गृहपृष्ठ बोथरा पाँच दिन थुनामा, अग्रवाललाई १ करोड धरौटीमा छाडियो

बोथरा पाँच दिन थुनामा, अग्रवाललाई १ करोड धरौटीमा छाडियो

Nakkali_NewsKarobar

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्निकर चकलेट, ओरियो बिस्कुट, हर्लिक्स, बोर्नभिटा, क्याडबरी चकलेटलगायतका उत्पादनको नक्कली लेबलिङ लगाउने कार्यमा संलग्न आयन इन्टरनेसनलका व्यवस्थापक रोनक बोथरालाई म्याद थप गरी पाँच दिन थुनामा राखिएको र मुख्य सञ्चालक पुष्पादेवी अग्रवाललाई १ करोड रूपैयाँबराबरको एक वर्षको बैंक जमानत लिएर धरौटीमा छाडिएको जनाएको छ ।

गत बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा, सो विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त अनुगमन टोलीले कलंकी मार्गस्थित बाबुकृष्ण सापोकटाका घरमा छापा मार्दा ठूलो मात्रामा स्निकर चकलेट, प्रिंगल्स आलु चिप्स, ओरियो बिस्कुट, टाङ्ग, युनिलिभरका विभिन्न उत्पादनहरू हर्लिक्स, बोर्नभिटा, क्याटबरीलगायतका वस्तुहरूको नक्कली लेबलिङ गर्ने गरेको फेला पारेको थियो ।

गोदाम राखिएको सो तीन तले घरका ११ स्थानमा सिलबन्दी गरिएको र बाफलमा रहेको आयान डिस्ट्रिब्युटर्सको अर्को गोदाममा समेत म्याद नाघेका वस्तुहरूको ठूलो परिणाम फेला पारिएपछि त्यो गोदाम पनि सिलबन्दी गरिएको विभागले जनाएको छ । यसै क्रममा यस्ता म्याद नाघेका सामान ढुवानी गरिरहेको अमेजन डिस्ट्रिब्युटर्सको भाडाको सवारीसाधन नियन्त्रण लिइएको र त्यो कम्पनीका बाफलस्थित गोदाममा समेत सिलबन्दी गरिएको थियो ।

अमेजन डिस्ट्रिब्युटर्स विशाल ग्रुपको भगनी संस्था हो, जसले विदेशबाट आयातीत स्निकर, ओरियोलगायतका चकलेटहरू सुपरमार्केटहरूदेखि खुद्रा स्तरमा बिक्री गर्छ । मिलेमतोका भरमा रातारात विशाल ग्रुपसँग सम्बन्धित पुष्पादेवी अग्रवालसहित ६ जनालाई साधारण तारखिमा छाडिएको समाचार र सम्पादकीय सामग्रीहरू प्रकासित भएपछि वाणिज्य विभागले असोज २० गते मंगलबार थप सोधपुछका लागि विभागमा उपस्थित हुने म्यादसहित तारेखका छाडिएको जनाएको छ । स्मरणीय छ, मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने यस कुकृत्यमा संलग्न सबैलाई कडा कारबाहीको मागसहित प्रकासित सम्पादकीय सामग्रीमा प्रतिक्रिया जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठनाथ अर्यालले यस्ता गतिविधि गर्ने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने प्रतिक्रिया जनाएका थिए ।

‘यस खालको अपराधिक कार्य गर्ने अन्य फर्म एवं व्यक्तिको खोजी जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कानुनी कारबाही गरिनेछ भने सोको जानकारी सार्वजनिक गरिनेछ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नु होस्ः

उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड नियन्त्रण गर

 

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु