रभु बैंक, सनराइज, एनसीसीलगायतका वाणिज्य बैंक बढीजसो ब्रोकर कार्यालय धाउने गरेका छन् । त्यस्तै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला विकास बैंक, कामना सेवा विकास बैंक, मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्सलगायतका वित्तीय संस्था पनि सेयर लगानीकर्ता पठाइदिन आग्रह गर्दै ब्रोकर कार्यालय पुग्ने गरेका छन् । सरकारी स्वामित्व बैंकहरू भने ब्रोकर कार्यालयमा भेटिएका छैनन् ।
कर्जा प्रवाह सामान्य
अहिले बैंकहरुबाट कर्जा प्रवाहको स्थिति सामान्य मात्र बढेको छ । बजार, पसल खुले पनि छिटो कर्जा माग हुने साना तथा मझौला व्यवसाय क्षेत्रमा कर्जा जान सकेको छैन । दसैंको सामानका लागि एलसी खल्ने क्रम पनि केही मात्र बढेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला बताउँछन् । ‘लकडाउन त खुल्यो तर आर्थिक गतिविधि सुस्त छ, साना तथा मझौला व्यापार व्यवसाय हुनसकेको छैन,’ उनी भन्छन्, ‘राजधानीमा कोभिड १९ संक्रमण भित्रभित्रै फैलिरहेको त छैन भन्ने आशंका धेरैमा रहेकाले व्यवसाय विस्तारका लागि कसैले रिस्क लिन चाहिरहेको छैन ।’ माछापुच्छ्रे बैंकले भने सेयर र रियल इस्टेट कर्जालाई प्राथमिकतामा राखेको छैन ।
सीईओ कोइरालाले भनेजस्तै अधिकांश व्यवसायी दिनभर पसल रुंगेरमात्र बस्नुपरेको बताउँछन् । मध्य बानेश्वरमा रहेको आरएल सप्लायर (लिकर) की प्रोप्राइटर लक्ष्मी खड्काले दुई–चार रूपैयाँ बिक्री भइहाल्छ कि भनेर पनि पसल त खोल्नैपर्ने निराशाजनक अभिव्यक्ति दिइन् । ‘दिनभरमा १०-१५ हजारको व्यापार पनि हुँदैन,’ उनले भनिन्, ‘धेरै गाह्रो भइसक्यो छ ।’ पाँच करोड रुपैयाँभन्दा बढी लगानी गरेकी उनले विगत वर्षका दसैँको समयमा तीन–चार करोडको सामान बेच्थिन् । बिक्री भएको सामानको पैसा बजारबाट नउठ्दा पनि समस्या भएको उनले बताइन् । ‘अलिअलि उठेको पनि पहिलाको ऋणको ब्याज तिर्दै ठिक्क हुन्छ,’ खड्काले भनिन् ।
सेयर बजारमा भने सकारात्मक संकेत
अहिले सेयर बजारमा भने सकारात्मक संकेत देखिएको छ । तरलता उच्च बढेसँगै कर्जामा आधाभन्दा बढी ब्याज घटेपछि सेयर बजारलाई चलमलाएको हो । दैनिक औसत २ अर्ब रुपैयाँमाथिको कारोबार हुनुले पनि सेयर बजार चलायमान हुन थालेको संकेत गर्ने अनलाइन सेक्युरिटिजका प्रबन्ध निर्देशक अनन्त पौड्याल बताउँछन् । ‘सकारात्मक संकेत देखिएको छ, ब्रोकर कार्यालयमा लगानीकर्ताको आवागमन बढ्न थालेको छ, डिम्याट खाता खोल्ने, ट्रेडिङ खाता खोल्नेहरू पनि निकै बढेका छन्,’ उनले भने, ‘लामो समयदेखि सुस्त रहँदा हराएका सेयर लगानीकर्ता पनि सम्पर्कमा आउन थालेका छन् ।’
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बजारमा लगानीकर्ताको उपस्थिति र कारोबार रकममा आएको बढोत्तरीसँगै बैंकहरू पुराना हराएका र नयाँ लगानीकर्ता सम्पर्कमा आउन थालेको बताउँछन् । ‘केही दिनअघिको तुलनामा लगानीकर्ताको संख्या औसत १५-२० प्रतिशतले बढेको छ,’ सेयर कर्जालाई प्राथमिकतामा राखेर बैंकहरूले ल्याएको सस्तो ब्याजदरको स्किमलाई लक्षित गर्दै उनले भने, ‘यसले पनि बैंकलाई मार्जिन लोनमा फोकस हुन प्रेरित गरेको हुनसक्छ ।’
सेयर बजार बढ्न नसकिरहे पनि बजारको अवस्था बुझ्न र लगानीकर्ता पठाइदिन आग्रह गर्दै बैंकहरू ब्रोकर कार्यालय पुग्छन् । बैंकहरू पूर्वाधार, जनशक्ति, दैनिक कारोबारलगायतलाई मापदण्ड बनाउँदै बढी कारोबार गर्ने ब्रोकर कार्यालयलाई नियमित सम्पर्क गरिरहेका छन् । अनलाइन, नासा, इम्पेरियल, कोहिनुर इन्भेस्टमेन्ट, भिजन सेक्युरिटिजलगायतका बढी कारोबार गर्ने कम्पनीमा दैनिक १०-१२ वटा भन्दा धेरै बैंकका कर्मचारी पुग्ने गरेका छन् ।
ठूला लगानीकर्ता मात्र प्राथमिकतामा
बैंकहरूले कुनै पनि क्षेत्रका साना लगानीकर्तालाई कम प्राथमिकता दिने गरेको गुनासो नयाँ होइन । सेयर लगानीकर्ताका विषयमा पनि उनीहरुले त्यस्तै नीति बनाएका छन् । साना लगानीकर्तालाई उनीहरूले कुनै चासो दिएका छैनन् । नबिल र एनआईसी एसिया बैंकले भनेजस्तो ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिन लगानीकर्तासँग कम्तीमा ७० लाख रुपैयाँभन्दा बढीको सेयर हुनुपर्छ ।
कर्जा बढाउन अधिकांश बैंकले ८ प्रतिशतभन्दा कम ब्याजमा लोन लिन ठूला लगानीकर्तालाई अनुरोध नै गर्ने गरेका छन् । ठूला लगानीकर्तालाई कतिपय बैंकले बेस रेटभन्दा केही मात्रै मार्जिन राखेर कर्जा लैजान अफर गर्ने गरेको पनि पाइएको छ ।
प्रकाशित समय ०८:४४ बजे

















